पूर्व–पश्चिम राजमार्गको किनारामा लाग्ने कृषि हाटबजार सुरिक्षत र व्यवस्थित गर्न गोलबजार नगरपालिकाका किसानले माग गरेका छन्। गोलबजार नगरपालिकाका केही वडामा उत्पादन हुने तरकारी बिक्री गर्न बिहानदेखि बेलुुकासम्म सडक किनारमै लाग्ने गरेको हाटबजार अव्यवस्थित र असुरक्षित रहेको भन्दै किसानले विगत वर्षदेखि आवाज उठाइरहे पनि अहिलेसम्म व्यवस्थित हुन सकेको छैन। स्थानीय धर्मनाथ महतोका अनुसार एकाबिहानै पाँच सय किसान आफ्नो तरकारी बिक्री गर्न आइपुग्छन्। यहाँबाट तरकार अन्य जिल्लामा पठाइन्छ।
झापा जिल्ला कुष्ठरोगको उच्च जोखिममा रहेको पाइएको छ। जिल्लामा गत वर्ष १२१ जना कुष्ठरोगी पहिचान भएर उपचारमा रहेकोमा यो आर्थिक वर्षको छ महिनामा नै यही सङ्ख्यामा थप नयाँ कुष्ठरोगीहरूको पहिचान भएको हो। ७०औँ कुष्ठरोग दिवसको अवसरमा दमकस्थित आम्दा अस्पतालमा भएको प्रदेशस्तरीय समन्वय बैठक एवं अभिमुखीकरण कार्यक्रममा जानकारी दिइएअनुसार पूर्वी नेपालमा कुष्ठरोगको उच्च जोखिम छ।
कोसी अस्पताल विराटनगरमा पत्रु (कवाडी) दाबी विवाद चर्कंदै गएको छ। अस्पताल प्रशासन र ठेकेदारबीच ‘पत्रु’मा देखिएको लोभले तनाव नै उत्पन्न गरिदिएको हो। अस्पताल परिसरका पुरानो मेटार्निटी तथा सर्जिकल, रेडियोलोजी भवन, बच्चा विभागको भवन, विद्युत् पावर हाउस, डा. महेन्द्र महतो र रम्भा सुब्बा बसेको क्वाटर भवन र धोबी भवन भत्काएर नयाँ भवन निर्माणका लागि स्थान खाली गराउने काम भइरहेको छ।
गण्डकी चेम्बर अफ कमर्सले प्रदेशमा आइडिया बैङ्क स्थापना गर्ने निर्णय गरेको छ । गण्डकी चेम्बर अफ कमर्सको आठौँ कार्यसमिति बैठकले ‘सोचबाट उद्यमशीलता’ भन्ने प्रमुख लक्ष्यसहित गण्डकीमा आइडिया बैङ्क स्थापना गर्ने निर्णय गरेको चेम्बर गण्डकीका अध्यक्ष किसान सुनारले जानकारी दिनुभयो ।
कैलालीको घोडाघोडी नगरपालिकामा पहिलो पटक हाट तथा थोक बजार सञ्चालनमा आएपछि किसान उत्साहित भएका छन् । शिवशक्ति सामुदायिक वनको समन्वय र घोडाघोडी उद्योग वाणिज्य सङ्घको पहलमा हाटबजार सञ्चालनमा ल्याइएको हो । हप्तामा दुई पटक लाग्ने गरी शनिबारदेखि हाटबजार सञ्चालनमा आएको हो ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले सङ्घीय शिक्षा ऐन जारी गर्नु आफ्नो कार्यकालको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ। शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)को वार्षिक साधारण सभालाई आइतबार सम्बोधन गर्दै मन्त्री खनालले विद्यालय शिक्षासम्बन्धी ऐन नहुँदा थुप्रै काम अघि बढाउन नसकिएको बताउनुभयो। उहाँले भन्नुभयो, “हुन त प्राथमिकताका क्षेत्र अन्य पनि थुप्रै छन् तर सङ्घीय शिक्षा ऐन र विश्वविद्यालयसम्बन्धी छाता ऐन मेरो पहिलो प्राथमिकतामा छ।”
गोलभेँडाको भाउ निकै सस्तो भएपछि सर्लाहीका किसान मारमा परेका छन् । बजारमा भारतीय गोलभेँडा ओइरिएपछि यहाँका स्थानीय किसानले फलाएको गोलभेँडाले बजार र उचित मूल्य पाउन छाडेको छ । किसानले गोलभेँडा प्रतिक्रेट १५० देखि दुई सय रुपियाँमा बिक्री गरिरहेका छन् ।
इजरायलमा काम गर्ने सहायक श्रमिक (केयरगिभर)को छनोट प्रक्रियालाई पुनरवलोकन गरिने भएको छ । यसअघिको प्रक्रिया असाध्यै ढिलो भएकाले यसलाई छिटोछरितो बनाउन पुनरवलोकन गर्ने विषयमा नेपाल सरकार र इजरायल सरकारबीच छलफल भएको हो ।
सङ्घीय संसद्का नयाँ पदाधिकारीलाई सरकारी निवास व्यवस्थापन गर्न सचिवालयलाई सकस परेको छ। भइरहेका कतिपयमा पदाधिकारीको अनिच्छा र केही स्थान दिन सरकारले आनाकानी गरेपछि निवास व्यवस्थापन हुन नसकेको हो। माघ ५ गतै नै निर्वाचित भए पनि सभामुख देवराज घिमिरे सरकारी निवासमा सर्नुभएको छैन। सचिवालयले सभामुख, उपसभामुखको निवास व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयलाई भने ताकेता गरिरहेको छ। संसद् सचिवालयले पदाधिकारी निर्वाचनअगावै निवास व्यवस्थापनका लागि आग्रह गरिसकेको हो। त्यसका लागि पुनः ताकेता गरेको छ तर मन्त्रालयले व्यवस्थापन गरिसकेको छैन। “हामीले सहरी विकासलाई आग्रह गरिसकेका छौँ तर व्यवस्थापन भएको छैन। सभामुख पनि गृह जिल्ला जानुभएकाले पुरानैमा व्यवस्थापन गर्नेबारे पनि थप कुरा भइसकेको छैन,” संसद् सचिवालय स्रोतले भन्यो।
नेपाल सरकारका वेबसाइट फ्रान्स, जर्मनी, इटली, इजरायललगायतका देशबाट साइबर आक्रमण भएको पुष्टि भएको छ। डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस (डिडक्स) आक्रमणका कारण नेपाल सरकारका सम्पूर्ण वेबसाइट शनिबार एक्कासि करिब पाँच घण्टा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपूर्ण, समतामूलक एवं सुसंस्कृत समाज र समृद्ध राष्ट्र बनाउने शहीदको सपनालाई मूर्त रूप दिन आआफ्नो तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकालाई इमानदारीसाथ पूरा गर्न आग्रह गर्नुभएको छ । शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सो आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका गतिविधिबारे छलफल भएको छ।
संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज काठमाडौँ आइपुग्नुभएको छ।
ललितपुर महानगरपालिकाका विभिन्न वडाका महिला सदस्यहरूले सर्वसाधारणको अपेक्षा र आफ्नो जिम्मेवारी पूरा गर्न वडामा बजेट र काम गर्ने वातावरण पनि तयार पार्नुपर्नेमा जोड दिएका छन् ।
गायक प्रमोद खरेलले आफूले पाउने पारिश्रमिक धनकुटा महोत्सवमा घाइतेका लागि खर्च गर्ने जानकारी दिनुभएको छ।