काठमाडौँ, असोज ३ गते । अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९६ औँ संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले विक्रम सापकोटाद्वारा निर्देशित चलचित्र ‘हल्कारा’ सिफारिस गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त चलचित्रमध्येबाट ‘हल्कारा’ लाई सिफारिस गरेको हो ।
नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ओस्कारको प्रतिस्पर्धामा सामेल हुन इच्छुक चलचित्रकर्मीलाई २०८० असोज २९ गतेभित्र चलचित्र बुझाउन आग्रह गरेको थियो । सोही सूचना अनुसार नेपालबाट चलचित्रहरू डाकिनी, हल्कारा, नीरफूल, बुलाकी र बगानले सहभागिताका लागि आवेदन दिएका थिए । समितिले प्राप्त चलचित्रमध्ये प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी ‘हल्कारा’ लाई सिफारिस गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।