सिप्रदी ट्रेडिङ प्रालिले लोकोन्याभ नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । लोकोन्याभ उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन हो, जसले गाडीलाई प्रभावकारी रूपले व्यवस्थापन गर्न मद्दत पु-याउने गरेको प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताउनुभयो ।
आर्थिक वर्ष २०७८/७९ मा तातोपानी नाकाबाट लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन भएको छ । एक अर्ब ४६ करोड लक्ष्य राखिएकामा तीन अर्ब ४२ करोड राजस्व सङ्कलन भएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिनुभयो । अघिल्ला आर्थिक वर्षमा चार अर्ब ५० करोड लक्ष्यमा एक अर्ब दुई करोड सङ्कलन भएको उक्त कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षमा चार अर्ब ६२ करोड लक्ष्य लिइएको प्रमुख गौतमले बताउनुभयो । २०७२ वैशाख १२ गतेको भूकम्पपछि आयातमा कमी आएपछि तातोपानी नाकाबाट राजस्व सङ्कलनमा कमी आइरहेको छ ।
सोमबार मनसुनी प्रणाली सक्रिय हुने भएकाले देशैभर बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर भएपनि मनसुनी प्रणाली सक्रिय हुने महाशाखाले जनाएको छ ।
भारतको बथनाहा–कटहरी रेलवे विस्तार योजनाअन्तर्गत विराटनगरसम्म कार्गो रेल सञ्चालन गर्न भारतीय पक्ष तयार देखिएको छ । नेपालले प्रशासनिक प्रक्रिया पूरा गरे सम्झौताअनुसार सम्पन्न सात किलोमिटर दूरीमा कार्गो रेल ल्याउन सकिने भारतीय पक्षले जनाएको हो ।
कर्णाली कोरिडोरको हिल्सा–सिमकोट सडक खण्डअन्तर्गत निर्माणाधीन पक्की पुलको निर्माण कार्य सुस्त भइरहेको छ । सो सडक खण्डमा चारवटा पुल निर्माण भइरहेका छन् । सिमकोट गाउँपालिका–७ का प्रकाश शाहीले उत्तरी हुम्लामा पर्ने हिल्सा–सिमकोट सडक खण्डका चारवटा पुलको निर्माण कार्य सुस्त गतिमा भइरहेको बताउनुभयो । उहाँका अनुसार यी पुल चार/पाँच वर्षयता निरन्तर निर्माण भइरहेका छन् । काम भए पनि निकै सुस्त गतिमा भइरहेकाले पुल निर्माण कार्य छिटै सम्पन्न हुनेमा शाहीले शङ्का व्यक्त गर्नुभयो ।
पाल्पाको रिब्दीकोट–२, लघुवामा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत भएको छ । आइतबार बेलुकी साढे ४ बजेतिर भएको बस दुर्घटना हुँदा ६ जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो ।
पहिरोले घर भत्किएपछि अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीया हिरकला विष्ट, २५ वर्षीय विरेन्द्र विष्ट र १५ वर्षीय संविधान विष्ट रहेको प्रहरीले जनाएको छ ।
गायिका मञ्जु पौडेलले तीज गीत ‘बाबाको आँगनी...’ सार्वजनिक भएको छ। आफ्नो आमाको सम्झनामा गायिका पौडेलले गीत तयार पार्नुभएको हो। मञ्जुको स्वर रहेको गीतमा शब्द शिव हमालले लेख्नुभएको छ। मञ्जु पौडेल र अनुषा पौडेल देखिनुभएको गीतमा दुर्गा पौडेलको निर्देशन रहेको छ।
