वाग्मतीको शिर वाग्द्वारमा स्नान गर्नेको भीड
पूर्णप्रसाद मिश्र काठमाडौँ, वैशाख १ गते । नयाँ वर्षको सूर्योदयसँगै मानिसको भीड शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्राकृतिक मनमोहकतातर्फ अघि बढिरहेको छ ।यही निकुञ्जको बीचमा रहेको राजधानीको सभ्यताको स्रोत वाग्मतीको उद्गमस्थल वाग्द्वारमा प्रत्येक वर्ष वैशाख १ गतेका दिन स्नान मेला लाग्छ । मेला भर्न आज बिहानैदेखि भक्तजनको भीड निकुञ्जतर्फ लागेको हो । कति भक्तजन भने चैत मसान्तमै यहाँ रात बस्ने गरी पुगेका थिए ।राजधानीको कोलाहलबाट नजिकैको शान्त एवं रमणीयस्थलमा नयाँ वर्ष मनाउन मानिसको भीड लागेको छ । तीन वर्षअघि वाग्द्वार एवं यसको प्रवेशमार्ग सुन्दरीजलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वाग्द्वारको प्रचार–प्रसार गर्न गोकर्णेश्वर नगरपालिकोले महोत्सवको आयोजना गरेको थियो । विसं २०७७ देखि भने कोरोना महामारीका कारण स्थगन गरिए पनि कोरोना शान्त भएपछि पर्यटन प्रवद्र्धनका लागि निरन्तरता दिइने नगरपालिकाले जनाएको छ ।शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र काठमाडौँ र नुवाकोट जिल्ला एवं गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सीमामा रहेको वाग्द्वार नववर्षका दिन स्नानका लागि पवित्र तीर्थस्थल मानिन्छ । आजको दिनमा यहाँ आई स्नान गरेमा पाप पखालिई अक्षय पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गरेको वैशाख सङ्क्रान्तिका दिन वाग्मतीमा स्नान गरेमा मनकामना सिद्ध हुने धार्मिक विश्वाससमेत छ ।वैशाख महिना र वाग्मतीको सम्बन्ध रहेकाले प्राचीनकालदेखि नै चोभारबाट वाग्द्वारसम्म वाग्मती तीर्थयात्रा गर्ने विधान छ । विसं २०३० देखि लोप भएको यो जात्रालाई पशुपति क्षेत्र विकास कोषले २०७५ देखि निरन्तरता दिएको छ । यस वर्ष भने वाग्मती तीर्थयात्रा गर्ने नगर्ने निश्चित नभएको कोषले जनाएको छ ।वाग्मती उत्पत्तिको कथावाग्द्वारको उत्पत्तिका विषयमा विभिन्न किंबदन्ती प्रसिद्ध छन् । सृष्टिको सुरुमा ब्रह्माजी मृगेन्द्रशिखरको मध्यभागमा तपस्या गरेर बस्दा पानीको अभाव भयो । ब्रह्माजीले शिवजीको ध्यान गरी शिवजीको वाग् अर्थात् बोलीबाट प्रकट भएकाले यस नदीको नाम वाग्मती रहेको नेपाल माहात्म्यको हिमवत्खण्डलगायतका धार्मिकग्रन्थमा व्याख्या गरिएको वेदमा विद्यावारिधि गर्नुभएका प्रा डा ऋषिराम पोखरेल बताउनुहुन्छ ।“ब्रह्माजीले शिवजीको तपस्या गर्दा सबै देवता आई देवसभा नै यहीँ भएको वर्णन धार्मिकग्रन्थमा पाइन्छ, यही सभाका समयमा शिवजीको बोलीबाट वाग्मती प्रकट भएकाले यस नदीलाई ब्राह्मी, सरस्वती, भारती, वाग्वती र वाग्मती आदि नामले पुकारिन्छ”, उहाँले भन्नुभयो । वाग्मती प्रकट भइसकेपछि शिवजीले यस नदीमा स्नान गर्न हिँडेमा मात्र पनि अश्वमेध यज्ञ गरे बराबरको फल प्राप्त हुनेछ, भुक्ति र मुक्ति प्राप्त हुनेछ भनी वरदान दिएकाले अहिलेसम्म पनि स्नान मेला लागेको धार्मिक विश्वास छ ।वाग्मती नदी प्रकट भएको मृगेन्द्र शिखरको जल खाएमा भक्भके बोली भएकाको बोलीमा शुद्धता आउने जनविश्वास छ । यही विश्वासका कारण पनि वैशाख १ गते हजारौँ मानिस स्नान र जल सेवनका लागि वाग्द्वारमा आउने गर्छन् ।शिवजीको बोलीबाट वाग्मती प्रकट भएर अरु नदी मिसिने प्रत्येक स्थानमा तीर्थ बन्नेछ र यहाँ स्नान एवं दान गरेमा पुण्य प्राप्त हुनेछ भनी भगवान् विष्णुले वरदान दिएकाले सूर्यग्रहण, चन्द्रग्रहण र औँसी आदि पर्वमा वाग्मतीमा स्नान गरी दान दिने परम्परा सनातनदेखि चलिआएको वाल्मीकि विद्यापीठका पूर्वसहप्राध्यापक श्रीराम सापकोटा बताउनुहुन्छ ।वाग्मती नदी भारतमा रहेको जमुना नदीसँग नमिलुञ्जेल अविच्छिन्नरूपमा वाग्मतीकै नामले चिनिने र यसबीचमा एक हजार आठ तीर्थस्थल बनेका छन् । प्राचीनकालमै तपस्या, ध्यान र साधनाका लागि सिद्धस्थल मानिएको शिवपुरी क्षेत्रमा अगस्त्य, दधिची र कार्तिकेयलगायतका ऋषिले आई तपस्या गरेको प्रमाण विभिन्न शास्त्रमा उल्लेख गरिएको छ । आधुनिक युगमा पनि शिवपुरी बाबा यसै क्षेत्रमा आई तपस्या गरेर विश्वप्रसिद्ध हुनुभयो । हाल २७ वर्षदेखि टोड्के बाबा नामले परिचित एकजना साधु वाग्द्वारमै बसेर तपस्या गरिरहनुभएको छ ।