• ७ जेठ २०८१, सोमबार

बाइस प्रतिशतको स्वास्थ्य बीमा

blog

म्याग्दी समाचारदाता

म्याग्दी, साउन ८ गते  । म्याग्दी स्वास्थ्य बीमा कार्यक्रम २२ प्रतिशत जनसङ्ख्याको पहुँचमा मात्रै पुग्न सकेको छ । २०७३ सालदेखि म्याग्दीमा यो कार्यक्रम लागू भएको हो । 

राज्यको नीतिअन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने संविधानमै उल्लेख छ । म्याग्दीमा स्वास्थ्य बीमा कार्यक्रम २०७३ पुस १३ गतेबाट लागू भएको थियो । यो कार्यक्रम लागू भएको छैटौँ वर्ष चल्दै गर्दा अझै पनि जिल्लाका २५ प्रतिशत नागरिकले त्यसको सुविधा लिन पाएका छैनन् । अहिले स्वास्थ्य बीमा कार्यक्रम नेपालमा ७७ जिल्लामा लागू भएको छ ।

हाल म्याग्दी जिल्लामा नौ हजार ६१९ परिवारका २६ हजार ११९ जनाले बीमाको सुविधा लिएका छन् । उक्त सङ्ख्या म्याग्दीको कुल जनङ्ख्याको २२ दशमलव ४० प्रतिशत हो । २०७८ सालको जनगणनाअनुसार म्याग्दीको जनसङ्ख्या एक लाख सात हजार ३७२ रहेको छ । यहाँका छवटै स्थानीय तहका ४५ वटै वडामा बीमा कार्यक्रम लागू भएको छ । 

स्वास्थ्य बीमा बोर्ड म्याग्दीका प्रमुख उपेन्द्र बरालका अनुसार बीमा नवीकरण गर्ने दर ७६ प्रतिशत रहेको छ । हाल चार हजार ५८६ ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा भएको छ । २८ परिवार एचआईभी सङ्क्रमित, क्षयरोग सङ्क्रमित परिवार र महिला स्वास्थ्य स्वयंसेविका परिवार १५० को बीमा भएको छ । 

बेनी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर जितेन्द्र कँडेलले स्वास्थ्य बीमा स्वास्थ्य उपचारको सन्दर्भमा निकै उपयोगी र भरपर्दो भए पनि अस्पतालले पाउनुपर्ने दाबी समयमा नपाउँदा समस्या भएको बताउनुभयो । बीमा बोर्डबाट आउनुपर्ने भुक्तानी समयमा नआउँदा बीमा सुविधा बिमितलाई दिन सोच्न पर्ने अवस्था आएको भनाइ उहाँको छ ।