प्रचारप्रसार संयमित र मैत्रीपूर्ण बनाऔं : महामन्त्री शर्मा
ललितपुर, वैशाख १६ गते। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनलाई लोकतान्त्रिक संस्कृति अनुरुप बनाउन सात प्रस्ताव अगाडि सार्नुभएको छ।उहाँले चुनावमा प्रचारप्रसारलाई संयमित र मैत्रीपूर्ण बनाउनुपर्ने, विगतमा गरिएका गल्ती र कमजोरीका बारेमा जनतासँग माफी माग्नुपर्ने, आलोचना सुन्ने संस्कारको विकास गर्नुपर्ने बताउनुभएको छ। महामन्त्री शर्माले जनतालाई असम्भव सपना देखाउन नहुने, आचारसंहिता र संवैधानिक अधिकारको पालना हुनुपर्ने, अपारदर्शी र फजुल खर्च रोक्नुपर्ने र निर्वाचनको परिणामलाई स्वभाविक रुपमा स्वीकार्ने परम्पराको थालनी गर्नुपर्छ बताउनुभयो। नेपाल सांस्कृतिक संघद्वारा नेपाली कांग्रेसको चुनावी गीत सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै शर्माले यस्तो भनाइ राख्नुभएको हो। उहाँले दाइजो प्रथाको अन्त्य, जातीय भेदभाव र छुवाछुतको अन्त्य र स्वदेशमा रोजगारीको सवाल निकै संवेदनशील रहेको बताउनुभयो।कांग्रेसका नेता गुरु घिमिरेले कांग्रेस लोकतन्त्रवादी दल भएको तर अन्य दलमा लोकतन्त्र र लोकतान्त्रिक आचरणको कमी भएकाले नेपालमा लोकतान्त्रिक संस्कार बसाउन कठिन भएको उल्लेख गर्नुभयो।कार्यक्रममा नेपाल सांस्कृतिक संघका बुद्धिबहादुर राना, नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकूलपति विष्णुविभू घिमिरे, गायिका राधिका हमाल, नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले निर्वाचनमा गीत सङ्गीतले पार्ने प्रभावबारे चर्चा गर्नुभयो। “कांग्रेसलाई जिताऔं” बोलको सो गीत वरिष्ठ गीतकार कृष्णहरि बरालको शब्द, वरिष्ठ संगीतकार शम्भुजित बाँस्काटाको संगीत, राधिका हमाल, सुजाता के.सी., शशीविक्रम थापा र आलिन खानको स्वर तथा मनोज के.सी.को निर्देशनमा तयार भएको हो।
एकीकृत समाजवादी र बहिर्गमित जनमुक्ति सेनाबीच पार्टी एकता
काठमाडौं, वैशाख १६ गते। सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी र अर्जुन बुढाथोकी नेतृत्वको बहिर्गमित जनमुक्ति सेना, नेपालबीच शुक्रबार पार्टी एकता भएको छ। एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बहिर्गमित जनमुक्ति सेनालाई उपयुक्त ठाउँमा सङ्गठित गरिने बताउनुभयो। यस विषयमा स्थानीय तहको चुनावपछि सम्बन्धित सबैमा आह्वान गरिने उहाँको भनाइ छ। आदर्शलाई पछ्याएर मान्छे आन्दोलनमा जुट्छ, म होइन हामी भन्ने र आफू होइन हाम्रो भन्ने भावनाका साथ अघि बढ्नुपर्ने तब न कम्युनिष्टको अर्थ रहने उहाँले बताउनुभयो। त्यसपछि न पार्टी पूँजीवाद र सामन्तवादको भन्दा भिन्न हुने विचार उहाँले राख्नुभयो। यसअघि विगतमा कम्युनिष्ट पार्टीमा क्रान्तिकारी दृष्टिकोण, कम्युनिष्टको आदर्श दक्षिणपन्थी भासमा फस्ने देखिएकाले यसको रक्षाका लागि नयाँ पार्टी नयाँ संकल्पका साथ अघि बढ्ने निर्णयमा पुगेको उहाँले प्रट्याउनुभयो। यसैगरी, बुढाथोकीले विगतमा माओवादी जनयुद्धका जनमुक्ति सेनालाई अयोग्य भनेर बहिर्गमन गरिएको बताउनुभयो। हिजो जनयुद्धमा परिवर्तन गर्न पार्टीमा आए पनि पछि त्यो परिवर्तन भएको र कतिपय जनमुक्ति सेना समाजमा बस्न नसकेर आत्महत्या गर्ने अवस्थामा समेत बुढाथोकीले बताउनुभयो। अबदेखि एकीकृत समाजवादीको कलम चिह्नमा रही अघि बढ्ने प्रतिबद्धता उहाँले राख्नुभयो।
