काठमाडौं, भदौ १४ गते । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले महानगर प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ ।
महानगरको प्रहरीको ३१ औँ महानगर प्रहरी दिवसको अवसरमा उहाँले नेतृत्वले परिकल्पना गरे अनुसारको महानगर निर्माणमा नगर प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको हो ।
उहाँले महानगरको अभियानमा नगर प्रहरीले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “स्थानीय सरकारले महत्त्वपूर्ण नीति बनाउन जति महत्त्वपूर्ण छ, सँगसँगै कार्यान्वयन पनि हुनुपर्छ । बिहान, बेलुका नभनी जनसेवामा खटिरहनुभएको छ, हामी मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु ।”
उहाँले भन्नुभयो, “कुनै पनि लोभ, लालचमा नफस्नुहोला । यहाँहरूले लगाउनुभएको बर्दीको इज्जत जब बचाउन सक्नुहुन्छ तब, फिल्डमा जाँदा विशुद्ध नगर प्रहरी, म जनताको सेवा गर्न फिल्डमा काम गर्नुहुन्छ भन्ने कुरामा हामीले विश्वास लिएका छौँ ।” छिटफुट मानवीय त्रुटि हुनु स्वाभाविक भए पनि यसलाई सुधार गरेर जान सकिने उहाँको भनाइ छ ।
नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले शुभकामना व्यक्त गर्नुहुँदै बजार, यातायात, भौतिक संरचना, सार्वजनिक सम्पत्ति संरक्षण लगायतका काममा नगर प्रहरीले सबैले महसुस गर्ने गरी उल्लेख्य काम गरेको बताउनुभयो ।
नेपाल प्रहरीको बृहत् कार्यदेश अनुसार स्थानीय सरकारसँग निकट रही सहकार्य हुनुपर्ने एवम् जनचाहना अनुरूप महानगरले प्रविधिको उपयोग र यसको अपरिहार्यताबारे आवश्यक काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी र महानगर एकजुट भएर हिँड्न जरुरी छ । सुरक्षित महानगरको एउटै लक्ष्यमा सेवा प्रवाहमा अहिलेको अवस्थामा महानगर प्रहरी बल गतिशीलताका साथ अघि बढेको छ ।”