शेर्पा कलाकार सङ्घको अध्यक्षमा कुङगा शेर्पा निर्वाचित हुनु भएको छ । संघको सम्पन्न दोस्रो महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा साङगे शेर्पा, उपाध्यक्षमा दावा शेर्पा, महासचिवमा लमु शेर्पा, कोषाध्यक्षमा पल्मु शेर्पा निर्वाचित हुनुभएको छ ।
म्याग्दी स्वास्थ्य बीमा कार्यक्रम २२ प्रतिशत जनसङ्ख्याको पहुँचमा मात्रै पुग्न सकेको छ । २०७३ सालदेखि म्याग्दीमा यो कार्यक्रम लागू भएको हो । राज्यको नीतिअन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने संविधानमै उल्लेख छ । म्याग्दीमा स्वास्थ्य बीमा कार्यक्रम २०७३ पुस १३ गतेबाट लागू भएको थियो । यो कार्यक्रम लागू भएको छैटौँ वर्ष चल्दै गर्दा अझै पनि जिल्लाका २५ प्रतिशत नागरिकले त्यसको सुविधा लिन पाएका छैनन् । अहिले स्वास्थ्य बीमा कार्यक्रम नेपालमा ७७ जिल्लामा लागू भएको छ ।
संखुवासभाका साहित्यकार एवं शिक्षक ताराबहादुर बुढाथोकीको ‘बाउ’ नामक उपन्यास विमोचन भएको छ । शनिबार बुढाथोकीको आख्यान कृति ‘बाउ’ नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा प्रतिष्ठानमा उपकुलपति डाक्टर जगमान गुरुङले विमोचन गर्नु भयो ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पताल अहिले बेथितिको अखडा बनेको छ । जिल्लाको सबैभन्दा पुरानो अस्पतालका रूपमा रहेको पृथ्वीचन्द्र अस्पताल सेवा प्रवाह, अस्पतालको व्यवस्थापन, सुशासन र प्रशासन व्यवस्थापन सबै हिसाबले जिल्लाकै बेथितिको अखडा बनेको मिडिया एसोसिएसन नवलपरासीका अध्यक्ष बेचु गौडले बताउनुभएको छ ।
जिल्लाको विभिन्न स्थानमा विकास निर्माणको नाममा वन फँडानी गर्ने क्रम बढेको छ । जिल्लाको तानसेन, रैनादेवी छहरा, तिनाउ, माथागढी, निस्दी गाउँपालिकाको विभिन्न स्थानमा वन फँडानी गर्ने क्रम बढेको हो ।
तारागाउँ रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरी दिएको १५० रोपनी जग्गा सरकारको स्वामित्वमा ल्याउन दिएको निर्देशन तीन वर्ष बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन। बरु विभिन्न निकायले सो विषयमा छानबिन समिति बनाउँदै प्रतिवेदन तयार गर्ने काम मात्र हुँदै आएको छ।
संसद्को शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य बीमा कार्यक्रमलाई बीमा ऐनअनुसार अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले बजेट वक्तव्यपछि निम्तिएको समस्यालाई मन्त्रिपरिषद्मा प्रस्ताव लगेर समाधान खोज्नुपर्ने बताउनुभयो ।
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या पुनः बढ्दै गएको छ । केही दिन अघिसम्म दैनिक चार जनासम्म सङ्क्रमित व्यक्ति देखिने गरेको भए पनि पछिल्ला दिनमा दैनिक चार सयभन्दा बढी सङ्क्रमितको सङ्ख्या नाघ्न थालेको छ । यसरी कोरोना सङ्क्रमण ह्वात्तै बढेपछि कतिपयले यसलाई नेपालमा कोरोनाको चौथो लहरका रूपमा लिन थालेका छन् । यद्यपि सरकारले चौथो चरणमा कोरोना पुगेको पुष्टि भने गरेको छैन ।
धौलागिरि बहुमुखी क्याम्पस बागलुङले विविए पाँचौ सेमेस्टरमा शत प्रतिशन नतिजा निकालेको छ ।
जिल्ला विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ मा उल्लेख भएअनुसार झापामा सबैभन्दा ठूूलो विपत् बाढीका कारण नै सिर्जना हुने गरेको छ । थप आगलागी, जङ्गली हात्तीको आतङ्क, सडक दुर्घटना, वर्डफ्लू, खडेरी, चट्याङआदिको खतरा वा प्रकोपको जोखिममा झापा रहेको छ । प्राकृतिक र मानव सिर्जित जुनसुकै खालका विपत्का घटनाबाट हुनसक्ने जनधनको क्षतिलाई न्युन गर्नका लागि झापा जिल्लाले २०६७ सालदेखि विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी