राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले कर छुटले सरकारको ऋण मात्र बढाउने काम गरेको बताउनुभएको छ ।
काठमाडौँ, जेठ १२ गते । डाक्टर सन्दुक रुइतलाई शेर्पा किदुक अमेरिकाले ५० हजार १ डलर सहयोग गरेको छ । किदुकको सदस्यहरूबाट सङ्कलित उक्त रकम एक कार्यक्रम गरी सम्मान सहित रुइतलाई हस्तान्तरण गरेका थिए । ‘डा. सन्दुक रुइतले आँखा उपचारको क्षेत्रमा विश्वविख्यात काम गरेको भन्दै किदुकले सम्मान सहित सहयोग गरेको शेर्पा किदुक संरक्षक समितिका संयोजक ल्हाक्पा रिन्जी शेर्पाले बताउनुभयो । उता हिमालयन होप नेटवर्क संस्थाद्वारा सङ्कलित ५ हजार ७ अमेरिकी डलर पनि शेर्पा किदुकमार्फत हस्तान्तरण गरिएको थियो । उक्त रकम डा रुइतको कार्यको लागि स्वयंसेवक र कोष सङ्कलनमा आगामी दिनमा अझ सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । डा. रुइतले आफ्नो अमेरिका भ्रमण नेपालको सफल चिकित्सा अनुभव र दृष्टि पुनः स्थापनाको मोडललाई हार्वर्ड, स्ट्यानफोर्ड, ब्राउन, बास्कम पाल्मरजस्ता विश्व स्तरीय संस्थाहरूसँग साझेदारी गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने रहेको बताउनुभयो । नेपालमै अत्याधुनिक इन्ट्रकुलर लेन्स उत्पादन गर्ने कारखाना स्थापना गरी विश्वभर निर्यात गर्ने र प्राप्त नाफाबाट आर्थिक रूपले कमजोर समुदायका लागि निःशुल्क आँखा उपचारको दीर्घकालीन योजना अघि बढाउने योजना अघि सारेको समेत उहाँले बताउनुभयो । उक्त योजनाका लागि झन्डै ८ मिलियन अमेरिकी डलर आवश्यक पर्ने जानकारी दिनुहुँदै उहाँले हालसम्म ३ मिलियन डलर सङ्कलन भइसकेको र बाकी ५ मिलियन जुटाउन नेपाली समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनु भएको थियो ।
छिमेकी मुलुक भारत विश्वकै चौथो ठुलो अर्थतन्त्र भएको मुलुक बनेको छ । यसअघि चौथो स्थानमा रहेको जापानलाई पछि पारेर भारतले उक्त स्थान लिएको भारतको नीति आयोगका प्रमुख कार्यकारी बिभिआर सुब्रह्मण्यमले बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
भिजिट भिसाको आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट हुने गरेको मानव तस्करीका घटना र आर्थिक लेनदेनबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान सुरु गरेको छ ।
सप्तरी जिल्लामा नयाँ प्रजातिको चरा फेला परेको छ । सप्तरी जिल्लास्थित कोशी बाँधको पिनटावरमा नयाँ प्रजातिको चरा ‘छोटो पुच्छ्रे समुद्री चरा’ ( सर्ट टेल सिर वाटर) अभिलेख गरिएको हो ।
तनहुँ, जेठ १२ गते । तनहुँको व्यास नगरपालिका–६ शिशाघाटस्थित महेन्द्रज्योति माध्यमिक विद्यालयमा बौद्धिक अपाङ्गता विद्यार्थी अध्ययन गर्ने भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको छ । भवनको छानो चुहिँदा वर्षायाममा पठनपाठनमा समस्या हुँदै आएको छ । वर्षायाम सुरु भएको र टिनमा ठूला–ठूला प्वालले पढाउँदा पढाउँदै पानी पर्दा समस्या भइरहेको अपाङ्गता स्रोत कक्षाका शिक्षक शिव ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कहिले हावाहुरीले छानो उडाइदिन्छ, उडाएको छानो ल्याएर पुनः छाउने काम पनि ग¥र्यौ, जस्तापाताको प्वालले पानी चुहिने समस्या छ ।”