• १० पुस २०८१, बुधबार

खाद्यान्न मौज्दात न्यून हुँदा बिक्री गर्न समस्या

blog

राजन रावत

हुम्ला, बैशाख ९ गते । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयको गोदाममा खाद्यान्न मौज्दात एकदम न्यून हुँदा बिक्री गर्न समस्य भएको छ । हवाई तथा पैदल मार्गबाट चालुु आर्थिक वर्षका लागि निर्धारित कोटाको खाद्यान्न ढुवानीको जिम्मा लिएका नीजि एयरलाईन्स र पैदल मार्गबाट ढुवानीको जिम्मा पाएको सप्लायर्सले समयमै खाद्यान्न ढुवानी नगर्दा मौज्दात न्यून भएको हो । 

हुम्ला शाखाका निमित्त कार्यालय प्रमुख नबिन आचार्यले हाल गोदाममा खाद्यान्न मौज्दात न्यून रहेका कारण बिक्री गर्न समस्या भएको बताउनुुभयो । नेपालगञ्जबाट हवाई मार्गबाट ढुवानी भएर आउनुुपर्ने चार हजार क्विन्टल खाद्यान्नमध्ये हालसम्म तीन हजार ५७९ दशमलव ८० क्विन्टल मात्र ढुवानी भएको छ । 

सुर्खेतबाट छ हजार क्विन्टलमा पाँच हजार १४३ दशमलव चालीस क्विन्टल ढुवानी भएको छ । आर्थिक वर्ष सम्पन्न हुन तीन महिना बाँकी रहँदा नेपालगञ्जबाट ४२० दशमलव बीस क्वीन्टल र सुुर्खेतबाट ८५६ दशमलव साठी क्वीन्टल खाद्यान्न ढुवानी हुन बाँकी छ । उहाँले नीजि एयरलाईन्सले समयमै खाद्यान्न ढुवानीको काम नगर्दा जिल्लामा समस्या भएको बताउनुुभयो । 

त्यसैगरी शाखाकै लागि पैदल मार्गबाट राजापुरबाट एक हजार क्विन्टलमा हालसम्म ५०१ क्विन्टल सुर्खेतबाट एक हजार क्विन्टलमा ५०७ दशमलव ६० क्विन्टल, नेपालगञ्जबाट एक हजार क्विन्टलमा ३६० दशमलव साठी क्विन्टल र धनगढीबाट एक हजार क्विन्टलमध्ये ३५२ क्विन्टल खाद्यान्न मात्र ढुवानी भएको छ । 

पैदल मार्गबाट चार हजार क्विन्टल खाद्यन्नमध्ये चैत महिनासम्म एक हजार ६२१ दशमलव दुुई क्विन्टल मात्र ढुवानी भएको छ । अझै पैदलमार्गबाट दुुई हजार २७८ दशमलव ८० क्विन्टल ढुवानी हुन बाँकी रहेको छ । ढुवानी गर्न बाँकी रहेको खाद्यान्न ढुवानीका लागि शाखाले पत्र काटेर ताकेता समेत गर्दा पनि ढुवानी हुन नसकेको बताइएको छ ।