• १३ असोज २०८१, आइतबार

एघार पालिका बाढीको उच्च जोखिममा

blog

विष्णुप्रसाद पोखरेल

दमक, साउन ८ गते । जिल्ला विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ मा उल्लेख भएअनुसार झापामा सबैभन्दा ठूूलो विपत् बाढीका कारण नै सिर्जना हुने गरेको छ । थप आगलागी, जङ्गली हात्तीको आतङ्क, सडक दुर्घटना, वर्डफ्लू, खडेरी, चट्याङआदिको खतरा वा प्रकोपको जोखिममा झापा रहेको छ ।

प्राकृतिक र मानव सिर्जित जुनसुकै खालका विपत्का घटनाबाट हुनसक्ने जनधनको क्षतिलाई न्युन गर्नका लागि झापा जिल्लाले २०६७ सालदेखि विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी सोहीअनुसार कार्य गर्दै आएको छ ।

विपत्को दृष्टिकोणबाट झापा जिल्ला बाढीको उच्च जोखिममा रहेको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनुभयो  । विगत पाँच वर्षको विपत् प्रभावित तथ्याङ्कको आधारमा यस वर्ष पनि १० हजार परिवारभन्दा बढी प्रभावित हुनसक्ने बाढी पूर्वानुमान शाखाको रहेको देखिएको उहाँको भनाइ छ ।

झापाका १५ वटा पालिकामध्ये ११ वटा बाढीको उच्च जोखिममा रहेको उक्त योजना तयार पार्दा देखिएको छ । दमक, शिवसताक्षी, गौरादह, कनकाई, अर्जुनधारा र भद्रपुर नगरपालिका बाढीको उच्च जोखिममा रहेका छन् । यसैगरी कमल, गौरीगञ्ज, झापा, बाह्दशी र कचनकवल गाउँपालिका पनि बाढीको उच्च जोखिममा रहेको उल्लेख छ ।

जिल्लाका कनकाई, रतुवा, विरिङ, कमल÷बनियानी, मेची, निन्दा, हडिया, टाइटिङ/नेतेलगायतका खोलाहरूमा आउने बाढीका कारण जिल्लाका धेरै पालिकाहरूमा उच्च जोखिम पैदा भइरहेको छ । मेचीनगर र बिर्तामोड नगरपालिकालाई मध्यमस्तरको जोखिम रहेको पालिकाका रूपमा उल्लेख गरिएको छ । हल्दिबारी र बुद्धशान्ति गाउँपालिका भने न्यून जोखिममा रहेको पाइएको छ ।

जिल्लास्तरीय विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जूमा प्रक्रियाका लागि २०७९ जेठ २५ गते सरोकारवालाबीच बैठक सम्पन्न भएर त्यसैको सुझावको आधारमा आवश्यक तयारी र योजना बनाइएको पनि उहाँले बताउनु भयो । सबै निकायको सल्लाह र सुझावको आधारमा विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार भएको रिजालको भनाइ छ ।

विपत्मा परी प्रभावित हुनसक्ने तथा भएका समुदायलाई प्रभावकारी ढङ्गले समयमा नै सुसूचित गर्ने, प्रभावित समुदायलाई तत्काल राहत तथा उद्धार सेवा प्रदान गर्नु र सम्भावित क्षति हुनसक्ने अवस्थाबाट समुदायलाई जोगाउनु यस योजनाको मुख्य उद्देश्य रहेको पनि प्रमुख जिल्ला अधिकारी रिजालले बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटीका लोकराज ढकालका अनुसार जिल्लाको विपत्, सङ्कटासन्नता, क्षमताको विश्लेषण तथा खतराको वर्गीकरण, बाढी प्रतिकार्यका सिकाइ तथा अनुभव आदानप्रदान र त्यसको आधारमा योजनाको खाका तयार गर्ने, जिल्लास्तरीय विपत् पूर्वतयारी तथा प्रतिकार्य योजनाको खाकामा प्रष्टता ल्याई उक्त खाकाअनुसार पालिकास्तरीय अद्यावधिक सूचना सङ्कलन गर्ने योजनालाई पूर्णता दिने काम भएको छ ।

जोखिमयुक्त गाउँपालिका र नगरपालिकामा बाढी पूर्व चेतावनीका लागि माइक, साइरन तथा साइकल एक थानका दरले उपलब्ध गराउने वा अघिल्लो वर्षको व्यवस्थालाई अध्यावधिक गर्ने कार्य पनि भएको बताइएको छ ।