उम्मेदवारी फिर्ता गराउन धाकधम्की नदिन आयोगको आग्रह
निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मनोनयन गराएकालाई उम्मेदवारी धाकधम्की नदिन आग्रह गरेको छ।
गठबन्धनको मर्म र भावनालाई पूर्णरूपमा परिपालना गर्न प्रचण्डको आग्रह
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँच दलीय गठबन्धनमा रहेका र उम्मेदवारी दिएका उम्मेदवारलाई विजयी गराउनुपर्ने दायित्वबाट बिमुख नहुन आग्रह गर्नुभएको छ।
प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने मल्लको घोषणा
सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । बिहीबार डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमार्फत मल्लले सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट राजीनामा दिने घोषणा गर्नुभएको हो ।
एक करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ सम्पन्न
वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले १ करोड ९४ लाखमध्ये १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ सम्पन्न गरेको छ ।
काठमाडौं महानगर प्रमुखका उम्मेदवार काँग्रेस नेत्री सिंहको सङ्कल्पपत्र सार्वजनिक
सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार सिर्जना सिंहको संकल्प पत्र सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले सात 'स' को सङ्कल्प व्यक्त गर्नुभएको हो । बिहीबार माइतीघर हाइटमा चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै प्रमुख पदकी उम्मेदवार सिंहले काँग्रेसको सिद्धान्त, आदर्शलाई मनन गरेर त्यसमा लाग्ने बताउनुभएको छ ।
शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धा गर्ने निर्णय सुझबुझपूर्ण
काठमाडौँ, वैशाख १५ गते । सबैखालका निर्वाचन राजनीतिक दलहरूका लागि स्वपरीक्षणका माध्यम हुने गरेका छन् । यस पटकको स्थानीय तह निर्वाचन यसअघिका निर्वाचनको विरोध गर्ने दलका लागि पनि जनतामा जाने माध्यम बनेको छ ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) तथा डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय निर्वाचनमा गर्ने भएको प्रतिस्पर्धा यसै आधारमा महìवपूर्ण बनेको हो । स्थानीय निर्वाचनअघि नै जनमत पार्टीले दल दर्ता गरिसकेको थियो तर स्थानीय निर्वाचनको प्रयोजनका लागि विप्लव नेतृत्वको माओवादीले दल दर्ता गर्न बाँकी थियो । विद्रोहको जगमा उभिएको पार्टीले विभिन्न स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएर चुनावी प्रतिस्पर्धामा उत्रिने निर्णय गरेकाले नेपालको शान्ति प्रक्रियाका लागि पनि ऐतिहासिक महìवको बनेको छ ।नेपालको संविधानका कतिपय प्रावधानमाथि प्रश्न उठाउँदै सशस्त्र विद्रोहमा उत्रिएको विप्लव नेतृत्वको माओवादी र तराई क्षेत्रमा कृषकको अधिकारको नाममा सङ्घर्षरत जनमत पार्टीले गत वर्ष मूलधारको राजनीति स्वीकार गर्ने घोषणा गरेका थिए । त्यसपछि दुवै दल पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । विप्लव र डा. राउतको पार्टी शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा प्रवेश गरेसँगै नेपालको लोकतान्त्रिक व्यवस्था थप मजबुत