• १३ साउन २०८१, आइतबार

नेपाल भ्रमण दशककोे तयारी

blog

मीनराज भण्डारी 

काठमाडौँ, साउन ९ गते  । कोभिड–१९ ले नेपालको पर्यटन व्यवसाय शिथिल भइरहेका बेला सरकारले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने तयारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना आइतबार सार्वजनिक गर्दै पर्यटन व्यवसाय उत्थानसम्बन्धी महत्त्वाकाङ्क्षी योजना घोषणा गरेको हो।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा गर्नुभएको ‘रिकभरी प्लान’ अनुसार मन्त्रालयले ७३ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ। सरकारले नेपाललाई विश्वको एक पर्यटन आगमनको केन्द्र बनाउने तयारीअनुसार अबको एक दशकलाई नेपाल भ्रमण वर्ष मनाउने तयारी गरेको हो। कार्ययोजना सार्वजनिक गर्दै पर्यटनमन्त्री श्रेष्ठले भ्रमण दशकबारे प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकारात्मक रहनुभएको बताउँदै यो योजना पर्यटन मन्त्रालयको मात्रै नभएर सरकारको नै एक महत्त्वपूर्ण अभियान रहने बताउनुभयो। 

नेपालमा पर्यटकलाई थप आकर्षित गर्न पर्यटन नीति २०६५, हवाई नीति २०६३, पर्यटन ऐन, २०३५ र पर्वतारोहण २०५९ लगायतका कानुनलाई समसामयिक संशोधन गरेर भ्रमण दशकलाई सफल पार्ने सरकारले तयारी गरेको छ। भ्रमण दशक सफल पार्न गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याई हिमाल आरोहणका लागि पाँच हजार आठ सय मिटरदेखि आठ हजार मिटरसम्मका थप हिमचुली आरोहणका निम्ति छ महिनाभित्र खुला गर्नेसमेत मन्त्रालयको तयारी छ। 

सरकारले नेपाललाई विश्वको एक पर्यटन आगमनको केन्द्र बनाउने तयारीअनुसार अबको एक दशकलाई नेपाल भ्रमण वर्ष मनाउने तयारी गरेको हो । 

त्यस्तै गैरआवासीय नेपाली सङ्घको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’ चलाउँदै छिमेकी मुलुकमा पर्यटक प्रवद्र्धन गर्ने मेला तथा ‘रोड सो’जस्ता कार्यक्रम सुरु गर्ने मन्त्रालयले जनाएको छ। नेपालमा पर्यटकको बसाइ लम्ब्याउन काठमाडौँ उपत्यकाभित्र रात्रिकालीन सम्पदा यात्रासमेत सञ्चालनमा ल्याइनेछ। 

मन्त्रालयले पहाडी तथा हिमाली क्षेत्रमा मनोरञ्जनात्मक तथा साहसिक पर्यटनका लागि ‘हिल स्टेसन’ विकास गर्ने, सगरमाथा क्षेत्रमा पर्वतारोहण अनुसन्धान केन्द्र र शेर्पा समुदायको साहसिक पहिचान झल्किने सङ्ग्रहालय स्थापना गर्ने, प्रमुख पर्यटकीय क्षेत्रमा सडक, खानेपानी, शौचालय, निःशुल्क इन्टरनेटलगायतका प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने योजनासमेत अगाडि सारेको छ।

त्यस्तै तीन महिनाभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान कक्षमा ‘ड्युटी फ्री सप’ सञ्चालनमा ल्याउने, विमानस्थलको प्रस्थान कक्षमा नेपाली हस्तकला र नेपाली मदिरा ब्रान्ड बिक्री गर्ने व्यवस्थासमेत मन्त्रालयको तयारी छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको सुविधाका लागि खाद्य तथा पेय पदार्थ किन्न भेन्डिङ मेसिन राखिने भएको छ। विमानस्थलमा धेरै पर्यटक आउने प्रमुख मुलुकका नागरिकले बोल्ने भाषाका लागि एक महिनाभित्र सहयोगी र डिजिटल सूचना पाटी राखिने भएको छ।आधार शिविरबारे अध्ययन समितिसरकारले सगरमाथा आधार शिविरबारे अध्ययन गर्न समिति गठन गर्ने भएको छ।

नेपालमा पर्यटकको बसाइ लम्ब्याउन काठमाडौँ उपत्यकाभित्र रात्रिकालीन सम्पदा यात्रासमेत सञ्चालनमा ल्याइनेछ ।

सगरमाथा आधार शिविरको ऐतिहासिकता, वर्तमान अवस्था र भविष्यको जोखिम सम्बन्धमा अध्ययन गर्न सगरमाथा आधार शिविर अध्ययन समिति गठन गर्ने तयारीमा मन्त्रालय रहेको छ। सो समितिको प्रतिवेदनको सुुझावअनुसार आधार शिविरको वैज्ञानिक व्यवस्थापन गरिने मन्त्रालयले जनाएको छ। जलवायु परिवर्तनको असरसंँगै सगरमाथा आधार शिविरमा मानवीय गतिविधि बढ्दै जाँदा शिविर मासिने क्रम बढेपछि त्यसलाई सार्ने तयारी गरिएको हो। 

पर्वतारोहण व्यवसायको दिगोपनका लागि हिमाली क्षेत्रमा देखिएको समस्याले सिङ्गो पर्यटकीय क्षेत्र नै प्रभावित हुन थालेपछि आधार शिविर सार्ने तयारी भइरहेको छ। मन्त्रालयका अनुसार पाँच हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविरलाई बाह्रैमास हिउँ नपर्ने ठाउँमा सार्ने तयारी गरिएको छ।