गोरखापत्र अनलाइन
दाङ, पुस २७ गते । नेकपा (एमाले) का महासचिव एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले माघी पर्वलाई प्रदेशको ऐतिहासिक र गौरवपूर्ण पर्वका रूपमा मनाउन आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल लोकतान्त्रिक थारु संघले आयोजना गरेको मघौटा सांस्कृतिक मेलाको शनिबार उद्घाटन गर्दै महासचिव पोखरेलले थारु समुदायको सांस्कृतिक महत्त्वलाई उच्च सम्मान गर्दै माघी पर्वलाई थारु संस्कृतिको पहिचान मात्र नभई समृद्ध नेपालको निर्माणमा प्रेरणाको स्रोतका रूपमा लिनुपर्ने बताउनुभयो ।
थारु समुदायको योगदान र संस्कृति नेपाली समाजको केन्द्रबिन्दु भएको उल्लेख गर्दै महासचिव पोखरेलले आफू मुख्यमन्त्री भएको समयमा लुम्बिनी प्रदेश सरकारले माघी पर्वलाई ऐतिहासिक र गौरवपूर्ण पर्वका रूपमा मनाउन सुरुवात गरेको स्मरण गर्नुभयो । यस परम्परालाई अझ सशक्त रूपमा निरन्तरता दिनुपर्ने उहाँको सुझाव छ ।
महासचिव पोखरेलले थारु समुदायको परम्परागत कृषि प्रणालीलाई आधुनिकतामा रुपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले समुदायको आर्थिक सुधार र समृद्धिका लागि कृषि पद्धति परिवर्तन गर्न आवश्यक भएको बताउनुभयो । “थारु समुदायले परम्परादेखि गर्दैआएको कृषि प्रणालीमा नयाँ सोच र प्रविधिको उपयोग गर्दै रुपान्तरण गर्नुपर्छ” उहाँले भन्नुभयो ।
थारु समुदायको नेतृत्वमा समाज रुपान्तरणको सम्भावना रहेको उल्लेख गर्दै पोखरेलले भन्नुभयो, “समाजको आर्थिक र सामाजिक परिवर्तनको नेतृत्व गर्न थारु समुदायले आफ्नो जीवनशैलीलाई बदलेर समृद्धिको संकल्प गर्नुपर्छ ।” थारु समुदायका अगुवालाई छलफल र विमर्शमार्फत् नयाँ सोच र रणनीतिमा अगाडि बढ्न आग्रह गर्नुभयो ।
थारु समुदायको संस्कृति नेपाली संस्कृतिको आधारभूत हिस्सा भएको बताउँदै महासचिव पोखरेलले यसलाई जगेर्ना गर्दै आधुनिक सन्दर्भमा अझ सशक्त बनाउनु पर्ने धारणा राख्नुभयो । “थारु संस्कृतिले नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय मञ्चमा पनि हाम्रो पहिचान बनाएको छ । यसलाई हामीले गर्व गर्नुपर्छ” उहाँले भन्नुभयो ।
माघी पर्वले थारु समुदायको ऐतिहासिक र सांस्कृतिक योगदानलाई सम्मान गर्न सक्ने मात्र नभई, प्रदेश र देशको एकता र समृद्धिका लागि समेत प्रेरणा दिने पोखरेलको धारणा छ । थारु समुदायले आफ्नो सांस्कृतिक मूल्य मान्यता जोगाउँदै समृद्धिको यात्रामा अघि बढ्दा समाजका सबै वर्गलाई समेट्ने परिवर्तनकारी नेतृत्व प्रदान गर्न सक्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
माघी पर्व केवल उत्सव मात्र नभई थारु समुदायको आर्थिक, सांस्कृतिक र सामाजिक रुपान्तरणको संकेत गर्दै महासचिव पोखरेलले यस पर्वलाई प्रदेशभरको साझा उत्सवका रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै लुम्बिनी प्रदेशलाई समृद्धिको यात्रामा अघि बढाउन थारु समुदायको योगदान महत्वपूर्ण हुने बताउनुभयो ।
थारु समुदायले आफ्नो जीवनशैली र आर्थिक प्रणालीमा रुपान्तरण गरेर समृद्ध नेपाल नेतृत्व गर्न सक्ने उल्लेख गर्दै पोखरेलले समाज रुपान्तरणको प्रक्रियामा सहभागी हुन सबैलाई आह्वान गर्नुभयो।