दोलखाको भीमेश्वर नगरपालिका–७ मा पहिरो पूर्वसूचना प्रणाली पहिलो फेज (एलइडब्लुएस) उपकरण जडान गरिएको छ। भीमेश्वर नगरपालिकाको दुई प्रमुख जलाधार क्षेत्र सुष्पाक्षमावती र चर्नावती क्षेत्रमध्ये चर्नावती जलाधार क्षेत्रभित्रको सिङ्गरामगाउँको माथिल्लो भागमा माटोको चिस्यान नाप्ने उपकरणसहितको बर्सातको पानी नाप्ने उपकरण जडान गरिएको वडाध्यक्ष विनोद तामाङले जानकारी दिनुभयो।
पूर्व–पश्चिम राजमार्गमा पर्ने हेटौँडा उपमहानगरपालिका–१९, रहेको चनौटा सामुदायिक वन क्षेत्रमा यात्रुका लागि सार्वजनिक शौचालय र विश्रामस्थल निर्माण गरिएको छ। पूर्व–पश्चिम राजमार्ग भएर यात्रा गर्ने हजारौँ यात्रुका लागि हेटौँडा–१९ को नेवारपानी र सान्नानटार बस्तीको मध्यभागतिर निःशुल्क सार्वजनिक शौचालय र हरियाली पार्कसहितको विश्रामस्थल निर्माण गरिएको हो। हेटौँडा उपमहानगरपालिका, डिभिजन वन कार्यालय राप्ती मनहरी, वन समूहलगायतका निकायको सहयोग र स्थानीयको सक्रियतामा पार्क निर्माण गरिएको हो।
आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्ने प्रवृत्ति समस्याकै रूपमा रहँदै आएको छ। असार महिनामा हुने बजेट खर्चको आलोचना हुने गरेको र सरकारले यसमा सुधार गर्ने वचन दिने गरे पनि खर्च घटेको छैन। गत आर्थिक वर्ष पनि असारमै धेरै खर्च हुने अवस्थामा सुधार आउन सकेन। आव २०७९/८० मा चितवनमा सङ्घको बजेटको कुल खर्चमध्ये असारमा मात्रै ३३.५८ प्रतिशत खर्च भएको छ। प्रदेशतर्फ पुँजीगत बजेट ३६.७९ प्रतिशत खर्च भएको छ। खर्च विवरण हेर्दा असारमा सङ्घतर्फ दैनिक औसत सात करोड र प्रदेशतर्फ दैनिक औसत तीन करोड रुपियाँ खर्च भएको छ।
कुल गार्हस्थ उत्पादनमा गण्डकी प्रदेशको हिस्सा चार खर्ब ८२ अर्ब रहेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गण्डकी प्रदेशको आर्थिक तथा वित्तीय अवस्थाबारे एक सर्वेक्षणका अनुसार समग्र नेपालको कुल गार्हस्थ उत्पादन ५३ खर्ब ८१ अर्ब रहेकामा गण्डकी प्रदेशको हिस्सा चार खर्ब ८२ अर्ब रहेको देखिएको हो । सर्वेक्षणका अनुसार आर्थिक वृद्धिदर ३.२६ रहेको छ भने प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (अमेरिकी डलरमा १४९२) रहेको छ ।
खर्च अनुसार राजस्वको अनुपात बढ्न नसकेपछि पछिल्लो समय बजेट प्रणालीमा सार्वजनिक ऋणको हिस्सा बढ्न थालेको छ । प्रत्येक वर्ष सरकारको खर्च बढ्दै जाने र त्यहीँ अनुपातमा राजस्वको वृद्धि हुन नसक्दा स्रोत व्यवस्थापनका लागि आन्तरिक र बाह्य ऋणमा निर्भर रहनुपर्ने सरकारको बाध्यता छ । यस्तो बाध्यता झन् बढ्न थालेको सरकारी तथ्याङ्कले पुष्टि गर्छन् ।
सारिका घिमिरेको स्वरमा रहेको गीत ‘कलियुगकी राधा’ सार्वजनिक भएको छ । सारिकाकै शब्द, योगेशकाजी शाहको सङ्गीत र एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गम्भीर विष्टको निर्देशन रहेको गीतको भिडियोमा सारिकालाई नै प्रस्तुत गरिएको छ । गीतको भिडियो सारिकाकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायनमार्फत चर्चा बटुल्न सफल हुनुभएको छ । उहाँका केही गीत करोडौँ क्लबमा समेत पर्न सफल भएका छन् ।
