काठमाडौँ, असोज ३ गते । नेपाली सेनाको योगदान समेटिएको नयाँ गीत राष्ट्रिय एकताको प्रतीक ‘वीर नेपाली सेना’ सार्वजनिक गरिएको छ । जङ्गी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभा मण्डपमा मङ्गलबार आयोजित कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले छायाचित्रसहितको गीत विमोचन गर्नुभयो । नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठको शब्द रहेको गीतमा सुवास तिमिल्सिना र गीता पाण्डेको आवाज रहेको छ । गीतमा नेपाली सेनाले विगतमा गरेका क्रियाकलाप र योगदानबारे चर्चा गरिएको छ ।
गीतकार श्रेष्ठले कार्यक्रममा नेपाली सेनाले स्थापना कालदेखि अनवरत रूपमा कुनै पनि स्वार्थ नराखी देश र जनताको सेवा गर्दै आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली सेनाले स्थापना कालदेखि नै देशको सेवामा पु-याएको योगदानको चर्चा गर्न मन लागेकाले गीत लेखेको हुँ ।” अहिले सूचना र सञ्चारको युग भएकाले नेपाली सेनाको योगदानलाई शब्दमार्फत गीतमा ल्याउन खोजेको उहाँले बताउनुभयो ।
त्यस्तै गीतकार एवं प्राध्यापक हेम भण्डारीले गीतमा नेपाली सेनाको परिचय, योगदान र विशेषता समेटिएको टिप्पणी गर्नुभएको थियो । गीतको भिडियोमा नेपाली सेनाले गरेको योगदानलाई प्रस्तुत गरिएको छ । राजेन्द्र बजागाईंले सङ्गीत दिनुभएको गीतमा सङ्गीत संयोजन दिनेश सुनामले गर्नुभएको छ । सेनानी विशेष पौडेलले निर्देशन गर्नुभएको गीतको छायाचित्रलाई प्रकाश हुमागाईं र किशोर डङ्गोलले सम्पादन गर्नुभएको छ ।