परीक्षामा भीडभाड नगर्न गृह मन्त्रालयको ध्यानाकर्षण
गृह मन्त्रालयले विश्वविद्यालय तथा विद्यालयको लिने हरेक किसिमका परीक्षामा बाह्य मान्छेको भीडभाड बढेको भन्दै ध्यानाकर्षण गरेको छ।
एमाले गण्डकी प्रदेश सदस्य माओवादीमै फर्किए
बागलुङ, वैशाख १४ गते। नेकपा (एमाले) गण्डकी प्रदेश सचिवालय सदस्य तुलसीराम अर्याल र प्रदेश सदस्य ददिराम अर्याल नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ। बुधबार बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रममा उहाँहरुले एमाले परित्याग गरेको घोषणा गर्नुभएको हो। दश वर्षे जनयुुद्ध र १९ दिने जनआन्दोलनको विरासत जोगाउन आफूहरु माओवादी केन्द्रमा नै फर्किएको उहाँहरुको भनाइ छ। २०७० सालमा तुलसीराम अर्याल नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बन्नुभएको थियो। पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का चन्द्र अर्याल ढोरपाटन नगरपालिकाको मेयर पदको उम्मेदवार बन्नुभएको छ।
विराटनगरका मेयर भीम पराजुलीको राजीनामा
नवराज कट्टेलविराटनगर, वैशाख १४ गते। विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पदबाट राजीनामा दिनुभएको छ। बुधबार दिउँसो संवैधानिक व्यवस्था अनुसार महानगर उपप्रमुख समक्ष पराजुलीले राजीनामा दिनुभएको हो। विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले मेयर पराजुलीले पदबाट राजीनामा दिनुभएको जानकारी दिनुभयो। ‘संवैधानिक व्यवस्था अनुसार कार्यपालिका उपप्रमुख समक्ष मेयर पराजुलीले राजीनामा दिनुभएको छ, ‘प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भन्नुभयो, ‘कार्यालयमा उहाँको राजीनामा पत्र प्राप्त भइसकेको छ।’ स्थानीय तहको निर्वाचन हुन गइरहेको र आफू पार्टीको केन्द्रीय सदस्य भएका कारण राजीनामा दिनुपरेको पत्रमा उल्लेख छ। ‘वैशाख ३० गरेको निर्वाचनमा पार्टीको प्रचारप्रसार तथा निर्वाचन सम्बन्धी विविध गतिविधिमा सहभागी हुनुपर्ने भएकोले वर्तमान अवस्थामा वहाल गरिरहेको प्रमुखको पदमा रहिरहन नैतिकताको आधारमा उपयुक्त नदेखिएकाले नेपालको संविधान धारा २१६ को उपधारा ८ (क) बमोजिम वैशाख १४ गतेदेखि लागुहुने गरी राजीनामा दिएको छु’, पत्रमा उल्लेख गरिएको छ। पदीय दुरुपयोगको आरोप नलागोस् भनेर राजीनामा दिएको पराजुलीले बताउनुभयो।
कैलालीका ५२ मतदानस्थल अति संवेदशनशील
कैलालीमा रहेको २३६ मतदान स्थलमध्ये ५२ मतदानस्थल अति संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
सातामा दुई दिन बिदा दिने सरकारकाे निर्णय
नेपाल सरकारले परीक्षणको रुपमा सातामा दुई दिन साप्ताहिक बिदा दिने निर्णय गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी विभाजन उन्मुख, केही नेता निष्कासनमा
