अमरराज नहर्की
तनहुँ, पुस २७ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललेले सरकारले स्वास्थ्य क्षेत्रमा जनताले अनुभूति गर्नेगरी परिवर्तन भएको बताउनु भएको छ ।
नेपाल पत्रकार महासङ्घ तनहुँले शनिबार दमौलीमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नागरिकको उपचारका लागि सहुलियत र सहज बनाएर अनुभूति दिलाएको बताउनुभयो ।
स्वास्थ्य बीमाको पहुँच र रकमको वृद्धि गरेर उपचार नपाएर मर्नुपर्ने बाध्यताको अन्त्य गर्ने कामलाई सरकारले पहिलो प्राथमिकता दिएको उहाँको भनाइ छ । बिरामीको जीवनरक्षामा मन्त्रालय सधैँ अग्रसर रहेकाले अबका दिनमा कसैले पनि पैसा अभावमा उपचार नरोकिने पौडेलले बताउनुभयो ।
स्वास्थ्य बीमालाई पाँच लाख बनाउन स्रोत व्यवस्थापनमा सरकार लागेको जानकारी दिँदै मन्त्री पौडेलले भन्नुभयो, ‘‘स्वास्थ्य बीमालाई पाँच लाख बनाउँछौं, मात्र भनेका होइनौं, कसरी स्रोत जम्मा गर्छौं भन्ने कुराको गृहकार्य गरेका छौं ।’’ नाफामूलक संस्था र नागरिकबाट उठ्ने करको केही रकम बीमा कोषमा ल्याइने उहाँले बताउनुभयो ।
जटिल रोग लागेका बिरामीलाई एक लाखले उपचार सम्भव नहुने भएकाले पाँच लाख पुगाउने उहाँको भनाइ छ । स्वास्थ्य बीमाको स्रोत व्यवस्थापनमा नागरिकको योगदानलाई सुनिश्चित हुनेगरी कार्यक्रम ल्याइने पौडेलले बताउनुभयो । नेपाली नागरिकको आफ्नो तलबबाट दुई प्रतिशत रकम बीमा कोषमा जाने व्यवस्था गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
नेपाली नागरिकले तिर्ने करको शुन्य दशमलव ५ प्रतिशत रकम बीमा कोषमा जाने व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । स्रोत व्यवस्थापन गर्ने क्षेत्रको उदाहरण दिँदै भने ‘राज्यले जुनजुन क्षेत्रमा कर र भ्याट लिन्छ यी सबै शुल्कको शुन्य दशमलव ५ प्रतिशत रकम बीमा कोषमा जाने व्यवस्था गरिनु पर्ने बताउनुभयो ।
सबै नागरीको उपचारमा पहुँच बनाउन प्रभावकारी निर्णय भएको पौडेलले बताउनुभयो । पूर्वाधार, उपकरण र जनशक्ति तीन चिज नै आवश्यक परेकाले त्यसको पूर्ति गर्न सरकार लागेको उहाँले जानकारी दिनुभयो । मन्त्री पौडेलले भन्नुभयो, “बीमाको प्रतिबेदन आइसकेको छ, कार्यान्वयन लैजानका लागि तयारी गरिरहेका छौं ।’
प्रधानमन्त्रीले प्रतिवेदन राम्रो बनेको भन्ने पतिक्रिया दिएको उल्लेख गर्दै पाँच लाखको बीमाको व्यवस्था हुने पौडेलले दाबी गर्नुभयो । छिरलिएको स्वास्थ्यको पैसा बीमा कोषमा लैजाने उहाँले बताउनुभयो । १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क हुने उपचार कार्यान्वयमा आइसकेको उदाहरण दिँदै सरकार स्वास्थ्यप्रति गम्भीर रहेको बताउनुभयो ।
क्यान्सर उपचार सेवा देशको सातै प्रदेशमा सुरु भइसकेको, मतिष्कघात हुनेलाई निःशुल्क औषधीको व्यवस्थापन गर्न लागिएको पौडेलको भनाइ थियो । पौडेलले भन्नुभयो, “सरकार बोल्ने मात्र हैन, बोलेको कुरा पूरा गर्न प्रतिबद्ध छ । सरकार गठबन्धनको भावानाअनुसार चलेको छ ।”