काठमाडौँ, साउन १६ गते । निर्माता सन्तोष अधिकारीले ‘हेरिटेज अफ फेसन’ को अस्ट्रेलियास्थित तास्मानिया संस्करण सम्पन्न गर्नुभएको छ । पहिलो पटक तास्मानियाको होबार्टमा आयोजित संस्करणमा तास्मानिया राज्य सभाकी सांसद एला हद्दाद, क्लेरेन्स सिटी काउन्सिलका मेयर ब्रेन्डन ब्लोम, एल्डरम्यान लुइस ब्लुमफिल्ड, पल डेनियल र होबार्ट काउन्सिलका सिआर जोन केलीको उपस्थिति रहेको अधिकारीले बताउनुभयो ।
यस्तै नेपालबाट फेसन सोमा सहभागी हुन सञ्चारकर्मी विवेक खतिवडा, सो कोरियोग्राफर मुस्कान रानी र ड्रेस डिजाइनर अमितेस कर्ण र इन्द्रालक्ष्मी अचाजु अस्ट्रेलिया पुग्नुभएको थियो । आसाप इन्टरटेनमेन्टले थ्रेटर रोयलमा आयोजना गरेको संस्करण तास्मानियामा भएको नेपाली समुदायको पहिलो कार्यक्रम रहेको निर्माता अधिकारीले बताउनुभयो । ‘हाम्रो संस्कृति हाम्रो पहिचान’ नारासहित आयोजना गरिएको कार्यक्रममा नेपाललगायत विभिन्न देशका कलाकार तथा मोडलले नेपाली फेसन डिजाइनरले तयार पारेका ड्रेसमा -याम्प नापेका थिए ।
‘हेरिटेज अफ फेसन’ अस्ट्रेलियामा नेपाली कला र संस्कृतिको वास्तविक उत्सव रहेको भन्दै नेपाल र अस्ट्रेलियाका शीर्ष फेसन डिजाइनर, मोडेल र मेकअप आर्टिस्टहरूले आकर्षक रनवेमा आफ्नो कला प्रस्तुत गरेको आयोजकले जनाएको छ । परम्परादेखि समकालीन डिजाइनले नेपालको समृद्धि र जीवन्त सम्पदा झल्काएको आयोजकको दाबी छ । नेपाली कला र संस्कृतिको जगेर्नामा सहयोग गर्न उल्लेख्य मात्रमा होबार्टवासी नेपाली सहभागी भएको निर्देशक अधिकारीले बताउनुभयो । नेपाल र सिड्नीमा ‘हेरिटेज अफ फेसन अस्ट्रेलिया’ सम्पन्न भइसकेको छ । निर्माता अधिकारी अहिले दुई सिनेमा ‘एयुडी’ र ‘चित्रा’ को प्रिप्रोडक्सनमा समेत व्यस्त हुनुहुन्छ ।