राममणि दाहाल
हेटौँडा, साउन २१ गते । बागमती प्रदेशका बिनाविभागीय मन्त्री रामकृष्ण चित्रकारले अढाई महिनापछि मन्त्रालयको जिम्मेवारी पाउनु हुनेभएको छ ।पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय फुटाएर सामान्य प्रशासन थप गर्दै सामान्य प्रशासन तथा उद्योग मन्त्रालयको जिम्मेवारी चित्रकारलाई दिएर कार्य विभाजन गर्ने सत्तारुढ दलहरूबिच सहमति बनेको छ ।
सत्ता भागबण्डा मिलाउन ११ मन्त्रालयबाट बढाएर १२ बनाउने सहमतिसँगै अढाई महिनादेखि भूमिकाविहीन चित्रकारले मन्त्रालयको जिम्मेवारी पाउने सुनिश्चित भएको हो ।
सत्ता गठबन्धनका दलबिच कुन मन्त्रालय फुटाएर मन्त्रालय बढाउने भन्नेमा सहमति जुट्न नसक्दा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता समेत रहनुभएका चित्रकार मन्त्रालयविहीन रहनुभएको थियो ।
प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मन्त्रालय बढाउने बारेमा छलफल र सहमति भएको बताउनुभयो । उहाँले निर्णय नभइसकेको भन्दै निर्णय भएपछि नियुक्तिलगायतका आवश्यक प्रक्रियामा जाने उहाँको भनाइ छ ।
मन्त्रालय बढाउने दलहरूबिच आइतबार सहमति बनेको हो । गत जेठ ७ गते सत्ता साझेदार दलबिच भागबण्डा मिलाउन ११ मन्त्रालय रहेको यस प्रदेशमा चित्रकारलाई बिनाविभागीय मन्त्रीको जिम्मेवारी दिएर १२ जना मन्त्री बनाइए पनि कुन मन्त्रालय फुटाउने भन्नेमा सहमति नजुट्दा कार्यविभाजन हुनसकेको थिएन ।