गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपत्तिबाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपद्मा परेर ४१ जनाले ज्यान गुमाएका छन् । एकतीस जना बेपत्ता छन् ।
कैलालीका अधिकांश सामुदायिक वनमा अवैध रूपमा संरचना निर्माण बढ्दै गएको छ। सम्बन्धित सामुदायिक वनले आफ्नो वनको प्रयोजनका लागि बाहेक अन्य संरचना निर्माण गर्न नपाउने कानुनी प्रावधान भए पनि विभिन्न सङ्घ संस्थालगायत सरकारी कार्यालय, वडा कार्यालयसमेत सामुदायिक वनको जग्गा अतिक्रमण गरी बनाइएको पाइएको छ। घोडाघोडी नगरपालिका–२ मा रहेको मोहन्याल सामुदायिक वनमा अहिले दुई वटा भवन निर्माणको अवस्थामा छन्। एउटा भवन दलित सङ्गठन नगर समिति र अर्को अपाङ्ग सङ्घ नगर समितिले निर्माण गर्न थालेको हो।
बिहानैदेखि बदली भएको मौसम दिनभरजसो उस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अधिकांश स्थानमा पानी पर्ने र दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
म्याग्दीका छ हजार दुई सय २५ घरधुरीमा खानेपानीको पहुँच विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामा सञ्चालन गरेका खानेपानी आयोजनाबाट खानेपानीको पहुँच पुगेको हो ।
केही दिनदेखि लगातार परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको जनजीवन अस्तव्यस्त तथा यातायात सेवा अवरुद्ध बनेको छ। बाढीपहिरोले कैलाली र डडेलधुरामा बढी नै क्षति भएको जनाइएको छ । तराई पहाड जोड्ने भीमदत्त राजमार्ग पहिरोले अवरुद्ध हुँदा तराईका कैलाली र कञ्चनपुरसँगको पहाडी क्षेत्रका सात वटा जिल्लाको यातायात सम्पर्क विच्छेद भएको छ। कैलालीमा बाढी तथा डुबान र डडेलधुरामा पहिरो र बाढीले क्षति पु¥याएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगपालिका–४, स्थित लखन्देखी पुल मुनी अज्ञात युवकको टाउको मात्रै फेला परेको छ ।
विराटनगर महानगरपालिकाले डेङ्गु रोग सङ्क्रमणको निःशुल्क परीक्षण सुरु गरेको छ । महानगरपालिकाभित्र डेङ्गु रोग पहिचानका लागि रानी अस्पताल र बैजनाथपुर अस्पतालमा परीक्षण सेवा सञ्चालनमा ल्याइएको हो ।
धनगढी उपमहानगरपालिका परिसरमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणले उपमहानगरपालिकाको परिसरमा जडान गरेको चार्जिङ स्टेसन सञ्चालनमा आएको हो। सो स्टेसनको एक कार्यक्रमका बिच धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले उद्घाटन गर्नुभयो। पछिल्लो समय विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएकाले चार्ज गर्न सहज हुने जनाइएको छ।
जुम्लामा सात घरसहित शृङ्खलाबद्ध आगजनी गराएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाले मङ्गलबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो। साउन ५, ६ गते र विभिन्न समयमा सात घर, ट्याक्टर र अटो रिक्सा जलाएको घटनामा जुम्ला गुठीचौर–४, उखाडी घर भई चन्दननाथ नगरपालिका–२, भण्डारीवाडामा घरज्वाइँ बस्ने वर्ष ३० का रत्नबहादुर अधिकारी संलग्न भएको प्रहरीले जनाएको छ। अभियुक्त रत्नप्रसाद अधिकारीले आफू गरिब भएकाले कसैले पनि ऋण र उधारो नपत्याएको रिसमा आगजनी गरेको बयान दिएको प्रहरीले जनाएको छ।
वर्षाजन्य प्रभावित क्षेत्रमा क्षति न्यूनीकरणका लागि सुरक्षाकर्मी सव्रिmय भएको छ । बाढीमा फसेका व्यक्तिलाई उद्धार गर्न, सुरक्षित स्थानमा व्यवस्थापन गर्न, तटबन्ध कटान रोक्नलगायतका कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली सव्रिmय भएका छन् ।
पश्चिम सुर्खेतको चौकुनेस्थित सूर्यतारा सिमेन्ट उद्योग स्थापना कार्य अहिले ठप्प छ। लगानीमैत्री वातावरण नभएको भन्दै निर्माणको जिम्मा पाएको सूर्यतारा इन्भेस्टमेन्ट कम्पनी हात झिक्ने अवस्थामा छ। दुई वर्षभित्रै उत्पादन सुरु गर्ने लक्ष्यसहित २०७७ सालमा लगानी बोर्डबाट उद्योग सञ्चालन स्वीकृति पाएको कम्पनीले पूर्वाधार निर्माणका प्रारम्भिक कामसमेत सम्पन्न गरिसकेको छ।
कालीकोटमा खाद्यन्न अभाव भएको छ। सरकारले गत वर्ष कालिकोटमा १३ हजार क्विन्टल चामलको कोटा उपलब्ध गराएको थियो। जिल्लाका मान्म, थिर्पु, पादमघाट, खल्लागाड खाद्य डिपो र खिन धौलागोह वितरण केन्द्र अहिले खाली भएका छन्। गाउँका खाद्य डिपो तथा वितरण केन्द्र खाली भएपछि चामल लिन सदरमुकाम मान्म पुगेका सेवाग्राही खाली हात फर्किनु परेको छ। एकै दिन दुई सय क्विन्टलभन्दा बढी वितरण भएपछि बाँकी रहेको चामल कैदीबन्दीलाई एवं जन्म र मृत्यु कार्यमा दिनुपर्ने भएकाले अहिले सर्वसाधारणका लागि बिक्री बन्द गरिएको बताइन्छ।
बागमती प्रदेशमा बाढीपहिरोको जोखिम उच्च छ । यस वर्ष बाढीपहिरोबाट बागमती प्रदेशका १३ जिल्लामा ९७ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान छ ।
दाङको लमहीमा रहेको देउखुरी बहुमुखी क्याम्पस भवन लमही नगर विकास समितिको जग्गामा छ। उक्त क्याम्पसमा हाल दुई हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्छन्। यस्तै लमही आँखा अस्पतालको भवन पनि नगर विकास समितिले उपलब्ध गराएको जग्गामा छ। उक्त अस्पतालमा दाङ देउखुरीसहित छिमेकी जिल्ला र भारतबाट समेत दैनिक दुई सयको हाराहारीमा उपचारका लागि आउने गर्छन्। यी संस्थाका लागि थप जग्गाको आवश्यकता छ। जनसेवामा लागेका यी र यस्ता संस्थाको आफ्नै नाममा लालपुर्जा नहुँदा स्वदेशी तथा विदेशी दाताले उपलब्ध गराउने रकम पाएका छैनन्।
मधेस प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा रु दश/दश लाख पठाउने भएको छ ।