हुने अपेक्षा गरिएको राजनीतिक विश्लेषक मुमाराम खनालको भनाइ छ । उहाँले शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धा गर्ने निर्णय सुझबुझपूर्ण र बुद्धिमानी भएको बताउनुभयो । खनालले भन्नुभयो, “विद्रोहीहरू या त राज्यसँग भिडन्तमा सकिएका छन्, या त शान्तिपूर्ण राजनीतिक बाटो स्वीकार गरेका छन् ।” उहाँले भिडन्तमा सकिनुभन्दा शान्तिपूर्ण राजनीतिमार्फत आफ्ना मुद्दा जनतामा स्थापित गर्नु उचित हुने धारणा व्यक्त गर्नुभयो । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले शान्तिपूर्ण, सुशासन र भ्रष्टाचारमुक्त समाज बनाउने पार्टीको मूल नीतिलाई चुनावमार्फत जनतासमक्ष लैजान निर्वाचनमा सहभागी भएको बताउनुभयो ।जनमत पार्टीले उठायो एक सय ५० स्थानीय तहमा उम्मेदवारडा. सीके राउत नेतृत्वको जनमत पार्टीले एक सय ५० स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको छ । गोरखात्रपसँग कुरा गर्दै अध्यक्ष राउतले मनोनयन दर्ताको सम्पूर्ण तथ्याङ्क आउन बाँकी रहेको र करिब एक हजार पाँच सय वडामा उम्मेदवारी दर्ता भइसकेको जानकारी दिनुभयो । अध्यक्ष राउतले भन्नुभयो, “पार्टीले उठाएका मुद्दा जनतासम्म पु-याउन तथा स्थानीय चुनावलाई थप प्रभावकारी बनाउन प्रत्येक स्थानीय तहले आफ्नै घोषणापत्र जारी गरी त्यसको कार्यान्वय गर्ने व्यवस्था मिलाएका छौँ ।” चुनावविरोधीलाई कारबाही विप्लव नेतृत्वको माओवादीले चुनावमा आए पनि उक्त दलमा अझै आन्तरिक विवाद कायमै रहेको देखिएको छ । चुनावमा जाने वा नजाने विवादकै क्रममा उम्मेदवारीको विरोध गर्ने दुई नेतालाई महासचिव विप्लवले पार्टीबाट निष्कासन गर्नुभएको छ । विप्लवले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको बहुमतले स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णय गरेविपरीत तथा पार्टीको हितविपरीत गतिविधि गरेको भन्दै पार्टी सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बाँस्तोलालाई पार्टीबाट निष्कासन गरिएको उल्लेख गर्नुभएको छ । बाँस्तोला र ओलीले पार्टीको निर्णयविपरीत निर्वाचनबारे भ्रम फैलाएको आरोप विज्ञप्तिमा लगाइएको छ । महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलगायत प्रभावशाली नेता र केन्द्रीय कमिटी निर्वाचनको पक्षमा रहँदा ओली र बाँस्तोलाले त्यसमा असन्तुष्ट बन्दै पार्टीको आलोचना गर्नुभएको थियो ।गत चैत पहिलो साता बसेको केन्द्रीय समितिको बैठकमा विप्लवले चुनाव उपयोग गरेर जाने प्रस्ताव गर्नुभएको थियो । सो प्रस्तावविपरीत गतिविधि गरेको आरोप ओली र बाँस्तोलामाथि लागेको छ । ओली र बाँस्तोलाले भने आफूहरूमाथिको कारबाहीबारे पार्टीको केन्द्रीय समितिमा छलफल चलाउने बताउनुभएको छ । केन्द्रीय समितिमा बहुमत जुटाउन सके नेतृत्वमाथि नै कारबाही गर्ने तयारी असन्तुष्ट पक्षको छ ।
बागी उम्मेदवारी फिर्ता लिन आग्रह
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले स्वतन्त्र उम्मेदवारी दिएका पार्टीका नेता–कार्यकर्तालाई मनोनयन फिर्ता लिन आग्रह गर्नुभएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सत्ता साझेदार दलबीच तालमेलको विषयमा पार्टीले निर्णय गरिसकेकाले उम्मेदवारी फिर्ता लिन बागी उम्मेदवारहरूलाई आग्रह गर्नुभयो ।