सोहीअनुसार कार्य गर्दै आएको छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा पहिरोले विद्युत्को खम्बा ढालेपछि अन्धकार भएको छ । अविरल वर्षासँगै शुक्रबार राति फुङ्लिङ नगरपालिका–१०, फुरुम्बुको ओठेमा गएको पहिरोले विद्युत्को खम्बा (पोल) ढालेपछि गाउँ अन्धकार भएको हो । फुङ्लिङ नगरपालिका–१० का वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार अविरल वर्षाका कारण फुरुम्बुको ओठे क्षेत्रमा शुक्रबार राति करिब १२ बजेपछि पहिरो गएको थियो । उक्त पहिरोले ओठे क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनको चारवटा खम्बा ढालेपछि विद्युत् सेवा अवरुद्ध भएको र हाल फुरुम्बुको आधा बस्ती अन्धकारमय बनेको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
नेपाली वाङ्मयको श्रीवृद्धिमा काम गर्दै आएको नइ प्रकाशनले शनिबार २५ जनालाई विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरेको छ।
माछाको भुरा उत्पादन गर्ने चितवनको एक मात्र सरकारी मत्स्य विकास केन्द्र, भण्डाराले जिल्लाको ४० प्रतिशत मात्र माग पूरा गर्दै आएको छ । माछापालन गर्ने किसानको सङ्ख्या वृद्धि भएसँगै यो केन्द्रले स्थानीय मागसमेत पूरा गर्न नसकेको हो । भण्डारामा रहेको मत्स्य विकास केन्द्रबाहेक पूर्वी चितवनमा चारवटा, पश्चिम चितावनमा दुईवटा र माडीमा दुईवटा माछाका भुरा उत्पादन गर्ने ह्याचरी छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसान परिचयपत्र वितरणको गृहकार्य सुरु गरेको छ । सूचीकरण भइसकेका किसानलाई वर्गीकरण गरी त्यसलाई परिचयपत्र दिने र त्यसैको आधारमा सेवा सुविधा वितरण गर्ने तयारी भइरहेको कृषि मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयले देशभरि साढे सात लाख किसान घरपरिवारलाई सूचीकरण गरिसकेको छ । सूचीकरण गर्ने कार्य अझै जारी छ । सूचीकृत भइसकेका किसानलाई वर्गीकरण गरी किसान परिचयपत्र वितरण गर्ने मन्त्रालयका सहसचिव डा. राजेन्द्र मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “साढे सात लाख किसान घरपरिवार सूचीकरण भइसकेका छन्, सूचीकरण जारी राख्नुको साथसाथै सूचीकरण भइसकेका किसानका वर्गीकरण गरी परिचयपत्र पनि लागू गर्ने तयारी भइरहेको छ ।”
लामो समयदेखि सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधि सभामा दर्ता भएर थाती रहेको नागरिकता ऐनको संशोधन विधेयक बहुमतबाट पारित भएको छ। अब संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा पठाएर त्यहाँ पनि पारित भएमा यो कानुन बन्ने प्रक्रियामा जानेछ। यसबाट वर्षौंदेखि मुलुकमा देखिएको नागरिकतासम्बन्धी विभिन्न विषयवस्तुको समाधान हुने अपेक्षा गर्न सकिन्छ। विगत सात वर्षदेखि संसद्मा दर्ता भएर थाती रहँदा नागरिकताबारे विभिन्न समस्या सिर्जना भएका र यस सम्बन्धमा कुनै निचोडमा नपुग्दा एक किसिमको अन्योलको अवस्था थियो। फलतः वास्तविक नेपाली नागरिक पनि नागरिकता पाउनबाट वञ्चित थिए, यसबाट उनीहरूको दैनिक जीवनका क्रियाकलाप प्रत्यक्ष रूपमा प्रभावित हुने अवस्था उत्पन्न भएको थियो। रोजगारी, उच्च शिक्षा हासिल गर्न, बैङ्कमा खाता खोल्नेजस्ता आधारभूत कार्यका निम्ति नागरिकता प्रमाणपत्र अनिवार्य नै हुन्छ। नागरिकता ऐन संशोधन विधेयक पारित भएसँगै विगतमा देखापरेका कैयौँ समस्याको सम्बोधन हुनेछ। यसबाट जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता प्राप्त गर्ने मार्गप्रशस्त भएको छ। नेपालमा झन्डै दुई लाख व्यक्ति जन्मसिद्ध नागरिकताधारी छन् र यसबाट उनीहरूका सन्तानलाई वंशजका आधारमा नागरिकता प्राप्त गर्न सहज हुनेछ।