फडिन्द्र अधिकारी
लेखनाथ, असार ४ गते । आसपासका क्षेत्रलाई पोखरा महानगरको मुख्य बजार र राजमार्गसँग जोड्ने गरी यहाँका तीन सडक खण्ड एकै पटक स्तरोन्नति हुँदै छन् । विश्व बैङ्कको करिब साढे तीन अर्ब रुपियाँको लगानीमा तालचोकदेखि बेगनास ताल, दोबिल्लादेखि पुँडीटार र सिसुवाबाट सिसाघाट पुग्ने सडक निर्माण हुँदै छन् ।
दोबिल्लादेखि भरतपोखरी हुँदै पुँडीटार पुग्ने सडकको पछिल्लो भौतिक प्रगति ५५ प्रतिशत छ । साढे १२ किलोमिटरको यो सडकमा छ किमी जति दुईतर्फी कालोपत्रे भइसकेको छ । अहिले दोबिल्लाबाट उपल्लो पुँडीटारसम्म स्तरोन्नतिका लागि ठेक्का लागेकोमा त्यहाँबाट तनहुँको कोत्रेसम्मको साढे तीन किमी सडक पनि स्तरोन्नतिका लागि पहल भइरहेको विश्व बैङ्कका योजना हेर्ने पोखरा महानगरपालिकाका इन्जिनियर नवीन गौतमले बताउनुभयो ।
तालचोक–वेगनास सडकखण्डमा रहेको अवरोध हटिसकेको छ भने तालचोकबाट नयाँ कुलोसम्म दुवैतर्फ कालोपत्रे भइसकेको छ । यो सडक निर्माणका लागि ७५ करोड ४८ लाख ६७ हजारमा ठेक्का सम्झौता भएको छ । यो सडकमा बन्ने तीन पुलमध्ये एउटाको निर्माण सकिएको छ भने दुई पुलको प्रगति ५० प्रतिशतभन्दा माथि छ । यो सडकको प्रगति ५५ प्रतिशत हाराहारी छ । अर्को सडक सिसुवा–सिसाघाटको भौतिक प्रगति ७५ प्रतिशत छ । यो खण्डमा बन्नुपर्ने तीन कलभर्ट तयार भइसकेका छन् । अहिले यो खडकको स्तरोन्नति अहिले खुदीसम्म मात्र गर्ने गरी ठेक्का लागेको भए पनि सातमुहाने हुँदै मालेपाटनसम्म कालोपत्रे गर्नलाई पहल जारी छ । नेपाल सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तर्गत यी परियोजना बन्दै छन् । आयोजनाकै म्याद असार मसान्तमा सकिने भएकाले म्याद थपका लागि पत्राचार गरिएको इन्जिनियर गौतम बताउनुहुन्छ ।
दोबिल्ला–पुँडीटार सडक हालको पृथ्वी राजमार्गको विकल्प बन्न सक्ने स्थिति देखिएको छ । तनहुँको कोत्रेदेखि बागमारा हुँदै बिरौटा यात्राका लागि यो सडक प्रयोग हुन सक्छ । सिसुवा–सिसाघाट सडक पोखरा–मुग्लिङको बाटो समस्या आउँदा उपयोग गर्न मिल्ने सम्भावना छ । तालचोक–वेगनास ताल ३.२८ किलोमिटरको सडक भने नमुना सडकका रूपमा निर्माण गरिन थालिएको छ । फुट ट्र्याक, साइकल लेन, डिभाइडर, पार्किङसहितको यो सडकछेउमा बगैँचा, सडकबत्तीलगायतका आकर्षक पूर्वाधार बन्दै छन् ।महानगरका प्रमुख धनराज आचार्य यी सडक स्तरोन्नति हुँदा यो क्षेत्रको आर्थिक, सामाजिक विकाससहित सबै क्षेत्रमा ठुलो टेवा पुग्ने धारणा राख्नुहुन्छ । पोखरामा विश्व बैङ्क, एसियाली विकास बैङ्क, जाइकालगायतका विकास साझेदारबाट २७ अर्ब रुपियाँको लगानी भित्रिएको र विभिन्न परियोजनाको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।