काठमाडौं र ललितपुरमा शनिबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
आइतबार हुने तनहुँ–१ को उपनिर्वाचन क्षेत्रमा यातायात सेवा बन्द गर्ने निर्णय भएको छ।
कोरोना भाइरसको संक्रमणबाट करिब एक वर्षपछि नेपालगञ्जस्थित भेरी अस्पतालमा एक जनाको मृत्यु भएको छ । भेरी अस्पतालका निमित्त प्रमुख डा. राजन पाण्डेले दिनुभएको जानकारीअनुसार बाँके राप्तिसोनारी गाउँपालिका –२ का ८६ वर्षीय ज्येष्ठनागरिकको उपचारका क्रममा शनिवार मृत्यु भएको हो ।
दार्चुलामा तुइनबाट खसेर एक जनाको मृत्यु भएको छ । व्याँस गाउपालिका –२ का ४५ वर्षीय सिन्दलसिंह भण्डारीको तुइनबाट खसेर आज मृत्यु भएको हो । घरबाट भारतीय बजार धारचुला समान किन्न जानेक्रममा तल्लो दुम्लीङस्थित महाकाली नदीमा तुइनबाट खसेर उहाँको मृत्यु भएको वडा अध्यक्ष धिरेनसिंह बुढाथोकीले जानकारी दिनुभयो ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाको अध्यक्षमा अग्रज पत्रकार इन्द्रजित मुखिया निर्विरोध चयन हुनुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट शक्तिलाई एक हुन नदिन ठूलो चलखेल भएको बताउनुभएको छ । विभिन्न स्वार्थ देखाएर कम्युनिष्ट शक्तिलाई तितरवितर बनाई राजनीतिक स्वार्थ लिन राष्ट्रिय अन्तर्राष्ट्रिय विभिन्न शक्ति लागेको उहाँको भनाइ छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
नेपालका अशोक खड्काले शनिबार जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जित्नुभएको छ ।
सञ्जय पौडेलले ‘एनसेल बाह्रखरी गल्फ’ छैटौँ संस्करणको उपाधि जित्नुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट रिसोर्टमा शनिबार भएको प्रतियोगिताको उपाधिसँगै सञ्जयले सुनको बल पुरस्कार पाउनुभयो ।
नेशनल बुद्धिचाल प्रतियोगिताको खुल्लातर्फको उपाधि फिडे मास्टर रुपेश जैसवाल र वोमेन फिडे मास्तर सुजना लोहनीले जित्नुभएको छ ।
“रगत नालीमा होइन, नाडीमा बगाऔं’ बाबा हरदेव सिंह महाराजको भनाइलाई स्मरण गर्दै आज देशव्यापी रुपमा एकता दिवस मनाइएको छ । सन्त निरंकारी सत्संग भवन ललितपुरमा विशेष कार्यक्रमको आयोजना गरी आज एकता दिवस मनाइएको हो ।
चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्ममा वाणिज्य बैंकहरूको नाफा रू ४८ अर्ब ३७ करोड बराबर पुगेको छ ।
मध्य म्यान्मामा आएको आँधीमा परी छ जनाको मृत्यु भएको छ भने एक सय जनाभन्दा बढी घाइते भएका छन् । म्यान्मा फायर सर्भिस विभागले शुक्रबार साँझ आएको आँधीमा परी एक सय नौ जना घाइते भएका बताएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख ११ गते दक्षिणी राज्य केरलामा हुने सार्वजनिक कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र आएपछि राज्यभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
पूर्वीपाकिस्तानको पञ्जाब प्रान्तमा आज बिहान भएको सडक दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । दुर्घटनामा चार जना महिला र तीन जना बालबालिकाले ज्यान गुमाएका प्रहरीले जनाएको छ ।
साविक विजेता मच्छिन्द्र क्लब र नवप्रवेशी एफसी खुमलटारले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा जित निकालेका छन् । च्यासल मैदानमा शनिबार भएको खेलमा मच्छिन्द्रले फ्रेन्ड्सलाई २-१ गोलले हरायो ।