गत वर्षको हावाहुरीले भवनको जस्तापाता उठाएको थियो । उडाएको जस्तापाता खोजेर ल्याएर पुनः छाउने काम गरिएको उहाँको भनाइ छ । विद्यालयको स्रोतकक्षामा ११ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययनरत छन् । धादिङ घर भएका दीपक गुरुङ परिवारसहित पोखरा पुगेका थिए । ज्याला मजदुरी गर्ने उनको परिवार काममा जाँदा बौद्धिक अपाङ्गता उनी बेवारिसे अवस्थामा पोखरा बजारमा भेटिएका थिए । हाल उनी विद्यालयको अपाङ्गता स्रोतकेन्द्रमा आवासीय रुपमा अध्ययन गरिरहेका छन् । तनहुँका रिमबहादुर नेपाली सानै छँदा बौद्धिक अपाङ्गता भएको थाहा पाएपछि बाबुआमाले छाडिदिएका थिए । हजुरआमाले लालनपालन गरेका उनलाई पछि यहीँ स्रोतकेन्द्रमा ल्याएर भर्ना गरिएको थियो । स्रोतकेन्द्रका कर्मचारी साधन श्रेष्ठका अनुसार यहाँ विभिन्न ठाउँका अपाङ्गता भएका विद्यार्थी आवासीय रुपमा अध्ययन गरिरहेका छन् । विद्यालयका प्रधानाध्यापक हरिराज काफ्लेले स्रोत साधन अभावमा बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययन गर्ने भवनको मर्मत गर्न नसकिएको बताउनुभयो । उहाँले विद्यालयमा रिक्त रहेको स्रोत शिक्षक दरबन्दी पदपूर्ति समेत हुन नसकेको बताउनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूसँग गत वैशाखमा भएको सहमति कार्यान्वयन गर्ने विषयमा सरकारले शिक्षकसँग थप वार्ता भइरहेको बताउनुभएको छ ।
काठमाडौँ, जेठ १२ गते । युवालाई श्रमको सम्मान भाव जगाउने उद्देश्यले विराटनगरमा आयोजना गरिएको सीप उत्सव २०८२ बाट उत्कृष्ट तीन जना स्कील्स् आइकन्स घोषित हुनुभएको छ । उत्कृष्ट हुनेमा अटोमोबाइल तर्फ मनमोहन स्मृति पोलिटेक्निकका प्रशिक्षार्थी चन्द्रदेव यादव, होटेल म्यानेजमेन्ट तर्फ नरबहादुर कर्माचार्य बहु प्राविधिक शिक्षालयका विवश कोइराला र सूचना प्रविधि (आइटी) तर्फ पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठानकी सोनाम नेम्वाङ रहनु भएको छ । औद्योगिक प्रशिक्षार्थी स्किल्स् आइकनका लागि होटेल म्यानेजमेन्ट, अटोमोबाइल तथा सूचना प्रविधि (आइटी) क्षेत्रका युवाबिच प्रतिस्पर्धा गराइएको थियो । यसमा कोशी प्रदेशमा प्राविधिक व्यावसायिक शिक्षा र तालिम दिने सात वटा संस्थाबाट छनौट भएका १६ जना प्रतिस्पर्धीमध्येबाट तीन जना प्रशिक्षार्थी उत्कृष्ट भएका हुन् । कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयसितको समन्वयमा उद्योग सङ्गठन मोरङ तथा इन्स्योर परियोजनाले संयुक्त रूपमा आयोजना गरेको सीप उत्सवमा श्रम तथा रोजगारीबारे वृत्ति, परामर्श र विभिन्न पेसाकर्मीका सफलताका कथा, लगायत लाइभ टेनिङ गराइएको उद्योग सङ्गठन मोरङका महानिर्देशक चूडामणि भट्टराईले बताउनुभयो । कार्यक्रमले युवाहरूमा सीप सिक्नका लागि प्रेरणा जगाएको इन्स्योर परियोजनाका घनश्याम लिम्बुले बताउनुभयो । यस कार्यक्रमलाई आगामी बर्सहरूमा अझै परिष्कृत गर्दै, प्रभावकारी बनाउँदै लैजाने योजना छ ।
