• ११ पुस २०८२, शुक्रबार

हिमाली क्षेत्रमा डढेलोको जोखिम

blog

फाइल तस्बिर

मनाङ समाचारदाता

मनाङ, पुस ११ गते । हिमाली क्षेत्रमा हिउँदयाम सुरु भएपछि डढेलोको जोखिम थपिँदै जाने क्रममा मनाङका विभिन्न बस्तीमा वनडढेलोसम्बन्धी एकदिने समुदायस्तरका सचेतना गोष्ठी सम्पन्न गरिएको छ । हालै मनाङका नासोँ र चामे गाउँपालिका क्षेत्रमा आयोजित गोष्ठीमा स्थानीय बासिन्दालाई डढेलोका कारण, प्रकार, सम्भावित जोखिम र नियन्त्रणका उपायबारे विस्तृत जानकारी गराइएको हो ।

नासोँ गाउँपालिका–३, धारापानी बजारमा सम्पन्न गोष्ठीमा २८ जना स्थानीय सहभागी थिए । सो अवसरमा वनडढेलोको उत्पत्ति, मानव क्रियाकलापको भूमिका, सुक्खा मौसमको प्रभाव तथा क्षतिको दायरा विषयमा विस्तृत छलफल गरिएको थियो । नासोँ गाउँपालिकाका मनाङका चार वटै स्थानीय तहमध्ये सबैभन्दा बढी डढेलो जोखिम क्षेत्र मानिने भएकाले सो क्षेत्रका स्थानीयलाई व्यावहारिक तथा प्राविधिक सिप प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो ।

यसै क्रममा चामे गाउँपालिका–१, तिमाङमा आयोजित गोष्ठीमा ३९ जनाको सहभागिता रहेको थियो । तिमाङ क्षेत्र विगत केही वर्षयता सुक्खा हावाहुरी र वनजङ्गलको दिगो संरक्षण चुनौतीसँग जुधिरहेको क्षेत्र हो । गोष्ठीमा सहभागीलाई डढेलो नियन्त्रणका सामुदायिक उपाय निगरानी समूह गठन, सामूहिक सतर्कता, घर घरमा तत्काल खबरदारी प्रणाली, आकस्मिक अवस्थामा सुरक्षित स्थलमा जानुपर्ने विधिबारे व्यावहारिक अभ्याससमेत गराइएको थियो ।

यसअघि नासोँ गाउँपालिका–२, नाचैगाउँमा पनि ३३ जनाको सहभागितामा सोही विषयमा गोष्ठी गरिएको थियो । त्यस अवसरमा डढेलोको प्रारम्भिक चिह्न पहिचान गर्ने तरिका, जोखिम क्षेत्र नजिक आगो प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, चरन क्षेत्र तथा बस्तीनजिक झाडी व्यवस्थापन जस्ता विषयमा सहभागीलाई प्रशिक्षकले मार्गदर्शन गरेका थिए ।