भुटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौडेलले राष्ट्रिय मेलमिलापको नीति अपनाएर भुटानी शरणार्थीलाई स्वदेश फर्काउन भुटानका राजा जिग्मे खेसर नाम्ग्याललाई अपिल गर्नुभएको छ ।
महाकाली नदीमा पानीको सतहले सतर्कता विन्दु नाघेपछि नदीमाथि बनेको बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द गरिएको छ ।
बागमती प्रदेशका बिनाविभागीय मन्त्री रामकृष्ण चित्रकारले अढाई महिनापछि मन्त्रालयको जिम्मेवारी पाउनु हुनेभएको छ ।
वेदकोट नगरपालिका–४ मा पर्ने बगुन खोला तटबन्धको काममा वडा अध्यक्षले नै अवरोध गर्नुभएको छ । आफूले सङ्कलन गरेका ढुङ्गा खरिद गर्नुपर्ने भन्दै उहाँले तटबन्धको काममा अवरोध गर्नुभएको हो ।
कोरियाली एन्टी डोपिङ एजेन्सी (काडा) ले डोपिङ परीक्षणका लागि आवश्यक सामग्री नेपाललाई आइतबार सहयोग स्वरूप प्रदान गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने चलचित्र बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा सञ्चालित पार्वती मेडिकोले जिल्ला प्रशासन कार्यालय इलामलाई दुई लाख रुपियाँ जरिवाना बुझाएको छ ।
स्विडेन फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेलबर्न रेकटेङगुलर स्टेडियममा आइतबार भएको खेलमा स्विडेनले चार पटकको कीर्तिमानी विजेता अमेरिकालाई सडनडेथमा ५–४ गोलले हरायो ।
आँखा पाक्ने रोगवृद्धि हुन थालेपछि चितवनका विद्यालय एक साता बन्द गरिएको छ । केही हप्ता अगाडिदेखि बालबालिका तथा अन्य वर्गमा आँखा पाक्ने सङ्क्रमण वृद्धि भएको छ ।
नयाँरोड–बरहथवा सडकखण्ड अन्तर्गत सर्लाहीको बरहथवा नगरपालिका –९, सोल्टीमोडमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
सुदूरपश्चिम प्रदेश सभाका वर्तमान तथा निवर्तमान प्रदेश सभा सदस्यबिच अनुभव आदान–प्रदान कार्यक्रम गरिएको छ ।
जिल्लाको रामारोशन गाउँपालिकाका कर्मचारीहरूले आफ्नो तलब घटाइएको भन्दै आन्दोलन सुरु गरेका छन् । गाउँपालिकामा कार्यरत करार कर्मचारीको खाइपाइ आएको तलब घटाएको भन्दै उनीहरू आन्दोलित बनेका हुन् ।
कैलालीको धनगढी उपमहानगरपालिका परिसरमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले उपमहानगरपालिकाको परिसरमा जडान गरेको चार्जिङ स्टेसन सञ्चालनमा आएको हो ।
बर्दिबास लगायत महोत्तरीको उत्तरी भेगमा आँखा पाक्ने रोग सामुदायिक स्तरमा फैलिएको छ । यसको सङ्क्रमणबाट सबै उमेर समूह प्रभावित देखिए पनि बालबालिका सबैभन्दा बढी सङ्क्रमित भएको स्वास्थ्यकर्मीले जनाएका छन् ।
नेपाल, भारत, बङ्गलादेश र भुटानको सहभागिता रहने सातौँ हिमालय सुन्तला पर्यटन महोत्सव आगामी मङ्सिर २२ गते देखि २४ गतेसम्म पश्चिम बङ्गालको राजधानी कोलकत्तामा हुने भएको छ ।