छविलाल पाण्डे
बुटवल, भदौ २ गते । प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको आयोजनामा बुटवलमा भएको मिडिया सम्मेलनले १३ बुँदे बसन्तपुर घोषणापत्र जारी गरेको छ । लुम्बिनी प्रदेशभित्रका दुईसय मिडियाका सञ्चालक तथा पत्रकारको सहभागितामा भएको सम्मेलनले सो घोषणापत्र जारी गरेको हो ।
घोषणापत्रमा समानुपातिक विज्ञापन वितरण प्रणालीलाई नीतिगत रुपमा व्यवस्था गरी कार्यान्वयन गर्न र मिडिया हाउसहरुमा हाल देखिएको आर्थिक संकट समाधानका लागि तीनै तहका सरकारले मिडिया सवलीकरणका कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ ।
त्यसैगरी तीनै तहका सरकारले प्रदान गर्ने विज्ञापन समानुपातिक वितरण प्रणालीका आधारमा रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाईनलाई दिने विज्ञापनहरु सिधै सञ्चारगृहलाई उपलव्ध गराउने व्यवस्था मिलाउन माग गरिएको छ ।
घोषणापत्रमा सरकारले लिंदैआएको विद्युतीय सञ्चार माध्यमको नवीकरण दस्तुर र रोयल्टी दस्तुरहरु पूर्णछुटको व्यवस्था गर्न र रेडियो, टेलिभिजन, अनलाइन, छापामाध्यम तथा सञ्चार उद्योगको विद्युत महसुलमा छुटको व्यवस्था गर्न माग गरिएको छ ।
त्यसैगरी घोषणापत्रमा सरकारले सञ्चारगृहलाई दिंदैआएको लोककल्याणकारी विज्ञापनको रकम शतप्रतिशत बृद्धि गर्न, रेडियोहरु र टेलिभिजनको लाइसेन्स नवीकरण व्यवस्थालाई सरल र सहज बनाउन, दर्ताविना कतिपय मिडिया सञ्चालन भएकाले यसको अनुगमन गरी दर्ता प्रक्रिया र कानुनी दायरामा ल्याउन, संघीय शासन पद्धतिको मर्मलाई समेत ध्यानमा राखेर प्रेसपास वितरण, लोककल्याणकारी विज्ञापनसम्बन्धी निर्णय, भुक्तानी, वर्गीकरण र अनुगमन जिल्लास्तरमै हुनेगरी संयन्त्र तयार गर्न माग गरिएको छ ।
प्रेस काउन्सिल नेपालले मिडिया विकास कोषमार्फत प्रादेशिक र स्थानीय मिडियाको विकासमा लगानी गर्न, मिडिया उपकरण खरिदमा ब्याज अनुदान दिने व्यवस्थालाई अझ प्रभावकारी बनाएर मोफसलका मिडियालाई बिशेष प्राथमिकताका साथ सहयोग गर्न पनि घोषणापत्रमार्फत माग गरिएको छ ।
सम्मेलनको शुक्रवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुटवलमा उदघाटन गर्नुभएको थियो । मिडिया सम्मेलनको उदघाटनका अवसरमा वरिष्ठ पत्रकार कनकमणि दीक्षित र युवराज घिमिरेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।