अजय शाह
गौशाला (महोत्तरी), भदौ २५ गते । महोत्तरीको जलेश्वर कारागारबाट मङ्गलबार साँझ ५७२ जना कैदीहरू भागेका छन् । प्रहरीका अनुसार कारागार बाहिर रहेका प्रदर्शनकारी र भित्रका कैदीहरूले संयुक्त रूपमा कारागारको पर्खाल भत्काएपछि उनीहरू फरार भएका हुन् ।
घटना साँझ करिब ७ बजे भएको हो । करिब पाँच सयभन्दा बढी लाठीसहितका प्रदर्शनकारीहरूले भित्रका कैदीहरूसँग हातेमालो गरेका थिए । कैदीहरूले भान्सामा प्रयोग हुने दाउराको सहायताले पर्खाल भत्काएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्मा बताउनुभयो ।
फरार कैदीबन्दीको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक शर्मा जानकारी दिनुभयो ।