अमरराज नहर्की
तनहुँ, फागुन २३ गते । तनहुँको निर्वाचन क्षेत्र नम्बर २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो बलियो उपस्थिति देखाएको छ । मतगणनाको पछिल्लो परिणाम अनुसार रास्वपाका उम्मेदवार इन्जिनियर श्रीराम न्यौपानेले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै निरन्तर अग्रता कायम राख्नुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल ३१ हजार ९६१ मतगणना सम्पन्न हुँदा न्यौपानेले १८ हजार ४५५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार एवम् निवर्तमान सांसद शङ्कर भण्डारीले सात हजार ९५६ मत पाउनुभएको छ । न्यौपाने र भण्डारीबीचको मतान्तर १० हजार ४९९ पुगेको छ ।
त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार केदार सिग्देल पाँच हजार ५५० मतका साथ तेस्रो स्थानमा खुम्चिनुभएको छ । जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका अनुसार तनहुँ क्षेत्र नम्बर २ मा कुल एक लाख २७ हजार ५१५ मतदाता रहेका थिए, जसमा ६६ हजार ६९८ मत खसेको थियो । हालसम्म करिब ४८ प्रतिशत मतगणना सकिँदा रास्वपाका न्यौपानेले सुरुवाती देखि नै निरन्तर अग्रता लिनु भएको छ ।