महोत्तरी जिल्लाको गौशाला नगरपालिका–६, फुलकाहा बस्ने ७५ वर्षीया सागरदेवी यादव आफ्नै छोरी र ज्वाइँले आफूलाई घर न घाटको बनाएको भन्दै न्यायका लागि भौँतारिरहनुभएको छ। उहाँले आफूलाई छोरा नभएकोले बुढेसकालमा छोरी र ज्वाइँले सेवा गर्लान् भनेको उनीहरूले नै उठिबास लगाएको बिलौना गर्दै दोषीलाई कारबाही गरी न्यायका लागि सबैलाई गुहार्नुभएको छ।
इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्ने सम्भावनाका बारेमा आवश्यक छलफल अघि बढाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण कम्पनी टाइगर डेकाटुरसँग प्लेटमा नेपाली भाषा लेख्ने सम्भावनाका बारेमा छलफल सुरु गरेको हो।
प्रतिनिधि सभाका पछिल्ला बैठकमा गणपूरक सङ्ख्या नपुग्ने समस्या देखिन थालेको छ। संसद्मा एकै दिनमा तीन पटकसम्म गणपूरक यकिनको माग उठेको छ। त्यसमा पनि प्राविधिक रूपमा दुई/चार जना सदस्य बढी उपस्थित भएर गणपूरक सङ्ख्या पुग्ने गरेको छ। आइतबार एक घण्टाको अवधिमा तीन पटक सङ्ख्या यकिनको माग भयो। जसमा दुई पटक गणपूरक सङ्ख्या नै पुगेन। असार २२ गते पनि एकै दिन तीन पटक गणपूरक सङ्ख्या यकिन माग भएको थियो। त्यसयता पनि हरेक बैठकमा गणपूरक सङ्ख्यामा समस्या भइरहेको छ।
बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको विवाद छानबिनका लागि गठित संसदीय विशेष समितिलाई थपिएको म्याद सकिन चार दिन बाँकी हुँदासम्म ठोस प्रमाण फेला परेको छैन। समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा, सचिवद्वय मधुकुमार मरासिनी र कृष्णहरि पुष्कर लगायतसँग छलफल गरिसकेको छ तर सम्बद्ध राजनीतिक नेतृत्व र कर्मचारीले आरोप अस्वीकार गरेका छन्। समितिले डिलिट भइसकेको भनिएको सीसीटीभी फुटेज रिकभरी प्रक्रियामा पठाए पनि प्रतिवेदन पाइसकेको छैन। अहिलेसम्म कुनै ठोस प्रमाण फेला नपरेपछि अध्ययनलाई नयाँ कोणबाट समितिले अघि बढाएको छ।
कोभिड–१९ ले नेपालको पर्यटन व्यवसाय शिथिल भइरहेका बेला सरकारले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने तयारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना आइतबार सार्वजनिक गर्दै पर्यटन व्यवसाय उत्थानसम्बन्धी महìवाकाङ्क्षी योजना घोषणा गरेको हो।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालगायतका सत्ता गठबन्धन दलका नेतृत्वसमक्ष विभिन्न माग राखी ध्यानाकर्षण पत्र बुझाएको छ। प्रतिनिधिमण्डमा सहभागी मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहका अनुसार आइतबार विभिन्न माग राख्दै प्रधानमन्त्री देउवा र अन्य राजनीतिक दलका शीर्ष नेतृत्वसमक्ष ध्यानाकर्षण पत्र बुझाएको हो।
विश्व स्वास्थ्य सङ्गठनले मङ्किपक्स भाइरसलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ । मङ्किपक्सको प्रकोप विश्वव्यापी हुँदै गएपछि सङ्गठनले विश्वव्यापी आपत्काल घोषणा गरेको हो । मङ्किपक्सको प्रकोप विश्वका ७५ देशमा फैलिइसकेको छ भने हालसम्म पाँच जनाको मृत्यु भएको छ । यस्तै १६ हजारभन्दा बढी मानिसलाई मङ्किपक्सको पुष्टि देखापरेको छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ‘मङ्किपक्स भाइरस’ नेपालमा पुष्टि नभए पनि जोखिम भने रहेको बताउनुभयो ।