साहित्यकार जनार्दन दाहालको पहिलो आख्यानात्मक कृति ‘भुवा’ बजारमा आएको छ । दाहालको लघुकथा सञ्चयन भुवामाथि शनिबार पोखरामा आयोजित कार्यक्रममा परिचर्चा गरिएको हो । लघुकथा प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा साहित्यकार सरुभक्तले समय सुहाउँदो भाषाशैली, विषय र आयामलाई समातेर लघुकथा लोकप्रिय बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले जीवन नै कथा जस्तै भएको उल्लेख गर्नुभयो । सरुभक्तले भन्नुभयो, “जन्मदेखि नै कथा सुरु हुन्छ । बाँचुन्जेल कथाकै उपकथा चलिरहन्छन् । मृत्युपछि कथा टुङ्गिन्छ कि टुङ्गिदैन भन्ने पनि थाहा छैन ।”
यो वर्ष ढिलै गरी सुरु भएको धान रोपाइँ साउन दोस्रो हप्ता सकिँदा नवलपरासीपूर्वमा भने ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । लामो खडेरीका कारण यो वर्ष समयमै पानी पर्न नसकेका कारण किसानले १५ असारबाट सुरु गरेका धान रोपाइँ साउनको दोस्रो हप्ता सकिँदासम्म ९५ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताउनुभयो ।
गुल्मीमा वार्षिक सात करोडभन्दा बढीको चामल आयात हुने गरेको छ । कृषि ज्ञान केन्द्र गुल्मीको तथ्याङ्क अनुसार जिल्लामा एक जनाले सरदर वार्षिक १३८ केजी चामल खपत गर्दा कम्तीमा ३४ हजार पाँच सय मेट्रिक टन चामल आवश्यक पर्छ । जसमध्ये करिब १७ हजार मेट्रिक टन चामल जिल्लामै उपलब्ध रहेको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।
सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का शीर्ष नेताले कोशी प्रदेशमा सरकार गठनको विषयलाई लिएर छलफल गर्नुभएको छ। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले कोशी प्रदेशमा सरकार गठनका सन्दर्भमा शनिबार छलफल गर्नुभयो। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशमा बहुमत पु-याएर सरकार गठन गर्ने वातावरण तयार गर्न छलफल थालिएको बताउँदै प्रदेश सभाका अन्य दलसँग पनि छलफल गरेर यो विषय टुङ्गो लगाइने बताउनुभयो।
यहाँको हतुवागढी गाउँपालिकाको पर्यटकीय क्षेत्रमा लालीगुँरासहित चार सय बढी बिरुवा रोपिएको छ । गाउँपालिकास्तरीय श्रमदान अभियान सञ्चालन गरेर घोडेटार, जोर आहाल सङ्खाम, दिमालुङ निर्माणाधीन पैदलमार्गमा लालीगुँरास, धुपीलगायतका चार सय ५० बिरुवा रोपिएको हो ।
अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ ।
मस्तिष्क मृत्युसम्बन्धी कानुन बनेको सात वर्ष बितिसक्दा पनि मस्तिष्क मृत्युबाट हुने प्रत्यारोपण उल्लेख्य रूपमा हुन सकेको छैन । नेपालमा मस्तिष्क मृत्युबाट हालसम्म १० जनाको मिर्गौला प्रत्यारोपण र तीन जनाको कलेजो प्रत्यारोपण भएको छ । विदेशमा भने ८० प्रतिशत अङ्ग प्रत्यारोपण मस्तिष्क मृत्यु भएका व्यक्तिबाट हुने गरेको छ ।
साउन ७ गते काठमाडौंको सामाखुसी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर एक हप्ता बित्न लाग्दासमेत अझै फेला परेका छैनन् ।
दोस्रो लहरको कोरोना बढ्दै गर्दा २०७७ सालको फागुनमा जिल्ला अस्पताल धनकुटाले कोरोना सुरक्षा कोषको करिब दुई करोड रुपियाँ खर्चेर आइसियू र भेन्टिलेटर सञ्चालन गरेको थियो ।