गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २५ गते । कवि दिनेशविक्रम थापाको नयाँ कविताकृति ‘जयसिंह धामीको देश’ एक कार्यक्रमबिच लोकार्पण भएको छ । कार्यव्रmममा प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति तथा कवि डा. विष्णुविभु घिमिरेलगायतका अतिथिले कविताकृति लोकार्पण गर्नुभएको हो । प्रमुख अतिथि डा. घिमिरेले कविता लेख्न सजिलो नहुने बताउँदै कविता आफैँमा गम्भीर विषय भएको बताउनुभयो । उहाँले थापाको कविता मार्मिक र चित्र जस्तै स्पष्ट भएको धारणा व्यक्त गर्नुभयो ।
कवि विधान आचार्यले थापाले २५ पात्रमा लेखिएको कृतिभित्रको २५ कवितामा दुई सयभन्दा बढी पात्रको चरित्र चित्रित भएको बताउनुभयो । त्यस्तै साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले कविताले नेपाली जनता विशेष गरी सुदूरपश्चिमको नेपालीको अवस्थालाई सङ्केत गरेको बताउनुभयो ।
कवि थापाले कृति प्रकाशित हुनुको रचनागर्भ सुनाउँदै आफू कवितामै लागेकाले अर्को कविताकृतिको तयारी गरिरहेको उल्लेख गर्नुभयो । उहाँले कविताको कुनै सीमा बन्धन नहुने समाजको विकृतिविरुद्धको र अव्यवस्थाविरुद्धको एउटा सशक्त विद्रोह भएको बताउनुभयो । समाज अनि त्यहाँ देखेका सकारात्मक वा नकारात्मक चित्रलाई विम्ब बनाएर कविता लेख्ने आफ्नो प्रयत्न रहेको उहाँको भनाइ थियो ।
भूगोल साहित्य समाजले प्रकाशनमा ल्याएको थापाको जयसिंह धामीको देश कविता सङ्ग्रहभित्र उनी जस्तै साधारण पात्रका असाधारण भोगाइ प्रस्तुत गरिएको छ । प्रस्तुत सङ्ग्रहभित्र विभिन्न व्यक्तिका नामबाट शीर्षकीकरण भएका २५ वटा कविता समावेश गरिएको छ ।