समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैदेशिक र आन्तरिक श्रम बजारलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउने सवालमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शुक्रबार भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले भोगिरहेका समस्या र त्यसको समाधान विषयक छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिनुभएको हो । उहाँले वैदेशिक रोजगारीका क्रममा नेपालीले विभिन्न समस्या भोग्नु परेको चर्चा गर्दै ती समस्याको दीर्घकालीन निराकरणका उपायबारे विस्तृत अध्ययन गरी अर्को बैठकमा प्रस्ताव पेस गर्न निर्देशन दिनुभयो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले काभ्रेको पाँचखालमा निर्माण हुन लागेको महिला औद्योगिक पार्कको अवधारणा अगाडि बढेको बताउनुभएको छ । दक्षिण एसियाली महिला मञ्चले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री डा. महतले महिला औद्योगिक पार्कको अवधारणाबारे सुन्दा यो सामान्य जस्तो लाग्छ, अब यो पार्क निर्माण कार्यलाई कसैले रोक्न सक्दैन, यसलाई कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो ।
बडीमालिका नगरपालिकाको वडा नं. ६ र ८ मा रहेको बिरे खोलामा रहेको झरनामा झुल्किएको इन्द्रेणीले आन्तरिक पर्यटकलाई लोभ्याउन थालेको छ। बिहानीको सूर्यको किरणसँगै हल्का पानी परेको बेलामा बिरे झरनामा इन्द्रेणी देखिने गरेको छ। सामाजिक सञ्जालबाट बिरे झरनाको प्रचारप्रसारसँगै पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक बन्दै गएको छ। यस झरनाले सर्वसाधारणलाई लोभ्याउन थालेको बडीमालिका नगरपालिका–८, बिरे खोला राप्का होटेलका सञ्चालक दलबहादुर थापाले बताउनुभयो।
कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीलाई आवश्यक परिमाणमा मल सञ्चय गरेपछि यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ। भदौ महिनासम्मका लागि आवश्यक पर्ने रासायनिक मल गोदाममा मौज्दात रहेको छ। विगतमा धान खेतीको समयमा बर्सेनि मलको अभाव हुने गरेको थियो। कार्यालय प्रमुख अमूल्यलाल श्रेष्ठका अनुसार भदौसम्मलाई पुग्ने गरी गोदाममा मल मौज्दात रहेको र थप ल्याइने क्रममा रहेको छ। हाल युरिया १२० टन, डिएपी १५० टन, पोटास ४४ टन र कृषि चुन ११ टन गोदाममा छ।
बाढीका कारण विस्थापितहरूको जनजीवन कष्टकर बन्दै गएको छ। पेटभर खान नपाउँदा तथा उचित बासको व्यवस्था नहुँदा जनजीवन कष्टकर बनेको हो। अन्नबाली जोगाउन र सुरक्षित स्थानमा ल्याउन नसकेका कतिपय विस्थापित चाउचाउको भरमा गुजारा गर्न बाध्य छन्। भजनी नगरपालिकाका विस्थापितलाई छाक टार्न समस्या भएको छ। नगरपालिकाले खाद्य तथा गैरखाद्य सामग्री सहयोगका लागि सरकारी, गैरसरकारी सङ्घ संस्था, निजी क्षेत्र, सहकारी र नागरिक समाजलाई अपिल गरेको छ।
सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउनका लागि नेपाल राष्ट्र बैङ्कले १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैङ्कले १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र २०८८ ‘ख’ जारी गरेर आन्तरिक ऋण उठाउन लागेको हो । विकास ऋणपत्रको बोलकबोल साउन २८ र निष्कासन साउन २९ गते हुने राष्ट्र बैङ्कले जनाएको छ । आठ वर्ष अवधिको विकास ऋणपत्र साउन २९ गते निष्कासन मिति तोकिएको छ भने यसको परिपक्व हुने अवधि २०८८ साल साउन २९ गते हुने छ । राष्ट्र बैङ्कले जारी गर्ने उक्त विकास ऋणपत्र बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्ने छन् । ऋणपत्रको ब्याजदर (कुपनरेट) बोल कबोलबाट निर्धारण हुने बताइएको छ ।
