शेरबहादुर राई
ओखलढुङ्गा, असोज २८ गते । नेपाली कांग्रेस ओखलढुङ्गाका २७ जना महाधिवेशन प्रतिनिधिमध्ये ११ जनाले पार्टीको विशेष महाधिवेशन आह्वान गर्न नेतृत्वसमक्ष माग गरेका छन् ।
जेन–जेड पुस्ताको भावना अनुसार कांग्रेसलाई पुनःनिर्माण र पुनर्गठन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनीहरूले औपचारिक रूपमा हस्ताक्षरसहित माग अघि सारेका हुन् ।
विशेष महाधिवेशनको पक्षमा उभिनेहरू नेताहरू कुमार लुइटेल, रुद्रप्रसाद अधिकारी, सविता राई, सर्वधन तामाङ, हरिप्रसाद दाहाल, बेदबहादुर रोक्का, कुमारबहादुर श्रेष्ठ, प्रकाश दाहाल, दुर्गाकुमारी तामाङ, होमबहादुर विक र अर्चना लुइटेल हुनुहुन्छ ।
त्यसैगरी, केन्द्रीय सदस्यद्वय रामहरि खतिवडा र प्रदीप सुनुवार तथा नेताहरू तेजेन्द्र खनाल, खिलनाथ दाहाल, अशोक कार्की, लीला बल्लभ दाहाल, दानबहादुर बानिया, पुरुषोत्तम लुइटेल, नविन राई, गोमा केसी, बाला अधिकारी, हेमालक्ष्मी राई, मैया राई, सुनिता अधिकारी र डेकराज भट्टराईले भने हस्ताक्षर गर्नुभएको छैन ।
विशेष महाधिवेशनमा माग गर्ने प्रतिनिधिको सङ्ख्या थपिन सक्ने नेता कुमार लुइटेलले बताउनुभयो । पार्टीभित्र उठेको यो मागलाई स्थानीयस्तरमा सङ्गठन सुदृढीकरण र नयाँ पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने कदमका रूपमा हेरिएको छ ।
हालैको जेन–जेड आन्दोलनपछि कांग्रेस सहित अन्य दलभित्र पनि आन्तरिक सुधार र पुनर्गठनका आवाज बलियो बन्दै गएका छन् ।