रसुवाको सदरमुकाम धुन्चेस्थित कारागारबाट ९८ जना कैदीबन्दी फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेमबहादुर शाहीका अनुसार रिहाइको माग राख्दै निरन्तर हड़तालमा रहेका कैदीहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरू कारागार तोडेर भागेका हुन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अवस्थालाई आफूले नजिकबाट नियालिरहेको उल्लेख गर्दै विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा गर्न आग्रह गर्नुभएको छ ।
महाराजगन्जस्थित भाटभटेनी सुपर मार्केटमा लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन् ।
पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जामा पाँच पालिकाले अनिश्चित कालका लागि पालिका बिदा गरेका छन्।
देशव्यापी आन्दोलनमा उत्रेको जेनजी पुस्ताले ताप्लेजुङमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय तोडफोड गरेका छन् ।
जेनजीको नाममा बर्दीबास १ स्थित सङ्घीयमन्त्री शरदसिंह भण्डारीको घर, वडा नं ३, गौरीडाँडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय र मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज यादवको घरमा तोडफोड र आगजनी भएको छ ।
जेनजीको प्रदर्शनका कारण जिल्लाका राजविराज नगरपालिका, खड्क नगरपालिका, कञ्चनरूप नगरपालिका बोदेबरसाइन नगरपालिका लगायत जिल्लाका एक दर्जन गाउँपालिका नगरपालिकाको कार्यालय तोडफोड र आगजनी गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँझ ६ बजेसम्म बन्द रहने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शर्पाका अनुसार पछिल्लो समय उत्पन्न भएको असमान्य परिस्थितीका कारण विमानस्थल बन्द गरिएको हो ।
महोत्तरीको जलेश्वर कारागारबाट मङ्गलबार साँझ ५७२ जना कैदीहरू भागेका छन् । प्रहरीका अनुसार कारागार बाहिर रहेका प्रदर्शनकारी र भित्रका कैदीहरूले संयुक्त रूपमा कारागारको पर्खाल भत्काएपछि उनीहरू फरार भएका हुन् ।
भदौ २५ गते (आज) १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागु गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जानकारी दिनुभयो ।
महोत्तरी जिल्लाभरि लगाइएको कर्फ्यू आदेशलाई निरन्तरता दिइएको छ।
नेपालमा उत्पन्न जटिल परिस्थितिका कारण अलपत्र परेका विदेशी नागरिकले नजिकको सुरक्षा निकाय वा तैनाथ सुरक्षाकर्मीहरुसँग सम्पर्क गर्न नेपाली सेनाले अनुरोध गरेको छ ।
नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा लुटिएका वा फेला परेका हातहतियार, गोलीगठ्ठा एवम् अन्य सुरक्षा सामग्री नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको छ ।
जिल्लाको मैवाखोला गाउँपालिका–६, च्यानडाँडामा आज बिहान पहिरो खस्दा दुई वटा घर पुरिएका छन्भने दुई जना बेपत्ता भएका छन् ।
मङ्गलबार दिनभर तनावग्रस्त सप्तरी सदरमुकाम राजविराज अनिश्चितकालीन कर्फ्युको आदेशपछि बुधबार सुनसान देखिएको छ ।