• ६ जेठ २०८१, आइतबार

सर्वोच्चका प्रस्तावित न्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान

blog

शुक्रबार सिंहदरबारमा बसेको बैठक संसदीय सुनुवाइ समितिको बैठक । तस्बिर : गोरखापत्र

काठमाडौं, भदौ १५ गते । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

संसदीय सुनुवाइ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश शर्माको सुनुवाइका लागि उजुरी आह्वान गरेको हो । उच्च अदालत पाटनका न्यायाधीश शर्मा हाल सर्वोच्च अदालतमा काजमा रहनुभएको थियो ।

गत भदौ १० गते बसेको न्यायपरिषद् बैठकले उहाँलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार शर्मालाई संसदीय सुनुवाइका लागि न्याय परिषद्ले पत्र पठाएपछि उजुरी आह्वान गरिएको समितिका ज्येष्ठ सदस्य सभापति पशुपतिसमशेर राणाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘प्रस्तावित न्यायाधीशको बारेमा सर्वसाधारणलाई जानकारी गरिदिने र प्रस्तावित व्यक्ति, प्रस्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार तोकी मर्यादित भाषामा सूचना वा उजुरी दिन सरकारी सञ्चार माध्यामहरुमार्फत सूचना प्रकाशित गर्न प्रस्ताव गर्दछु । माननीय सदस्यहरु सुनुवाइका लागि प्रस्तावित व्यक्तिको उजुरी माग गर्नेसम्बन्धी सूचना प्रकाशन गर्न तथा प्रसारण गर्न समिति सचिवलाई निर्देशन दिन्छु ।’’

१० दिनभित्र दिएको उजुरीमाथि छानबिन गरेपछि प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश शर्मामाथि संसदीय सुनुवाइ हुनेछ । संसदीय सुनुवाइ समितिले उहाँको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।