निर्माता सन्तोष अधिकारीले ‘हेरिटेज अफ फेसन’ को अस्ट्रेलियास्थित तास्मानिया संस्करण सम्पन्न गर्नुभएको छ । पहिलो पटक तास्मानियाको होबार्टमा आयोजित संस्करणमा तास्मानिया राज्य सभाकी सांसद एला हद्दाद, क्लेरेन्स सिटी काउन्सिलका मेयर ब्रेन्डन ब्लोम, एल्डरम्यान लुइस ब्लुमफिल्ड, पल डेनियल र होबार्ट काउन्सिलका सिआर जोन केलीको उपस्थिति रहेको अधिकारीले बताउनुभयो ।
साहित्यिक पत्रकार सङ्घले तीन जना स्रष्टालाई विशेष सम्मान गरेको छ । सङ्घ स्थापनाको स्वर्ण महोत्सवका अवसरमा आयोजित विशेष समारोहमा सङ्घले संस्कृतिविद् डा. जगमान गुरुङ, वरिष्ठ आख्यानकार गीता केशरी र वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि संविधान सभा अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, विशिष्ट अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीले उहाँहरूलाई सम्मान गर्नुभएको हो ।
कलाकार प्रभु श्रेष्ठको मुख्य भूमिका रहने चलचित्र ‘कालो सुन’ मा अमेरिकाको निर्माण कम्पनी राइज फिल्म्स युएसए कर्पोरेसनलले सहकार्य गर्ने भएको छ । निर्माण कम्पनी प्रभुलक्ष्मी इन्टरटेनमेन्ट एन्ड क्रिएटिभ कम्पनी र उक्त कम्पनीबिच चलचित्र निर्माणमा सहकार्य गर्ने सम्झौता भएको हो ।
पीताम्वर फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘अदृश्य’ आगामी शुक्रबारदेखि प्रदर्शन हुने भएको छ । सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा निर्माता तथा निर्देशक प्रह्लाद काफ्ले, अभिनेता प्रमोद अग्रहरी, रवि गिरी, रिस्ता बस्नेत, प्रवीण खतिवडा र प्रिन्स प्रसिड सिंह थापाको उपस्थिति थियो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नीति बनाएर काम गर्न आग्रह गर्नुभएको छ। सामाजिक विकास मन्त्रालयको आयोजनामा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक एवं आव २०७९/८० को वार्षिक समीक्षा गोष्ठीलाई सोमबार हेटौँडामा सम्बोधन गर्दै पाँच वर्षको नीति तयार गरी कार्यक्रम बनाउन आग्रह गर्नुभएको हो।
चितवन, मकवानपुरलगायतका क्षेत्रमा डेङ्गु रोगको सङ्क्रमण वृद्धि भएपछि लामखुट्टेको ‘लार्भा खोज र नष्ट’ अभियान सञ्चालन गरिएको छ। चितवनको स्थानीय तहमा सचेतना कार्यक्रमसँगै ‘लार्भा नष्ट गर’ अभियान सञ्चालन भएको स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिनुभयो। “अहिले स्थानीय तहको बजेटले कार्यक्रम सञ्चालन भएको छ। डेङ्गुका लागि अहिलेको वातावरण सबभन्दा उपयुक्त छ। साउन, भदौदेखि असोजसम्म सङ्क्रमण वृद्धि हुने भएकाले पानी जम्ने स्थान सफा राख्नु पर्छ,” उहाँले भन्नुभयो।
बागलुङ तीन मुख्य राजमार्गले जोडिएको छ । पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग, चीन–भारत जोड्ने कालीगण्डकी करिडोर र तराई–पहाड जोड्ने सालझण्डी–ढोरपाटन सडकले जिल्लाका अधिकांश पालिका जोडिन्छन् । बरेङ , ताराखोला र तमानखोलाबाहेक सात गाउँपालिकामा यी मुख्य सडक पुगेका छन् । तर मध्यपहाडी लोकमार्गबाहेक अन्य सडकमा गाडी कम गुड्छन् । अर्बौँ लगानीमा निर्माण भएका कालीगण्डकी करिडोर र सालझण्डी–ढोरपाटन सडक अहिलेसम्म पनि पूर्णरूपमा स्तरोन्नति हुनसकेका छैनन् ।
जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) मार्फत नेपालबाट प्रशिक्षार्थी श्रमिक पठाउने प्रक्रिया प्रभावकारी हुन सकेको छैन । वैदेशिक रोजगार विभागले जिट्कोमार्फत नेपाली श्रमिक पठाउनका लागि प्रत्येक वर्ष दर्ता र नवीकरणका लागि म्यानपावर कम्पनीलाई आग्रह गर्दै आएको छ तर पछिल्लो पाँच वर्षमा जिट्कोमार्फत ९५९ जना मात्रै नेपाली प्रशिक्षार्थी श्रमिक पुग्नुले सफल हुन नसकेको स्पष्ट हुन्छ ।
आठ वर्षपछि नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच आउजाउका लागि तातोपानी नाका खुल्ने भएको छ । विसं २०७२ वैशाख १२ को भूकम्पपछि नागरिकलाई आवतजावतमा पूर्ण रूपमा बन्द रहेको तातोपानी नाका दुई महिनापछि खुला हुने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको ११ औँ बैठकमा नेपाल र चीन सरकारका प्रतिनिधिबिच उक्त निर्णय भएको जानकारी दिनुभयो । चीनले सेप्टेम्बरभित्र तातोपानी नाका मानिसका लागि समेत खुला गर्ने सहमति जनाएको छ । उक्त बैठकमा दुईतर्फी व्यापारसँगै नागरिकलाई आवतजावतका लागि समेत नाका खोल्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ का लागि भाषा परीक्षाको आवेदन खुलेको छ । सो शाखाका अनुसार इच्छुक नेपाली श्रमिकले यही साउन २० देखि २४ सम्म अनलाइनमार्फत आवेदन दर्ता गर्न सकिने छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी मङ्सिरमा विधान सम्मेलन गर्ने गरी गृहकार्य थाल्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको पार्टी पदाधिकारी बैठकले मङ्सिरमा विधान सम्मेलन गर्ने गरी केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको हो।
रुकुम(पूर्व) को सिस्ने गाउँपालिका स्थित नेपालको नक्सा आकारमा रहेको कमल दह । यो दह सिस्ने गाउँपालिका(५ मा पर्दछ । दहमा कमल फुलेसँगै आन्तरिक पर्यटकहरूको सङ्ख्यामा पनि वृद्धि भएको छ ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन सरकार पाँच वर्षसम्म कायम रहने बताउनुभएको छ। उहाँले अब गठबन्धन सरकार दायाँबायाँ नहुने स्पष्ट गर्नुभयो। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका कर्मचारीले खिर खाने दिन (साउन १५) का अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक अस्थिरताको अन्त्य भएको बताउनुभयो। उहाँले अब राजनीतिक उतारचढावको स्थिति अन्त्य भएको उल्लेख गर्दै भन्नुभयो, “सबैलाई ढुक्कसँग काम गर्न अनुरोध गर्दछु। अहिलेको गठबन्धन सरकार पाँचै वर्ष रहने स्थिति भएको छ। के होला, कसो होला भन्ने दुबिधा छैन। अस्थिरता हुने स्थिति टुङ्गिएको छ।”
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले करारमा कार्यरत ५७ कर्मचारी हटाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय २१ दिनभित्र हटाउने सहमति भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको छलफलमा काठमाडौँ महानगरपालिका, जिल्ला प्रहरी परिसर काठमाडौँ तथा राप्रपाका सचिवालय प्रमुख केदारबहादुर अधिकारी सहभागी भएको छलफलमा उक्त सहमति भएको हो । काठमाडौँ महानगरपालिकाले शुक्रबार मौखिक सूचना गरी तीन दिनभित्र पार्टी कार्यालय हटाउन अल्टिमेटम दिएको थियो । पूर्वसूचनाबिना एक्कासि कार्यालय खाली गर्ने महानगरको निर्णयपछि राप्रपाले महानगरसँग लिखितपत्र माग गरेको थियो ।