संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमाले भेट गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संविधान कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा रहेको बताउनुभएको छ । संविधान दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले वर्तमान सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको बताउनुभएको छ ।
आर्थिक वर्ष २०७९/८० को सुरुदेखि लगातार बढेको श्रम स्वीकृति लिनेको सङ्ख्या चालु आव २०८०/८१ को पहिलो दुई महिनामा २५ प्रतिशतले घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आवको पहिलो दुई महिना (साउन–भदौ) मा रोजगारी खोज्दै विदेश जाने नेपाली श्रमिकको सङ्ख्या एक लाख ४० हजार रहेकामा चालु आवको सो अवधिमा यो सङ्ख्या एक लाख पाँच हजारमा झरेको छ । जुन सङ्ख्या प्रतिशतका आधारमा हेर्दा गत वर्षको तुलनामा यो वर्ष करिब २५ प्रतिशत कम हुन आउँछ ।
सङ्घीय संसद् प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालको विद्यमान संविधानले नागरिकका मौलिक हक र लोकतान्त्रिक राज्यव्यवस्थाको प्रत्याभूति गरेकाले परिवर्तनका लागि अब अर्को कुनै क्रान्तिको आवश्यकता नरहेको बताउनुभएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुसार बन्न बाँकी कानुनको यथाशीघ्र तर्जुमा गरी कानुनी रिक्तता पूरा गर्दै संविधानको कार्यान्वयनलाई पूर्णता दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको सौन्दर्य प्रतियोगिता ‘डिएसए स्टार २०२३ सिजन–११’ मा विधागत रूपमा विभिन्न विजेता चुनिएका छन् । नेपाल वायु सेवा निगमका प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारीको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा ‘मिनी डिएसए डान्सिङ स्टार’ को उपाधि अर्पण पोखरेलले जित्दा तिम्बना अधिकारी फस्र्ट रनरअप र अरियाना कुमाल सेकेन्ड रनरअप बन्नुभयो ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको उल्लेख गर्नुभएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री सुदन किरातीले संस्कृति, कला र परम्परा जीवन बाँच्ने विशेष माध्यम भएको बताउनुभएको छ । उहाँले संविधान दिवस २०८० को अवसरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा यस्तो बताउनुभएको हो ।
चलचित्र ‘कौसिद’ को ट्रेलर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । अभिनेतृ ऋचा शर्मा र भोलाराज सापकोटा अभिनीत चलचित्र असोज २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । कुमार भाष्कर निर्देशित चलचित्रलाई केदार भुसालले निर्माण गर्नुभएको हो । चलचित्रमा ऋचा र भोलासँगै, रूपेश दाहाल, परीक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराईलगायतको अभिनय रहेको छ । ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइको कथालाई चलचित्रको ट्रेलरमा देखाइएको छ ।
संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।
नेपाली सेनाको योगदान समेटिएको नयाँ गीत राष्ट्रिय एकताको प्रतीक ‘वीर नेपाली सेना’ सार्वजनिक गरिएको छ । जङ्गी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभा मण्डपमा मङ्गलबार आयोजित कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले छायाचित्रसहितको गीत विमोचन गर्नुभयो । नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठको शब्द रहेको गीतमा सुवास तिमिल्सिना र गीता पाण्डेको आवाज रहेको छ । गीतमा नेपाली सेनाले विगतमा गरेका क्रियाकलाप र योगदानबारे चर्चा गरिएको छ ।
अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९६ औँ संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले विक्रम सापकोटाद्वारा निर्देशित चलचित्र ‘हल्कारा’ सिफारिस गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त चलचित्रमध्येबाट ‘हल्कारा’ लाई सिफारिस गरेको हो ।