• २८ असोज २०८२, मङ्गलबार

केप भर्डे पहिलो पटक फिफा विश्वकपमा छनोट

blog

विश्वकपमा छनोट भएपछि केप भर्डेका खेलाडी ।

काठमाडौँ, असोज २८ गते । केप भर्डे सन् २०२६ को फिफा विश्वकपमा छनोट भएको छ ।

अफ्रिकी महादेशको छनोटअन्तर्गत सोमबार राति भएको खेलमा केप भर्डेले इस्वातिनीलाई ३–० गोलले हराउँदै विश्वकपमा स्थान बनाएको हो । 

घरेलु मैदानमा कोप भर्डेलाई जिताउन डेलोन लिभ्रामेन्टोले ४८औँ, विली सेमेडोले ५४औँ र स्टोपिराले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्नुभयो । केप भर्डेले पहिलो पटक फिफा विश्वकपमा स्थान बनाएको हो । 

जितसँगै १० खेलबाट २३ अङ्कक जोडेको केप भर्डे समूह ‘डी’ को शीर्ष स्थानमा रहेको छ । केप भर्डे विश्वकपमा छनोट हुने छैटौँ अफ्रिकन तथा समग्रमा २२औँ राष्ट्र हो । यसअघि अफ्रिकाबाट मोरक्को, ट्युनिसिया, इजिप्ट, अल्जेरिया र घाना छनोट भइसकेका छन् । 

अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना सन् २०२६ को जुन ११ देखि जुलाई १९ तारिखसम्म हुने विश्वकपमा ४८ देशको सहभागिता रहने छ । एजेन्सी