काठमाडौँ, भदौ ३ गते । गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जन र दी राइजिङ नेपालका अनलाइन संस्करण संयोजक एवं उपसम्पादक नन्दलाल तिवारी सम्मानित हुनुभएको छ।
इनर ह्विल क्लबको शनिबार कीर्तिपुरमा आयोजित पाँचौँ वार्षिकोत्सव तथा चार्टड डे सेलिब्रेसन कार्यक्रममा उहाँहरूलाई सम्मानित गरिएको हो। विकास र महिला सशक्तीकरणको पक्षमा पत्रकारिताका माध्यममार्फत योगदान पु-याएको भन्दै महर्जन र तिवारीलाई सम्मान गरिएको हो। इनर ह्विलकी अध्यक्ष रञ्जना महर्जनले संस्थाले स्वार्थभन्दा सेवा भावलाई उच्च स्थानमा राखेर रक्तदान, मानव तथा सामाजिक सेवा, वृक्षरोपण, सांस्कृतिक प्रवर्धनमा विभिन्न काम गर्दै आएको बताउनुभयो।
कार्यक्रममा मङ्गल बहुमुखी क्याम्पसका सहायक प्रमुख रक्की महर्जन, पत्रकार दीपक अधिकारी, रोटरी क्लब अफ बालाजुका पूर्वअध्यक्ष डा. कौशल्यान्द्रकुमार दास, प्राडा लक्ष्मीबहादुर महर्जन, इनर ह्विलकी जिल्ला अध्यक्ष तु्ना थापालगायतलाई पनि सम्मान गरिएको थियो। सम्मानित डा. दासले संसारभरि ठुलो संस्थाका रूपमा विस्तार भएको क्लबले सामाजिक सेवाको क्षेत्रमा अझै काम गर्नुपर्ने भन्दै शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा जिल्ला अध्यक्ष थापाले यशोदा परियारलाई सिलाइ मेसिन हस्तान्तरण गर्नुभयो।