• ६ जेठ २०८१, आइतबार

महावीर पुन ‘गण्डकी रत्न सम्मान’ द्वारा विभूषित

blog

गण्डकी रत्न पुरस्कारबाट विभुषित हुनुहुँदै महावीर पुन । तस्विर : मुख्यमन्त्री पोखरेलको सचिवालय

गोरखापत्र अनलाइन

पोखरा, चैत २७ गते । गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा उहाँलाई सो सम्मानबाट सम्मानित गरेको हो । 

गण्डकी प्रदेश सरकारको चार वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा प्रदेश सरकारले गरेको थियो । त्यतिबेला पुन मुलुक बाहिर रहेकाले सोमबार विशेष कार्यक्रम गरेर उहाँलाई सम्मान प्रदान गरिएको छ । 

सो अवसरमा प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मेर पनि अनुसन्धानको क्षेत्रमा पुनले महत्वपूर्ण योगदान पु¥याउन सफल भएको भन्दै प्रशंसा गर्नुभयो । शिक्षण पेसामा आबद्ध हुँदा २०२८ सालतिर पुनसँग चितवनमा भेट भएको स्मरण गर्दै प्रदेश प्रमुख गुरुङले निरन्तरको लगावले पुन यो स्थानमा पुगेको बताउनुभयो । गण्डकी प्रदेश सरकारले निकै राम्रो कामको थालनी गरेको भन्दै आगामी वर्षमा समेत यसले निरन्तरता पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अनुसन्धानबाट मुलुकलाई समृद्ध बनाउन चालेको कदमको सम्मान गर्दै पुनलाई गण्डकी रत्न प्रदान गरिएको बताउनुभयो । मुख्यमन्त्री पोखरेलले राष्ट्रिय अनुसन्धान केन्द्रको सहकार्यमा अनुसन्धानका लागि आगामी वर्षमा गण्डकी प्रदेश सरकारले १० करोड विनियोजन गरेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले महसुस गरेका छौं, समृद्धिका लागि अनुसन्धानको महत्व कति छ भन्ने छिट्टै कार्यविधि बनाएर कार्यक्रम सञ्चालन गरिनेछ ।’ 


कार्यक्रममा सभामुख नेत्रनाथ अधिकारीले पुनको सम्मानले गण्डकी प्रदेशको शिर उँचो भएको बताउनुभयो । सो अवसरमा आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले गण्डकी प्रदेशभित्र जन्मिएर यहाँकै श्रीवृद्धिका लागि योगदान गरेकोबाट नामहरु छनोट गरिएको बताउनुभयो । छनोट समितिले ३ जनालाई छान्नसक्ने कार्यविधि भए पनि पहिलो पटक भएकाले एक जनालाई मात्र छनोट गरिएको जानकारी दिनुभयो । 

गण्डकी प्रदेशका प्रवक्ता तथा भौतिक पूर्वाधार, यातयात व्यवस्थामन्त्री कुमार खड्काको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । शिक्षा, स्वास्थ्य तथा खेलकुद, कृषि तथा सहकारी, उद्योग पर्यटन, वातावरण, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन, भाषा संस्कृति, सार्वजनिक प्रशासनलगायतका क्षेत्रमा योगदान पु¥याएका व्यक्तिमध्येबाट सम्मान गर्नेगरी कार्यविधि बनाइएको छ । 

विभूषण ग्रहणपछि महावीर पुनले आफू अध्ययन अनुसन्धानका लागि पर्याप्त बजेट लगानी गरेका मुलुकहरु समृद्ध भएको उदाहरण दिनुभयो । उहाँले भन्नुभयो, ‘अनुसन्धानमा बलियो नभएकाले हाम्रो देश हेपिएको हो, युवाहरु रोजगारी खोज्दै विदेश धाउँदा यहाँको अर्थतन्त्र अस्तव्यस्त बनेको छ, अनुसन्धान र विकासका लागि अब ढिला गर्नु हुँदैन ।’ 

अनुसन्धान आफैमा कठीन काम भएको भन्दै उहाँले एक सयवटा अनुसन्धानमध्ये दश पन्ध्रवटा मात्र सफल हुने भएकाले सतप्रतिशत नतिजा आउन नसक्ने चर्चा गर्नुभयो । ‘हाम्रो बजेट सिस्टमले असफल भएको कार्यक्रमलाई रकम दिन नमिल्ने भन्छन्, तर सबै अनुसन्धान सफल नै हुन्छन् भन्ने छैन,’ उहाँले भन्नुभयो । गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालय मार्फत आविष्कार केन्द्र खोलेकामा आफू उत्साही भएको उहाँले बताउनुभयो ।  


विज्ञान, प्रविधि, सूचना एवम् वायरलेस प्रविधिबाट ग्रामीण क्षेत्रमा इन्टरनेट सूचना प्रवाह गर्दैआएका पुनले म्याग्दीको अन्नपूर्ण गाउँपालिका –८ नाँगीमा २०११ सालमा जन्मनुभएको हो । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुन बायोमेडिकल, कृषि, शिक्षा, ड्रोनलगायत क्षेत्रमा काम गर्दैआएका छन् । पुन रोमन म्यागासेसे पुरस्कारबाट समेत सम्मानित भइसक्नुभएको छ ।  

कार्यक्रममा छनोट समितिका संयोजक मन्त्रीकुमार खड्कासहित मन्त्रीहरु, प्रदेश सभाका सदस्य, नीति तथा योजना आयोगका प्रमुख सचिव, सचिवहरुसहित निजी तथा सरकारी क्षेत्रका प्रतिनिधिको सहभागिता थियो ।