काठमाडाैं, वैशाख १४ गते । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी स्थानीय निर्वाचन नजिकिँदै जाँदा विभाजन भएको छ। महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीको हितविपरीत गतिविधि गरेको भन्दै पार्टी सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बाँस्तोलालाई पार्टीबाट निष्कासन गरेसँगै विभाजन हुने देखिएकाे छ।निर्वाचनमा सहभागी हुने विषयमा केही महिनाअघि सम्पन्न नेकपाकाे कन्द्रीय समितिमा विवाद भएकाे थियो। महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड निर्वाचनको पक्षमा उभिँदा ओली र बाँस्तोला भने संसदीय व्यवस्था स्वीकार गरेर निर्वाचनमा सहभागी हुन नसक्ने अडानमा हुनुहुन्थ्याे।यस विषयमा पार्टीबाट निष्काशित हुनुभएका नेकपा सचिवालय सदस्य हेमन्तप्रकाश ओलीले ‘‘मेलै पनि हेरेँ (विज्ञप्ति), हामी छलफलमा छौँ, चाँडै निष्कर्षमा पुग्छौँ ।’ भन्नुभयो ।नेकपाभित्र निर्वाचन र एकीकृत जनक्रान्तिको सवालमा नेतृत्वतहबाट हल गर्न नसकेको कारण नेताहरुको निष्कासन हुँदै अन्ततः पार्टी विभाजनतिर जाने सो पार्टी परित्याग गरेर जनसमाजवादी मञ्च, नेपालका संयोजक कृष्णप्रसाद धमलाले प्रतिक्रिया दिनुभयो ।
काँग्रेस र एमालेले दिए अधिकांश पदमा उम्मेदवारी
स्थानीय निर्वाचन २०७९ मा नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अधिकांश पदमा उम्मेदवारी दिएका छन् । एमालेले ३३ हजार २४ पदमा उम्मेदवारी दिएको छ । काँग्रेसले ३० हजार ९४४ पदमा मनोनयन गरेको छ । वैशाख ३० गते हुने मतदानबाट ३५ हजार २२१ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
एमाले र गठबन्धनको प्रतिस्पर्धा
धादिङमा नेकपा (एमाले) र सत्तारूढ गठबन्धनको उम्मेदवारी परेको छ । जिल्लाका दुई नगरपालिका र ११ गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन गरेर संयुक्त उम्मेदवार उठाएका छन् । एमालेले एक्लै उम्मेदवारी दिएको छ ।
निर्वाचनमा उत्तेजक नहुन निर्देशन
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख १४ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा उत्तेजक नहुन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३औँ स्मृति दिवसमा बोल्दै अध्यक्ष ओलीले कुनै राजनीतिक दलको घोषणापत्रमा अर्काे पार्टीलाई गाली गर्नु दुःखद कुरा भएको बताउनुभयो । पार्टीको घोषणापत्रमा सभ्यता, शिष्टता, मर्यादाको कुरा हुुनुुपर्नेमा उहाँले जोड दिनुुभयो । अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) पार्टी नभई केन्द्र मात्रै भएको आरोप लगाउनुुभयो । उहाँले चुनावी घोषणापत्र निकाल्न नसक्ने माओवादी केन्द्र पार्टी हुुन नसक्ने बताउनुभयो । यसैबीच नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेप्रति विपक्षीले फैलाएको भ्रम चिरेर जनतासामु जान नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सम्पर्क समन्वय कमिटीले मङ्गलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले ओली नेतृत्वको सरकारले गरेका कामका बारेमा जनतालाई बुझाएर जनमत आफ्नो पक्षमा पार्न निर्देशन दिनुभयो । उहाँले चुनावको समयमा एमालेविरुद्ध फैलाइने भ्रमप्रति नेता तथा कार्यकर्ता सबैै सचेत हुनुपर्ने बताउँदै जुनसुकै प्रकारका भ्रम चिर्न कसैसँग सोध्नु नपर्ने र दृढतापूर्वक प्रतिवाद गर्न निर्देशन दिनुभयो । महासचिव पोखरेलले दुई तिहाइ नयाँ मतदाताले एमालेतर्फ झुकाव राखेको दाबी गर्नुभयो । एमालेका अध्यक्ष केपी ओलीले राष्ट्र निर्माणको पक्षमा लिएको अडानका कारण युवा पुस्तामा झुकाव बढेको दाबी उहाँको थियो ।