रेखीराम राना
पाल्पा, साउन १५ गते । बगनासकाली गाउँपालिकाले ६ नं. वडाका वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारीलाई दुई लाख १० हजार जरिवाना गरिएको छ । नदीजन्य पदार्थ चोरी निकासीमा संलग्न रहेको भन्दै बगनासकाली गाउँपालिकाले वडाध्यक्ष अधिकारीलाई दुई लाख १० हजार जरिवाना गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाको ६ नं. वडा यम्घा दर्पुकको मचेटाघाटबाट अवैध रूपमा नदीजन्य पदार्थ चोरी निकासी गरेको पुष्टि भएपछि अध्यक्ष अधिकारीलाई जरिवाना गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । वडाध्यक्ष अधिकारीले स्वीकृति बिना अवैध रूपमा बन्द रहेको घाटबाट ढुङ्गा, गिट्टी, बालुवा चोरी निकासी गरी ४२ टेक्टर क्षेत्रफलको नदीजन्य पदार्थ चोरी गरेको गाउँपालिकाको ठहर छ ।
गाउँपालिकाले प्रतिटेक्टर पाँच हजारका दरले हुन आउने रकम दुई लाख दश हजार रुपियाँ जरिवाना गर्ने निर्णय भएको हो । गाउँपालिकाले आर्थिक ऐन २०७९ को दफा नं. २५ अनुसार जरिवाना गर्ने निर्णय गरेको जनाएको छ ।
गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारको बजेटमार्फत सहरी विकास तथा भवन कार्यालय मातहतबाट ठेक्का भएको दर्पुक बस्ती क्षेत्रको नाली तथा सडक स्तरोन्नतिको योजनामा पारिलेक कन्स्ट्रक्सनलाई ७५ हजार जरिवाना गर्ने निर्णय गरेको छ ।
रोक लगाएको क्षेत्रबाट अवैध रूपमा नदीजन्य पदार्थको चोरी निकासीमा वडाध्यक्ष र निर्माण व्यवसायी दोषी ठहरिनु गम्भीर कुरा रहेको गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बताउनुभयो । उहाँले वातावरणीय प्रभाव मूल्याङ्कनसमेत नभएको स्थानबाट नियमन गर्नुपर्ने व्यक्तिले नै अवैध रूपमा गिट्टी, बालुवा र ढुङ्गा निकासी गर्नु दुःखद भएको बताउनुभयो ।