ओशाकामा बिहीबार आफ्नो अन्तिम प्रस्तुति दिएसँगै लोकरक ब्यान्ड नेपथ्यले यो वर्षको शृङ्खलाबद्ध जापान यात्रालाई विश्राम दिएको छ। ओशाकाको ‘नाम्बा ह्याच सभा गृह’ मा भएको कार्यक्रममा दर्शकको उल्लेख्य उपस्थिति रहेकोे आयोजकले जनाएको छ। गायक अमृत गुरुङको नेतृत्वमा नेपथ्य टोलीले ‘कोशीको पानी यो जिन्दगानी’ प्रस्तुत गरेको थियो। कार्यक्रम अवधिभर दर्शकसँग संवादसमेत गरेका अमृतले उपस्थित सबैलाई नेपाल पुगेका बेला डाँडाकाँडाको यात्रा गर्न प्रेरित गर्नुका साथै नेपाली भाषा र संस्कृतिलाई जीवित राख्न अनुरोध गर्नुभएको थियो।
काठमाडौँ–कलिङ साहित्य महोत्सवको दोस्रो संस्करणको घोषणा भएको छ। गत वर्षदेखि आरम्भ भएको यो महोत्सव भदौ १५ देखि १७ गतेसम्म काठमाडौँमा आयोजना हुने छ। नेपाल, भारत, भुटान, बङ्गलादेश र श्रीलङ्कालगायत देशका साहित्यकारहरू जमघट हुने यो अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटररी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा हुँदै छ।
‘मिस युनिभर्स नेपाल २०२३’ का २२ जना अन्तिम प्रतिस्पर्धी सार्वजनिक भएका छन्। एसियन पेन्टस्को सहकार्यमा उमङ्ग क्रिएसनले आयोजना गरेको प्रतिस्पर्धामा पाँच सय जनाबाट छानिएर २२ जना अन्तिम प्रतिस्पर्धीमा छानिएका हुन्। छानिएका २२ जनामध्ये दुई जना विवाहित महिला र एक जना ‘ट्रान्स जेन्डर’ समेत सहभागिता रहेको आयोजकले जनाएको छ। यस प्रतियोगिताको अन्तिम छनोट भदौ २३ गते हुने उमङ्ग क्रियसनका प्रबन्ध निर्देशक उद्धव अधिकारीले बताउनुभयो। २२ जना अन्तिम प्रतिस्पर्धीमध्येबाट विजेताले नोभेम्बरमा एलसाल्भाडोरमा हुने मिस युनिभर्समा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अधिकारीले जानकारी दिनुभयो।
थप पाँच वटा कम्पनीले ब्रोकर (धितोपत्र दलाल) लाइसेन्स प्राप्त गरेका छन् । नेपाल धितोपत्र बोर्डले थप पाँच कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो । बोर्डको सञ्चालक समितिको बैठकको निर्णय अनुसार रोडसो सेक्युरिटिज, सजिलो ब्रोकर लिमिटेड, हिमालयन सेक्युरिटिज, बेनी सेक्युरिटिज र सनी सेक्युरिटिजलाई ब्रोकर लाइसेन्स दिएको हो ।
चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा झन्डै १२ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आव २०८०/८१ को साउन महिनामा ६० उद्योगमार्फत ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपियाँ लगानीको प्रतिबद्धता आएको हो । आव २०७८/७९ को साउन महिनामा मात्र दुई अर्ब ६४ करोड नौ लाख रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएका थिए । अघिल्लो वर्षको तुलनामा वैदेशिक लगानी प्रतिबद्धतामा चार गुणाले वृद्धि भएको विभागको तथ्याङ्कले देखाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषलाई आठबुँदे स्पष्टीकरण सोधेको छ। मन्त्रालयले पशुपति क्षेत्र विकास कोषबाट व्यवस्थापन भइरहेका विभिन्न विषयमा प्रस्ट जानकारीसहित सात दिनमा जवाफ बुझाउन पत्र पठाएको हो। मन्त्रालयले कोष अन्तर्गतका पसल, भवन, पार्क, धर्मशालाको सञ्चालनका निम्ति कोषसँग कुन बेहोराको सम्झौता भएको छ भन्ने विषयमा सम्झौताका प्रमाणित प्रतिलिपि पेस गर्नुभनेको छ। पत्रमा सम्झौता अनुरूप कोषलाई तिर्न बुझाउनुपर्ने तोकिएको रकममध्ये हालसम्म असुल भएको रकम तथा बक्यौता रकम अङ्क कति छ र सम्झौताबमोजिमको असुलउपर हुनुपर्ने पूरै रकम असुल उपर नभई बक्यौता रहेको भए सोको विवरण र कारण पेस गर्न भनिएको छ। पशुपति क्षेत्र विकास कोषबाट गरिएका सम्झौताबमोजिमको असुलउपर
