• ६ वैशाख २०८३, आइतबार

छात्रवृत्ति उपलब्ध गराउन महानगरको निर्देशन

blog

काठमाडौँ, वैशाख १० गते । काठमाडौँ महानगरपालिकाले गरिब, जेहेनदार र उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन आफ्नो क्षेत्रभित्रका निजी तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको छ । महानगरपालिकाका मेयर बालेन्द्र साहले सार्वजनिक अपिल गर्दै नियमअनुसार छात्रवृत्ति दिन नमान्ने विद्यालयलाई कारबाही गर्ने चेतावनीसमेत दिनुभएको छ । साथै यस विषयमा आनाकानी गर्ने विद्यालयबारे महानगरपालिकाको कल सेन्टर ११८० मार्फत आफूहरूलाई जानकारी गराउन पनि उहाँले अनुरोध गर्नुभएको छ । 

काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावलीमा संस्थागत विद्यालयले प्रत्येक कक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीलाई क्रमशः शतप्रतिशत र ५० प्रतिशत शुल्क मिनाहा गर्नुपर्ने व्यवस्था छ । 

साथै त्यस्ता विद्यालयले कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशतमा नघटाई जेहेनदार, विपन्न, असहाय तथा गरिब, अपाङ्गता भएका, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र शहीद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था पनि उक्त नियमावलीमा छ । 

कामपा प्रमुख साहले यसरी उपलब्ध गराइएको छात्रवृत्तिसम्बन्धी विवरण विद्यालयको वेबसाइट तथा सूचना पाटीमा टाँस गरेर अभिभावक र विद्यार्थीलाई सूचित गराउन पनि निर्देशन दिनुभएको छ । 

नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान चलिरहेको बेला उहाँले यस्तो निर्देशन दिनुभएको हो तर अधिकांश विद्यालयले नियमावलीमा भएको यो व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयन गरेका छैनन् । कतिपय विद्यालयले चिनजान तथा आफू निकटका विद्यार्थीलाई भर्ना एवं मासिक शुल्कमा निश्चित प्रतिशत रकम उपलब्ध गराउने र सोही रकमलाई छात्रवृत्तिमा रूपान्तरण गर्ने गरेका छन् । यसो गर्दा वास्तविक विद्यार्थीले छात्रवृत्तिको अवसरबाट वञ्चित हुने गरेका छन् ।