पर्सा, जेठ १२ गते । यातायात व्यवस्था कार्यालय बारा कलैयाले चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्मको अवधिमा रु आठ करोड २१ लाख ७० हजार १३२ राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले चालु आवको १० महिनाको अवधिमा उत्साहप्रथ ढङ्गले राजस्व सङ्कलन गर्दै आइरहेको जानकारी दिनुभयो । “कार्यालयले औषतमा मासिक रु ६१ लाखको हाराहारीमा राजस्व सङ्कलन गर्दै आइरहेको छ”, उहाँले भन्नुभयो । कार्यालयले चालु आवमा सबैभन्दा धेरै राजस्व सवारीसाधन करतर्फ रु तीन करोड ८३ लाख ८७ हजार २६७ रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवमा सवारी चालक अनुमतिपत्र पास नयाँतर्फ रु एक करोड ६९ लाख ६५ हजार राजस्व सङ्कलन गरेको छ । त्यस्तै अनुमतिपत्र पास थपतर्फको शीर्षकमा रु २८ लाख ४२ हजार राजस्व सङ्कलन गरेको छ । अनुमतिपत्र दर्ता नयाँ शीर्षकमा भने रु ८३ लाख ७६ लाख राजस्व सङ्कलन भएको छ ।त्यस्तै अनुमतिपत्र दर्ता थप शीर्षकमा रु ३३ लाख ६२ हजार, अनुमतिपत्र नवीकरणतर्र्फ रु २७ लाख १६ हजार, सवारी विविधतर्फ रु आठ लाख २८ हजार ९५० राजस्व सङ्कलन गरेको छ । त्यस्तै आयकरतर्फ रु आठ लाख ६० हजार ५२५ र पटके करतर्फ रु ३९ लाख ९२ हजार ४० रकम राजस्व सङ्कलन गरेको छ ।
काठमाडौँ, जेठ १२ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ १८ पैसा र बिक्रीदर १८४ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १९ पैसा र बिक्रीदर चार रुपैयाँ २० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ १६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २७ पैसा र बिक्रीदर १४ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७३ पैसा र बिक्रीदर २० रुपैयाँ ८२ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७ रुपैयाँ ४५ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ९९ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ४७ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपैयाँ ८४ पैसा र विक्रीदर ३५५ रुपैयाँ ४० पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
कञ्चनपुर, जेठ १२ गते । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट यहाँका थारु समुदायका एक हजार ८४२ जनाको रगत परीक्षण गरेकोे छ ।सिकलसेल एनिमिया तथा थालेसिमिया रोग पहिचान तथा निदान गर्ने उद्देश्यले आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट उक्त सङ्ख्यामा रगत परीक्षण गरिएको स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार पुनर्वास नगरपालिका र भीमदत्त नगरपालिकाका थारु समुदायको बसोबास रहेका छ वटा वडामा रगत परीक्षण गरिएको थियो । जसमा १९७ जनामा सिकलसेल एनिमिया ‘पोजेटिभ’ देखिएको छ । “थारु समुदायलाई लक्षित गरेर यहाँका दुई पालिकाका छ वटा वडामा निःशुल्क रगत परिक्षण गरेका थियौँ”, भट्टले भन्नुभयो । उहाँले रगत परीक्षण गर्दा पोजेटिभ देखिएका नमूनालाई धनगढीस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएको बताउनुभयो । “पोजेटिभ देखिएका व्यक्तिहरुको रगतको अन्तिम जाँच गरी सिकलसेल एनिमिया भए÷नभएको पुष्टि हुन्छ”, भट्टले भन्नुभयो, “जाँचको अन्तिम रिपार्ट आउन समय लाग्छ ।” उहाँका अनुसार पुनर्वास नगरपालिका–१ मा ४१४ जनाको परीक्षण गर्दा ३४ जनामा पोजेटिभ देखिएको थियो । पुनर्वास नगरपालिका–५ मा २६५ जनाको परीक्षण गर्दा २० जनामा पोजेटिभ देखिएको थियो । त्यसैगरि पुनर्वास नगरपालिका–११ मा २९७ जनाको परीक्षण गर्दा ४४ जनामा पोजेटिभ देखिएको छ । भीमदत्त नगरपालिका–२ मा २४७ जनाको परीक्षणमा ३५ जनामा पोजेटिभ देखिएको छ । भीमदत्त नगरपालिका–१४ मा २८६ जनाको परीक्षण गर्दा २७ जनामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरि भीमदत्त नगरपालिका–१९ मा ३३३ जनामा परीक्षण गर्दा ३७ जनामा पोजेटिभ देखिएको छ । नेपालमा खास गरी थारु समुदायमा सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको प्रकोप उच्च रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । केही समय अघि नेपाल सरकार, स्वास्थ्य अनुसन्धान परिषद्सँग त्रिभुवन विश्वविद्यालय ट्रफल अनुसन्धान प्रयोगशालाले गरेको अनुसन्धानमा पश्चिम नेपालका अविवाहित थारु समुदायका महिलाको डिएनए परीक्षण गर्दा १८ प्रतिशतमा सिकलसेल पुष्टि भएको थियो । सिकलसेल भएमा थकाइ लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती, पेट, हातखुट्टाको कुर्कुचा दुख्ने, आँखामा समस्या देखापर्ने, ज्वरो आउने, बान्ता हुने, खोकी लाग्ने लक्षण देखापर्ने गर्दछन । सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रका कोषाध्यक्ष कुमारीलक्ष्मी चौधरीले थारु समुदायमा सिकलसेल रोग चुनौतीका रुपमा रहेको बताउनुभयो । “हाम्रो समुदायमा सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको उच्च जोखिम छ”, चौधरीले भन्नुभयो, “सरकारले यसको निवारणका लागि समुदायस्तरमा स्वास्थ्य परीक्षणमा जोड दिनुपर्छ ।” थारु समुदायमा १००को रगत परीक्षण गर्दा २० जनाको पोजेटिभ देखा परिरहेको खुसी चौधरीले जानकारी दिनुभयो । “थारु समुदायमा यो रोग गम्भीर समस्याका रुपमा छ, विशेष गरी महिलामा बढी देखिएको छ”, चौधरीले भन्नुभयो, “पहिला त धनगढी मात्रै परीक्षण हुन्थ्यो सरकारले अहिले वडा वडामा परीक्षण गरिरहेको छ, यसले रोग निवारणमा सहयोग पुग्छ ।”
काठमाडौँ, जेठ १२ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अनेरास्ववियुमा उमेर हद ३२ वर्ष तोक्ने निर्णय गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोकिएको एमालेले जनाएको छ । एमाले सचिव पद्म अर्यालले अनेरास्ववियुको उमेर हदसम्बन्धी भएको निर्णय चाँडै सर्कुलर गरी जानकारी गराउने बताउनुभयो । उहाँले अन्य पार्टीले आफ्नो विद्यार्थी सङ्गठनमा उमेर हदबन्दी लगाएको सन्र्दभमा एमाले अनेरास्वविुमा पनि उमेर हद लागू हुने बताउनुभयो । यसअघि नेपाल विद्यार्थी सङ्घले र अनेरास्ववियु [क्रान्तिकारी] ले ३२ वर्ष उमेर हद तोकेको थियो । एमालेले राष्ट्रिय युवा सङ्घमा ४० वर्षे उमेर हद तोकेको छ । अनेरास्ववियुको महाधिवेशन यही जेठ २५ देखि २७ गते काठमाडौँमा तोकिएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको बर्खे अधिवेसन आइतबारदेखि सुरु भएको छ । प्रदेश सभाको बैठकमा विरोध यथावत राखेको प्रतिपक्षी दलहरुसँग समसामयिक प्रस्ताव सदनमा लैजाने सहमतिपछि अधिवेसन सुरु गरिएको हो ।
सर्लाहीको बसबरिया गाउँपालिका –६, मनटोलमा आइतबार दिउँसो ट्याक्टरमा च्यापिएर एक घरधनीको मृत्यु भएको छ ।
कपिलवस्तुमा खाडलमा डुबेर साढे तीन वर्षीय बालकको ज्यान गएको छ । मृतक बालक बुद्धभूमि नगरपालिका –५, नौडिहवाका अस्लाम कलाम रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिनुभयो ।