आगामी भदौ ८ गतेदेखि प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘जय हो’ को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार प्रसारको सुरुवात गरिएको छ । निर्माण टिमले बिहीबार चलचित्रका दुई पोस्टर सार्वजनिक गर्दै प्रचार प्रसारको सुरु भएको जानकारी दिनुभएको छ । सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकार सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङलाई स्थान दिइएको छ । चलचित्रका सार्वजनिक दुई पोस्टरमध्ये पहिलो पोस्टरमा केही व्यक्तिहरू घोडामा आइरहेका छन्, भने उनीहरूलाई रोक्न मुख्य पात्रले तीर चलाइरहेको देख्न सकिन्छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो चार्टर उडान हुने भएको छ । चीनको छेन्दुस्थित टिएन्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँमा नियमित उडान गर्दै आएको सिचुवान एयरलाइन्सले आगामी असार ६ गते पोखरामा चार्टर उडान गर्न अनुमति मागेको छ । सो विमानस्थल गत पुस १७ गतेदेखि सञ्चालनमा आएको हो ।
राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजना सुरु भएको १२ वर्षपछि आयोजनाको मूल नहरबाटै पानी सञ्चालन भएको छ । जेठ ३१ गते साँझ मूल नहरबाट पठाएको पानी शाखा, प्रशाखा नहर हुँदै जेठ ३२ गते दिउँसो किसानको खेत खेतमा पुगेको छ । आर्थिक वर्ष २०६७/६८ देखि निर्माण सुरु भएको आयोजनाले यसअघि मूल नहरको परीक्षण गरेको थियो । यस पटक मूल नहरबाट पानी ल्याई तीन वटै कुला प्रणालीमा ४५ क्युमेक्स पानी पठाइएको आयोजनाका निर्देशक केदारकुमार श्रेष्ठले जानकारी दिनुभयो । यी प्रणालीबाट १४ हजार तीन सय हेक्टर जमिनमा सिँचाइ हुन्छ । श्रेष्ठका अनुसार लम्कीतिरको नहरमा पनि एक साताभित्रै पानी सञ्चालन गरिने छ, जहाँबाट छ हजार हेक्टर जमिनमा सिँचाइ हुने छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अतुल खरेले बिहीबार शिष्टाचार भेट गर्नुभएको छ। उहाँ संयुक्त राष्ट्रसङ्घीय डिपार्टमेन्ट अफ अपरेसनल सपोर्टका उपमहासचिव हुनुहुन्छ। प्रधानमन्त्री दाहालसँगको भेटमा नेपाल–संयुक्त राष्ट्रसङ्घबिचको साझेदारी थप प्रगाढ बनाउन तथा आपसी हितसम्बन्धी विविध विषयमा छलफल भएको जनाइएको छ।
नेपाल र संयु्क्त अधिराज्य (बेलायत) बिच भएको नेपाल–बेलायत मैत्री सन्धि, १९२३ एक सय वर्ष पूरा भएको अवसरमा लन्डनस्थित नेपाली राजदूतावासमा कार्यक्रम आयोजना गरिएको छ । नेपाली राजदूतावास र लन्डन स्कुल अफ इकोनोमिक्सको संयुक्त आयोजनामा भएको कार्यक्रममा लिड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सूर्यप्रसाद सुवेदीले सन् १९२३ मा नेपाल र बेलायतबिच भएको सन्धिपछि नेपालले बेलायतबाट औपचारिक रूपमा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको मान्यता पाएको प्रस्ट पार्नुभयो । यस आधारमा यस सन्धिको बेग्लै महत्व रहेको उहाँले चर्चा गर्नुभयो ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अस्ट्रेलिया र बङ्गलादेशका राजदूतले भेटवार्ता गर्नुभएको छ । बिहीबार भएका बेग्ला बेग्लै भेटवार्तामा द्विपक्षीय सम्बन्धबारे छलफल भएको छ । नेपालका लागि बङ्गलादेशका राजदूत सालाउद्दिन नोमन चौधरीसँगको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बङ्गलादेशबिचको सधैँको सौहार्दपूर्ण सम्बन्धलाई विद्युत् प्रसारण लाइनसम्बन्धी सम्झौताले सहकार्य र विकासमा अर्को कोसेढुङ्गा थप्ने बताउनुभयो ।
भूतपूर्व गोरखाहरूको माग सम्बोधनका विषयमा लन्डनस्थित नेपाली राजदूतावास,संयुक्त अधिराज्य (बेलायत)का रक्षा मन्त्रालयका पदाधिकारी तथा भूतपूर्व गोरखाका प्रतिनिधिहरू सम्मिलित प्राविधिक स्तरको बैठक बेलायतको रक्षा मन्त्रालयमा बिहीबार सम्पन्न भएको छ ।
सरकारले निजी हवाई सेवा प्रदायक कम्पनी सिम्रिक एयरलाई काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१४, राउतगाउँको माथिल्लो भाग इटापु डाँडामा हेलिपोर्ट निर्माण गर्न सैद्धान्तिक सहमति दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको जेठ २६ गतेको मन्त्रीस्तरीय निर्णयद्वारा सहमति दिइएको हो।
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश हरिकृष्ण कार्कीसँग शुक्रबार सवाल–जवाफ गर्दै छ। प्रस्तावित प्रधान न्यायधीश कार्कीले समितिको बिहीबारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। सुनुवाइ समितिमा परेका उजुरी र प्रस्तावित प्रधान न्यायाधीश कार्कीले बिहीबार प्रस्तुत गर्नुभएको कार्ययोजना सम्बन्धमा शुक्रबार सवाल–जवाफ हुनेछ। समितिको बैठक शुक्रबार बिहान ८ बजे बोलाइएको छ। करिब साढे छ महिना कामु प्रधान न्यायाधीशका रूपमा जिम्मेवारी सम्हाल्नुभएका कार्की प्रधान न्यायाधीशमा अनुमोदन हुनुभएमा उहाँको कार्यावधि ५० दिनको हुनेछ। कामु प्रधान न्यायाधीश दीपकुमार कार्की ६५ वर्षे उमेर हदका कारण गत असोज १५ गतेबाट अनिवार्य अवकाशमा जानुभएपछि न्यायपालिकाको जिम्मेवारी न्यायाधीश हरिकृष्ण कार्कीमा सरेको थियो।
आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहनुभएका मुख्यमन्त्री कार्कीले मन्त्रालयको सभाहलमा अध्यादेशबाट ल्याउनुभएको बजेट सार्वजनिक गर्नुभयो।
आईसीसी विश्वकप एकदिवसीय छनोटको आफ्नो अन्तिम अभ्यास खेलमा नेपाल विजयी भएको छ ।
केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभिरमा भिर मौरीको मह सिकार गरेर फर्कदै मह सिकारी ।
ललितपुर महानगरले चक्रपथ बाहिरका वडाहरुमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको छ ।
नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा ३९ सदस्य चयन हुनुभएको छ।
काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका रिङ रोडमा रहेका टिकट काउण्टरको बोर्ड हटाउने भएको छ ।