डुम्रे–बेँसीसहर सडक अवरुद्ध
गए रातिदेखि परेको वर्षाले पहिरो जाँदा डुम्रे बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ उदीपुरको देउरालीडाँडामा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो ।
फलेवास नगरपालिकाको बजेट पारित
दलहरुबीच सहमती जुट्न नसक्दा रोकिएको फलेवास नगरपालिकाको नगर सभा आईतबार राती मात्रै सम्पन्न भएको छ । नगरसभाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट नीति तथा कार्यक्रम पारित गरेको छ ।
सेनाद्वारा बेनिघाट-आरुघाट-लार्केभञ्ज्याङ्ग सडक खण्ड हस्तान्तरण
नेपाली सेनाद्वारा निर्माणाधिन गोरखा जिल्लाको बेनिघाट-आरुघाट-लार्केभञ्ज्याङ्ग सडक खण्ड सोमबार स्थानीयलाई हस्तान्तरण गरेको छ ।
महावीर पुन ‘गण्डकी रत्न सम्मान’ द्वारा विभूषित
गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा उहाँलाई सो सम्मानबाट सम्मानित गरेको हो ।
ऋषिङ गाउँपालिकाद्वारा असल बुहारीलाई नगदसहित सम्मान
तनहुँको एक गाउँपालिकाले अशक्त सासु र ससुरालाई राम्रोसँग हेरचाह गर्ने १६ जना बुहारीलाई सम्मान गरेको छ । असल बुहारी सम्मान कार्यक्रम अन्तर्गत ऋषिङ गाउँपालिकाले सम्मान गरेको हो ।
डेढ घण्टा यात्रा अवधि बीस मिनेटमा छोटियो
बेनी–दरवाङ सडकको बेनी–सिमखण्ड कालोपत्र भएपछि यात्राअवधि छोटिएको छ । १२ किलोमिटर ५०० मिटर दूरीको सडक कालोपत्र भएपछि डेढ घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको हो । मङ्गला गाउँपालिका–२ सिमलचौरका अशोक पौडेलले यसअघि एक घण्टादेखि डेढ घण्टा लाग्ने सडकको यात्रा अवधि कालोपत्र भएपछि १५ देखि २० मिनेटमा छोटिएको बताउनुभयो ।
खेलाडीलाई मुख्यमन्त्रीको हौसला
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खेलाडीहरूलाई उच्च मनोबल र उत्साहका साथ प्रतिस्पर्धा गर्न आग्रह गर्नुभएको छ । काठमाडौँमा आयोजना हुन लागेको राष्ट्रियस्तरको राष्ट्रपति रनिङ सिल्डमा सहभागी हुन जाने गण्डकी प्रदेशका खेलाडीहरूलाई बिदाइ गर्दै उहाँले सफलताको शुभकामना व्यक्त गर्नुभयो । “राष्ट्रपति रनिङ सिल्डमा विगतमा गण्डकी प्रदेशले प्राप्त गरेको सफलतामा थप उत्कृष्टता हासिल गर्न यहाँहरूले उच्च मनोवल र उत्साहसाथ प्रस्तुत हुनेमा म विश्वस्त छु,” उहाँले भन्नुभयो ।
असार अन्तिम सातासम्म पनि पानीको मूल फुटेन,अझै भएन रोपाइँ
म्याग्दीमा यस वर्ष असार अन्तिम सातासम्म पानीको मूल फुट्न नसक्दा रोपाइँ हुन सकेको छैन । पर्याप्त वर्षा नहुँदा जिल्लामा ४५ प्रतिशत खेतमा पनि रोपाइँ हुन नसकेको हो । विगतका वर्षहरुमा असार अन्तिम सातासम्म प्रायः सबै ठाउँमा रोपाइँ भैसक्ने यहाँका फाँट यस वर्ष भने बाँझै देखिएका छन् । मूल फुटेर, खहरे तथा अन्य खोलाहरुमा पानीको छेलोखेलो हुने समयमा यस वर्ष पानीकै अभाव भएपछि रोपाइँ हुन नसकेको किसानहरुले बताएका छन् । “ पानी पर्ला र रोपाइँ सुरु गरौला भन्ने सुरुमा छौँ ”– बेनी नगरपालिका २ का टेकबहादुर कार्कीले भन्नुभयो ।
स्वरूप फेर्दै पोखरा बसपार्क
जग्गा अधिग्रहण भएको झन्डै ४७ वर्षपछि पोखरा बसपार्कका रूप फेरिन लागेको छ । पोखरा उपत्यका नगरविकास समितिको स्वामित्वमा रहने गरी २०३२ सालमा जग्गा अधिग्रहण गरिएको हो । पूर्वमा सेती नदी, पश्चिम ढिकैढिक भएर बैरागी बन जाने बाटो, दक्षिण एयरपोर्टको तारबार र उत्तरमा पृथ्वी राजमार्गभित्रको २०५ रोपनी जग्गा ८१ रोपनीमा खुम्चिएको छ । व्यवस्थित बसपार्क निर्माणका लागि नाली र ग्राबेल गरी सम्याउने काम अगाडि बढेको छ ।