बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले ‘इमर्जिङ एसिया’ बैङ्किङ अवार्ड २०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क उत्कृष्ट हुँदै अवार्ड जितेको हो । इन्डियन च्याम्बर अफ कमर्सले आह्वान गरेको खुला प्रतिस्पर्धामा भारत, बङ्गलादेश, भुटान, म्यान्मार, श्रीलङ्का र नेपाल गरी छ देशका बैङ्क तथा वित्तीय संस्थाले अवार्डका आवेदन दिएको बताइएको छ ।
केही वर्षअघिसम्म परम्परागत रूपमा बाख्रापालन गरिरहेका किसानले व्यावसायिक रूपमा बाख्रापालन सुरु गरेका छन् । तीन वर्षअघिसम्म घरमा १०/१५ वटा मात्र बाख्रा पालिरहेका किसानले व्यावसायिक रूपमा बाख्रापालन सुरु गरेपछि एउटै घरमा ७० वटासम्म बाख्रा पुगेको छ । लुम्बिनी प्रदेश सरकारको स्मार्ट कृषि गाउँ कार्यक्रमबाट जिल्लाको पूर्वखोला–२, जल्पा मैदानका किसानलाई बाख्रापालन व्यावसायिक बनाउन सहयोग पुगेको हो । पहिले घरमै १०/१२ वटा बाख्रा पाल्ने मैदानका हुमबहादुर हिस्कीको खोरमा अहिले ४१ वटा बाख्रा छन् । स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएपछि आफूले तेब्बर बढी बाख्रा पालेको र यसले बिस्तारै फाइदा दिन थालेको हिस्कीले बताउनुभयो ।
गत असार ३ गतेको बाढीले मोटरेबल पुल बगाएको स्थान पाँचथरको फालेलुङ गाउँपालिका स्थित हेवाखोलाको घुमाउने टारमा डाइभर्सन बनाइएको छ । तत्कालको यातायात गतिरोध हटाउन गाउँपालिकाको अगुवाइमा जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीद्वारा डाइभर्सन बनाइएको हो ।
असार महिना सकिन लाग्दा महोत्तरीमा १५ प्रतिशत मात्र रोपाइँ भएको छ । जिल्लामा धान खेतको क्षेत्रफल ४५ हजार हेक्टर छ । पर्याप्त वर्षा नहुँदा अहिलेसम्म छ हजार ७५० हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । वर्षा अभावमा अधिकांश धान खेत चरिचरन बनेको छ भने रोपाइँ भएका खेतका रोपो पनि सुक्दै गएकाले किसान चिन्तामा छन् । गौशाला नपा–१० का कृषक दिनेश महतोले एक बिघाका लागि लगाएको धानका बेर्ना बुढो हुने अवस्थामा छ । वर्षा नहुँदा अहिलेसम्म खेत भने बाँझै रहेको उहाँले बताउनुभयो ।
आगामी दशैँको फूलपातीको दिनमा ‘पशुपति प्रसाद २: भष्मे डन’ स्वदेश तथा विदेशका चलचित्र घरमा एकसाथ रिलिज गर्ने तयारी भएको छ । सोमबार टुकी आर्ट्सले एक विज्ञप्ति सार्वजनिक गर्दै सिनेमा आगामी फूलपातीका दिन नेपालसहित अन्य देशमा एक साथ सार्वजनिक गरिने पक्का भएको जानकारी दिएको हो ।
असार २९ गते देशभर रिलिज हुने नेपाली चलचित्र ‘बगान’ को टोली काठमाडौँ उपत्यका बाहिरका प्रमुख चलचित्र स्टेसनहरूमा पुग्न थालेका छन् । तीमध्ये तीन टोली चितवन, बुटवल र पोखरा पुगेको छ । अभिनेता तथा निर्देशक सरोज खनालसहित अभिनेतृ करिश्मा मानन्धर, नव अभिनेतृ प्रमिला कार्की र निर्माता तथा गीतकार सुरेश वाग्लेको टोली उपत्यका बाहिर निस्किनुभएको हो । चलचित्र प्रदर्शन हुने नेपालका हरेक कुनाकाप्चा पुग्ने इच्छा भए पनि समय अभावका कारण सम्भव नभएको निर्देशक तथा अभिनेता खनालले बताउनुभयो । निर्देशक खनालले चलचित्रको प्राविधिक काममा बढी समय दिनुपरेका कारण चलचित्रका लागि तीन वटा प्रमुख स्टेसनमा मात्र पुग्न सकिएको बताउनुहुन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको कामकाज व्यवस्थापनसम्बन्धमा सातबुँदे निर्णय कार्यान्वयनका लागि पत्राचार गरेको छ। सोमबार मन्त्रालयले स्वास्थ्यका कर्मचारी समायोजनपछि स्थानीय तहको दोहोरो सहमतिका आधारमा कामकाजमा खटाइएका कर्मचारीमध्ये स्वीकृत दरबन्दीभन्दा बढी स्वास्थ्य कर्मचारीलाई सोही स्थानीय तहमा अनिवार्य काज फिर्ता गरी मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिएको छ।