वैदेशिक रोजगार विभागले सामाजिक सञ्जालमा आएका युरोप रोजगारीको विज्ञापनमा विश्वास नगर्न आमनागरिकलाई सचेत गराएको छ । विभागले पछिल्लो समय युरोप रोजगारीका नाममा फेसबुक, इन्स्टाग्राम, टिकटकलगायतबाट भ्रामक विज्ञापन गरी ठगी गर्ने क्रम बढेको भन्दै यसरी आउने विज्ञापनमा विश्वास नगर्न विभागले जनाएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
नेपालबाट गैरकानुनी रूपमा अमेरिका लगिँदै गरेका नेपाली कलाकृति फर्काइएका छन्। १० वर्षदेखि त्यहाँको सुरक्षा निकायले जफत गरेका ४० वटा कलाकृति नेपाल फर्काइएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ। सन् २०१० मा अमेरिका भित्र्याउन खोज्दै गर्दा त्यहाँको भन्सार तथा सीमा सुरक्षाले ४० वटा काष्ठकलाका कृति जफत गरेको थियो। नेपाल सरकारले सन् २०११ मा ती कलाकृति नेपाल फिर्ता पठाउन अनुरोध गरेपछि विभिन्न प्रक्रिया पूरा गर्दै १३ वर्षपछि नेपाल फिर्ता पठाइएको हो। नेपाली दूतावासले कतार एयरवेजमार्फत पठाएका ती कलाकृति नेपाल सरकारको पुरातत्त्व विभागले ग्रहण गर्ने जनाइएको छ। कलाकृति गत वैशाखमा नेपाली दूतावासलाई हस्तान्तरण भएको थियो। चार वटा चित्र कुँदिएका काठका प्यानल तथा बाँकी कलात्मक काठ छन्। ती कलाकृति दूतावासले आयोजना गरेको नेपाल पर्यटन प्रवर्धन कार्यक्रममा प्रदर्शनीमा राखिएको थियो।
चलचित्र ‘बोबी’ की अभिनेतृ कविता गुरुङको कवितासङ्ग्रह ‘मेरो कविताको शीर्षक छ’ लोकार्पण गरिएको छ। राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमबिच चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्माता सङ्घका कोषाध्यक्ष ज्योति राईलगायतले कवितासङ्ग्रह सार्वजनिक गर्नुभएको हो।
नेपाल प्रहरीले रु ५२ लाख ७५ हजार नक्कली नोटसहित नौ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी काठमाडौँ र भक्तपुरका विभिन्न स्थानबाट रु ५२ लाख ७५ हजार नगदसहित नौ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।
लेखक अस्विनकुमार पुडासैनीले लेख्नुभएको ‘समृद्धिको हुटहुटी’ पुश्तक लोकार्पण गरिएको छ। लेखक पुडासैनीले सुशासन र समृद्धिका लागि १०१ पाइला भनेर देश विकासका लागि विविध आयामबारे लेख्नुभएको पुस्तकको शुक्रबार राजधानीमा आयोजित कार्यममा लोकार्पण गरिएको हो।
नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतको महाराष्ट्र प्रदेश विधान परिषद्का मुख्य प्रतिपक्षी दलका नेता अम्बादास दानवेबीच शिष्टाचार भेटवार्ता भएको छ।
विवाहित नारीको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वल्र्ड’ यस वर्ष पनि हुने भएको छ। रिबन इन्टरटेनमेन्टको आयोजनामा हुने प्रतियोगिताका लागि आवेदन खुला गरिएको आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी दिनुभयो। मिसेस नेपाल वल्र्डसँगै सोही स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन गरिने उहाँले बताउनुभयो।