यस क्षेत्रमा शिव पार्वतीको जोडी घुम्दै आउँदा सुन्दरीजलको झरनाबाट मोहित भएर शिव त्यहीँ बसी तपस्या गर्दा शैलमतेश्वर र पार्वती तपस्या गरेको स्थान शैलवती अर्थात् सुन्दरीमाईका रुपमा अहिलेसम्म पनि प्रख्यात छन्् । दुवैको नामबाट प्राचीनकालदेखि नै सुन्दरीजल नामकरण भएको स्थानीयवासीको विश्वास छ ।प्रत्येक वर्ष वैशाख १ गते वाग्द्वारमा स्नान गर्न आउने बनेपाकी सिन्धु चौँलागाईँ आफूमा आनन्द बढेको र वर्षमा एकपटक मात्र भए पनि वन जङ्गलको मार्गमा तीन घण्टा हिँड्दा स्वास्थ्यमा राम्रो भएको अनुभवले स्नान गर्न जाने गरेको बताउनुहुन्छ ।वाग्द्वार क्षेत्र सेवा समितिका अध्यक्ष अरुण ठकुरी वाग्मतीको उद्गमस्थलमा स्नान गरी शिवपुरी डाँडामा रहेको ३५ मिटर अग्लो शत रुद्रेश्वर शिलामा पूजा गर्ने विधि रहेको बताउनुहुन्छ । दर्शनार्थीले यसपछि विष्णुद्वारमा स्नान गरेर विष्णुपादुकामा दर्शन गर्ने विधान छ । यसो गरेमा दर्शनार्थीको मनकामना पूरा हुने जनविश्वास छ ।वाग्द्वार बूढानीलकण्ठ र सुन्दरीजल दुई ठाउँबाट जान सकिन्छ । बूढानीलकण्ठबाट तीन घण्टा र सुन्दरीजलबाट साढे तीनदेखि चार घण्टा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको रमणीय यात्रा गरेपछि प्राकृतिक छटा र सौन्दर्यले भरिएको वाग्द्वार पुगिन्छ । वैशाख १ गते वाग्द्वार, सपनतीर्थ स्नान गरी भक्तपुरको विस्केट जात्रा हेरेमा वर्षभर रोगव्याध नलाग्ने किंवदन्तीसमेत उपत्यकावासीमा प्रचलित छ ।
नयाँ वर्षका अवसरमा बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थी
काठमाडौँ, वैशाख १ गते । नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई विशेष व्यवस्था गरिएको छ । नयाँ वर्षमा पशुपतिनाथ दर्शन गर्ने भक्तजनको भीड बढ्ने भएकाले विशेष व्यवस्था गरिएको हो । नयाँ वर्षका अवसरमा बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड बढेको उहाँले सुनाउनुभयो । नयाँ वर्षका अवसरमा आज पशुपतिनाथ आउने भक्तजनलाई उत्तर, पश्चिम र दक्षिण मूल ढोकाबाट दर्शन गर्न जान सक्ने गरी व्यवस्था गरिएको छ । पछिल्ला केही वर्षदेखि नयाँ वर्षका अवसरमा पशुपतिनाथको दर्शनमा आउने भक्तजन बढ्न थालेपछि कोषले विशेष व्यवस्था गरेको हो । यस अवसरमा पश्चिम मूलढोकामा विशेष सजावट गरिएको छ । महानगरीय प्रहरी वृत्त गौशालासँग थप जनशक्ति लिएर शान्ति सुरक्षाको प्रबन्ध पनि मिलाइएको कोषका संस्कृति महाशाखा प्रमुख पराजुलीले बताउनुभयो । नयाँ वर्षका अवसरमा विशेष पूजा गर्न चाहने भक्तजनका लागि पनि व्यवस्था मिलाइएको छ । विगत वर्षदेखि नै वैशाख १ गते पनि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरेको थियो । दर्शनार्थीको चापलाई हेरेर पशुपति क्षेत्रको सुरक्षा व्यवस्था मिलाइएको कोषले जनाएको छ ।नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ । काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको बाग्द्वार (बाग्मती नदीको उद्गमस्थल), टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रालगायत देशभर लाग्ने मेलामा भक्तजनको भीड बढ्छ ।
महिला उम्मेदवारको व्यवस्था बारेमा आयोगले आफ्नो निर्णय सच्यायो
गोरखापत्र अनलाइनकाठमाडौं, चैत २९ गते । निर्वाचन आयोगले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्रै उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्नुपर्ने भनिएको यसअघि गरेको निर्णय सच्याएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार जारी गर्नुभएको विज्ञप्तिमा यसअघिको निर्देशनमा अन्यथा भएकाले सच्याइएको उल्लेख गर्नुभएको हो । आयोगले चैत १६ गते राजनीतिक दलहरुलाई दिइएको १७ बुँदे निर्देशनको बुँदा नम्बर ६ मा स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार मनोनयनमा प्राथमिकता दिने’ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ भनेर आयोगले प्रष्ट पारेको छ ।राजनीतिक दललाई दिइएको यसअघिको १७ बुँदे निर्देशनको बुँदा नम्बर ६ मा ‘यसअघि स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्ने,’ उल्लेख थियो ।