रमेश पौडेल
पोखरा, जेठ ४ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारी अभियान समाप्त भए संविधान नै अपुरो हुने हुँदा त्यसतर्फ शेयर सदस्य, मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले ध्यान पुर्याउनुपर्ने बताउनुभयो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)को आयोजना तथा सहकारी विभागको साझेदारीमा पोखरामा शुक्रबार आयोजना गरिएको ‘साकोस जोखिम विश्लेषण कार्यशाला’लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेकपा (एमाले) को स्थायी कमिटी सदस्य समेत रहनुभएका मुख्यमन्त्री अधिकारीले राजनीतिक तहमा सहकारीका बारेमा नबुझ्ने हुँदा समस्या आएको बताउनुभयो ।
शेयर सदस्यले पनि सहकारीका विषयमा चासो राख्नुपर्ने भन्दै उहाँले बोनस घट्यो बढ्यो भन्नेबाहेक शेयर सदस्यले धेरै चासो राख्ने नगरेको बताउनुभयो । सहकारी क्षेत्रमा देखिएका जोखिम पत्ता लगाउन नेफस्कुनले तयार पारेको इन्डीकेटरले कतिको काम गर्छ आफूले त्यसलाई हेरिरहेको पनि उहाँले बताउनुभयो ।
उक्त कार्यशाला नियमित अनुगमन नभएका ३२ वटा संस्थाको प्रतिनिधित्व रहेको नेफस्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो । २०४५ सालमा स्थापना भएको नेफस्कुन ७६ जिल्लामा फैलिएको छ । यसका ४ हजार ६ सय ५० जना प्रत्यक्ष सदस्य रहेका छन् ।