• २२ वैशाख २०८३, मङ्गलबार

स्याङ्जाका दस योजना अलपत्र

blog

स्थानीय स्तरमा रहेको धुलाम्मे सडक ।

अर्जुन काफ्ले

स्याङ्जा, वैशाख २२ गते । आर्थिक वर्ष २०८२–८३ मा पूर्वाधार विकास कार्यालय स्याङ्जाका १० वटा योजना अलपत्र पर्ने भएको छ । योजनालाई बजेट व्यवस्थापन हुँदा समेत आवश्यक प्रक्रिया नपुगेपछि १० वटा योजनाहरू कार्यान्वयन नहुँदा अलपत्र पर्ने पक्का भएको हो ।

चालु आर्थिक वर्षमा निर्माण हुने भनिएका १२१ योजनामध्ये १०३ वटा योजना कार्यान्वयनमा गएकोमा आठ वटा योजना कार्यान्वयनमा लैजाने गरी मूल्याङ्कनको अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ । 

अलपत्र परेका योजनामध्ये सबैभन्दा ठुलो झण्डै छ करोड बजेटको ज्याग्दी खोला काेरिडोर रहेको कार्यालयले जनाएको छ । चार करोड बराबरको छ वटा योजना विवादका कारणले लागत अनुमानको चरणमै पुग्न सकेको छैन् । 

तीन करोड लागतको बिरुवा–धोबादी हुँदै राङ्खोला जोड्ने सडक अलपत्र छ भने संशोधन र ठेक्का आव्हान गर्न नसक्नेमा झण्डै दुई करोडका दुई वटा गरेर १५ करोडका १० वटा योजना अलपत्र पर्ने पक्का भएको कार्यालयका निमित्त प्रमुख इन्जिनियर गुरुदत्त अधिकारीले बताउनुभयो । 

यहाँ छ वटा योजनाको फिल्ड विवाद छ भने अन्य दुई योजनामध्ये संशोधन गर्नुपर्ने र ठेक्कामा लैजान नसक्ने अवस्थामा रहेको अधिकारीले बताउनुभयो । कार्यान्वयनमा गएका योजनामध्ये चालु वर्षको नौ महिनाको अवधिमा कार्यालयले १० वटा योजना निर्माण सम्पन्न गरेको छ । सडक निर्माण कार्यक्रमतर्फ चार, सडक पुल निर्माण तथा सम्भारतर्फ तीन र झोलुङ्गे पुल निर्माणमा तीन वटा योजना सम्पन्न भएका हुन् । 

चालु वर्षको नौ महिना (साउनदेखि–चैत्र)को अवधिमा करिब २७ प्रतिशत खर्च गरेको कार्यालयले चालुतर्फ करिब ५१ प्रतिशत खर्च गरेको कार्यालयले जनाएको छ । एक अर्ब ९ करोड ८१ हजार कुल बजेटमध्ये कार्यालयले चालुतर्फ विनियोजित एक करोड ९७ लाख २९ हजारमध्ये ५१ दशमलब ३६ प्रतिशत अर्थात एक करोड एक लाख ३४ हजार खर्च गरेको छ । 

पुुँजीगत शीषर्कको एक अर्ब ७ करोड तीन लाख ५२ हजारमध्ये २८ करोड ४९ लाख २५ हजारले हुने करिब २६ प्रतिशत मात्र खर्च गरेको कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०८१–८२ मा झण्डै ३५ करोड विकास बजेट फ्रिज गरेको पूर्वाधार कार्यालयको पछिल्लो कामको गति हेर्दा चालु वर्षमा ठुलो रकम फ्रिज जाने देखिन्छ ।