धादिङको सल्यानटारको मूल सडक वरपर वृक्षरोपण गरिएको छ। ‘जनताको रहर–हरित सहर’ भन्ने अभियान अन्तर्गत वन तथा भूसंरक्षण विभाग काठमाडौँको आर्थिक सहयोग, डिभिजन वन कार्यालय धादिङको प्राविधिक सहयोग र त्रिपुरासुन्दरी गाउँपालिका धादिङको समन्वयमा सल्यानटारमा वृक्षरोपण गरिएको हो। त्रिपुरासुन्दरी गाउँपालिका–१ र २ भित्र पर्ने सल्यानटारको बुट्टारदेखि खोल्सी, बगैँचा हुँदै सिकटारसम्मको मुख्य सडकको दायाँबायाँ क्षेत्रमा वृक्षरोपण गरिएको हो।
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा रहेको बाघ राख्ने खोर भरिएको छ । चितवन निकुञ्जमा रहेको पाँच वटा खोर र पर्सा निकुञ्जको कार्यालय रहेको आधाभारका खोर भरिएको हो । मानव बस्तीमा पसेर आक्रमण गर्ने, मानिस मार्ने, चौपाया मारेर मानव समुदायमा पस्न सक्ने भनी नियन्त्रणमा लिएर राख्न बनाएको खोर भरिएको हो ।
क्षतिपूर्ति र मुआब्जा विवादका कारण रोकिँदै आएको भैँसे–भीमफेदी सडक निर्माणले अब गति लिने भएको छ। यो सडकखण्डमा पर्ने भीमफेदी गाउँपालिकाको वडा नं. ४ र ६ मा सडक दायाँबायाँका घरजग्गा धनीले राहत र क्षतिपूर्ति पाउने भएपछि सडक विस्तारले गति लिएको हो। बागमती प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानीसँग जोड्ने छोटो दुरीको मार्गका रूपमा हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकको भैँसे–भीमफेदी खण्ड निर्माणाधीन छ। घरजग्गा धनीहरूले राहत, मुआब्जा र क्षतिपूर्ति माग गर्दै सडक विस्तारमा रोक लगाउँदै आएकामा बागमती प्रदेश सरकारले राहत र क्षतिपूर्ति दिन सुरु गरेसँगै सडक विस्तारको कामले निरन्तरता पाएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडाले जनाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा अत्याधुनिक जलन वार्ड आउँदो साउनदेखि सुरु हुने बताउनुभएको छ । स्वास्थ्यमन्त्री नियुक्त भएदेखि हालसम्मका उपलब्धि सोमबार सार्वजनिक गर्दै मन्त्री बस्नेतले वीर अस्पतालमा अत्याधुनिक जलन वार्ड निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखिएको बताउनुभयो । आउँदो साउन १ देखि जलन वार्ड सञ्चालन गर्ने गरी तयारी भइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो,
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललिता निवास प्रकरणमा अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
पोखरा उद्योग वाणिज्य सङ्घले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ । सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमलाई सोमबार ध्यानाकर्षणपत्र बुझाउँदै पुरानो विमानस्थलभन्दा झन्डै २१ गुणा महँगो शुल्क कुनै पनि कोणबाट जायज नभएको बताएको हो । सङ्घले आवागमनलाई असर नपर्ने गरी यात्रुलाई पुर्याउन जाँदा बिदाइ र आगन्तुक÷अथिति पाहुनालाई स्वागत गरी सवारीमा चढाउने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।
हेटौँडा–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौँडा–भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको छ । डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो एउटा सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
चालु आर्थिक वर्षको ११ महिनामा आधा अर्ब रुपियाँ बराबरको स्वदेशी खानेपानी निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि जेठ महिनासम्म ५४ करोड ३२ लाख १८ हजार रुपियाँको ८२ लाख १७ हजार ८८३ लिटर पानी निर्यात भएको हो । स्वदेशी पानीको माग बढ्दै गएकाले चालु आवको सुरुदेखि नै पानीको निर्यात बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।