समाजवादी मोर्चा नेपालले सात प्रदेशमा सन्देश सभाको आयोजना गर्ने भएको छ। सन्देश सभाका लागि आइतबार केन्द्रीय संयोजन समितिको बैठक बस्ने भएको छ। मोर्चाका अध्यक्ष एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल विदेश भ्रमणमा जानुभएकाले बैठक बस्न नसक्दा केही समय ढिलाइ भएको मोर्चाका सदस्यसचिव प्रमेश हमालले जानकारी दिनुभयो।
गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जन र दी राइजिङ नेपालका अनलाइन संस्करण संयोजक एवं उपसम्पादक नन्दलाल तिवारी सम्मानित हुनुभएको छ। इनर ह्विल क्लबको शनिबार कीर्तिपुरमा आयोजित पाँचौँ वार्षिकोत्सव तथा चार्टड डे सेलिब्रेसन कार्यक्रममा उहाँहरूलाई सम्मानित गरिएको हो। विकास र महिला सशक्तीकरणको पक्षमा पत्रकारिताका माध्यममार्फत योगदान पु-याएको भन्दै महर्जन र तिवारीलाई सम्मान गरिएको हो। इनर ह्विलकी अध्यक्ष रञ्जना महर्जनले संस्थाले स्वार्थभन्दा सेवा भावलाई उच्च स्थानमा राखेर रक्तदान, मानव तथा सामाजिक सेवा, वृक्षरोपण, सांस्कृतिक प्रवर्धनमा विभिन्न काम गर्दै आएको बताउनुभयो।
काठमाडौँ महानगरपालिकाले मातहतका सबै सामुदायिक विद्यालयका कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउनेभएको छ। महानगरपालिकाको नगर कार्यपालिकाका अनुसार दिवा खाजा कार्यक्रम भदौ १ देखि लागु गरिएको छ। महानगरपालिकाले यसअघि कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गरेको थियो। सङ्घीय सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेको छ।
राष्ट्रिय सूचना आयोगले सूचनाको हकको कार्यान्वयनमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्न/गराउन सार्वजनिक निकायलाई आह्वान गरेको छ । १७ औँ राष्ट्रिय सूचना दिवसका अवसरमा आयोगले शुभकामना तथा प्रतिबद्धतापत्र जारी गरी सो आह्वान गरेको हो । सूचनाको हकसम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न/गराउन सार्वजनिक निकायको भूमिका महत्त्वपूर्ण हुने र माग गरिएको सूचना सहज रूपमा प्राप्त गर्दा सार्वजनिक निकायप्रति नागरिकको धारणा सकारात्मक हुने पत्रमा उल्लेख छ ।
नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले राजनीतिक चिन्तक प्रदिप गिरी अद्भूत व्यक्तित्वका धनी भएको बताउनुभएको छ।
नवलपरासी पूर्बको दुम्कौलीस्थित शास्वतधाममा आजदेखि विराट हनुमान कथा प्रबचन सुरु भएको छ । भारतस्थित बागेश्वरधामका आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा) ले तीन दिनसम्म हनुमान कथा प्रबचन गर्नु हुनेछ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार सामुदायिक ग्रामीण विद्युतीकरण अभियानलाई थप व्यवस्थित गर्न तयार रहेको बताउनुभएको छ।
कपिलबस्तुका किसानले खेतमा रोपेको धान बालीमा गबारो किराको प्रकोप देखा परेको छ । गबारो किराले गुवो खाएर धान बालीमा नोक्सान गर्न थालेपछि किसान चिन्तित भएका छन् ।
प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको आयोजनामा बुटवलमा भएको मिडिया सम्मेलनले १३ बुँदे बसन्तपुर घोषणापत्र जारी गरेको छ । लुम्बिनी प्रदेशभित्रका दुईसय मिडियाका सञ्चालक तथा पत्रकारको सहभागितामा भएको सम्मेलनले सो घोषणापत्र जारी गरेको हो ।