भारतका चर्चित कलाकार अमिताभ बच्चन कोरोनाबाट सङ्क्रमित
भारतका चर्चित कलाकार अमिताभ बच्चन कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्विटरमा आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको लेख्नु भएको छ ।
विहारका सभामुखद्धारा राजीनामा
भारतको विहार प्रदेशका सभामुख विजयकुमार सिंहले पदबाट राजीनामा दिनु भएको छ । भारतीय जनता पार्टीका नेता समेत रहनु भएका सिहंले प्रदेश सभामा बहुमत परीक्षण हुने भएकाले राजीनामा दिनु भएको हो ।
साउदी अरेबियाले एआइ सम्बन्धी विश्व सम्मेलन गर्ने
साउदी अरेबियाले ग्लोबल एआइ (आर्टिफिसियल इन्टेलिजेन्स) सम्मेलन गर्ने भएको छ । साउदी अरेबियाको समाचार समिति, साउदी प्रेस एजेन्सीले दिएको जानकारीअनुसार साउदी अरेबियाले आगामी सेप्टेम्बर महिनामा दोस्रो विश्व सम्मेलन गर्न लागेको हो ।
नाइजेरियामा द्रुत रुपमा कुपोषण बढ्दो
संयुक्त राष्ट्रसङ्घले नाइजेरियामा निकै द्रुत मात्रामा कुपोषणको मात्रा बढ्दै गएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकायले हालै एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी गराएको हो ।
कङ्गोमा इबोलाका नयाँ सङ्क्रमित भेटिए
अफ्रिकी देश कङ्गोमा इबोला भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ एकजनामा सोमबार इबोला भाइरसको सङ्क्रमण भेटिएको हो ।
अस्ट्रेलियामा मिर्गौला उपचार गराउनेहरू दोब्बरले बढे
अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयर (एआइएचडब्ल्यू) ले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २००० मा ११ हजार सात सयले मिर्गौला प्रतिस्थापन थेरापी लिएकामा सन् २०२० मा त्यो सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि भएर २७ हजार सात सय पुगेको थियो ।
सुडानमा बाढीबाट ८३ जनाको मृत्यु
सुडानमा अविरल वर्षा र बाढीबाट कम्तीमा पनि ८३ जनाको ज्यान गएको छ । प्राप्त समाचारअनुसार यहाँ सोमबार रातिसम्म कम्तीमा पनि ८३ जनाको ज्यान गएको हो । यहाँका बाढी प्रभावित प्रान्त तथा क्षेत्रहरुका १८ हजार घर बगाएको बताइएको छ ।
जापानका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण
जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएपछि उहाँले एकान्तवासमा बस्नु भएको छ भने त्यहीबाट गर्न मिल्ने काम पनि गर्नु भएको छ ।
भारतमा जीप दुर्घटनामा दश नेपाली घाइते
कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासाबाट खटिमातर्फ गइरहेको यात्रुबाहक जीप सोमबार दुर्घटना हुँदा दश नेपाली यात्रु घाइते भएका छन् । बनबासाबाट यात्रु बोकेर खटिमातर्फ गइरहेको भारतीय नम्बर प्लेटको जीप चकरपुरस्थित थाना नजिक दुर्घटना भएको खबर प्राप्त भएको गड्डचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।
बाढी पहिरोका कारण सुडानका छ राज्यमा आपतकाल घोषणा
सुडानका छ राज्यमा आपतकाल घोषणा गरिएको छ । अत्याधिक वर्षापछि आएको बाढीका कारण सङ्कट उत्पन्न भएकाले आपतकाल घोषणा गरिएको हो ।
फिलिपिन्समा कोरोनाबाट एकै दिन ४९ जनाको मृत्यु
फिलिपिन्समा कोरोनाको सङ्क्रमण बढेको बताइएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात् आइतबार मध्यरातिसम्म कम्तीमा पनि ४९ जनाको ज्यान गएको छ ।
भारतमा भारी वर्षा र बाढीबाट पचास जनाको मृत्यु
भारतको उत्तरी र पूर्वी भूभागमा जारी रहेको वर्षा र बाढीबाट कम्तीमा पनि ५० जनाको ज्यान गएको बताइएको छ । भारी वर्षाका कारण आइतबार रातिसम्म मृत्यु हुनेको सङ्ख्या ५० पुगेको अधिकारीहरुले जनाएका छन् ।
भारतमा एघार हजार पाँच सय भन्दा बढी कोरोना सङ्क्रमित
भारतमा एकै दिनमा ११ हजार पाँच सय ३९ कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख ३९ हजार चार २९ जना कोराना भाइरस सङ्क्रमित भईसकेका छन् ।
पाकिस्तानमा शनिबारको वर्षा र बाढीबाट ३६ को मृत्यु
पाकिस्तानमा २४ घन्टायता भएको निरन्तरको वर्षा र त्यसका कारण आएको बाढीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ ।यहाँका उद्धार अधिकारीहरुले दिएको समाचारअनुसार पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । यो प्रान्तमा मात्र १८ जनाको मृत्यु भएको छ भने अन्य सय जनाभन्दा बढी घाइते छन् ।
पाँच केजी हेरोइनसहित महिला पक्राउ
यहाँस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानाडातर्फ प्रस्थान गर्न लागेकी एकजना ८१ वर्षीया महिलालाई पाँच किलो हेरोइनसहित पक्राउ गरिएको छ । बरामद गरिएको उक्त परिमाणको हेरोइनको मूल्य पाँच लाख १५ हजार अमेरिकी डलर पर्ने अधिकारीहरुले बताएका छन् ।
भारतमा पाँचको मृत्यु, २५ घाइते
भारतमा सवारी दुर्घटनामा परी शुक्रबार पाँच जनाको मृत्यु भएको छ । दुर्घटनाका कारण अरु २५ जना घाइते भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । देशको राजस्थान राज्य अन्तर्गत पर्ने पाली जिल्लामा शुक्रवार राती दुर्घटना भएको हो ।
अष्ट्रेलियाले श्रीलङ्कालाई थप दुई करोड ५० लाख डलर सहयोग गर्ने
अष्ट्रेलियाले श्रीलङ्कालाई अत्यावश्यक खाद्यान्न र स्वास्थ्य सेवाको आवश्यकता पूरा गर्न थप दुई करोड ५० लाख अमेरिकी डलर विकास सहायता प्रदान गर्ने भएको छ।
भारतमा १५ हजार सात सयभन्दा बढी कोरोना सङ्क्रमित
भारतमा एक दिनमा पन्ध्र हजार सात सय ५४ जना कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ ।
पाकिस्तानले विलासी वस्तुको आयातमा प्रतिबन्ध हटाइयो
पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहीबार गैर–आवश्यक र विलासिताका सामानहरूको आयातमा प्रतिबन्ध हटाउने घोषणा गर्नुभएको छ । मे महिनामा लगाइएको प्रतिबन्धको उद्देश्य वैदेशिक मुद्रा जोगाउने थियो ।
हाइटी भूकम्पको एक वर्ष, दुई लाख ५० हजार बालबालिका विद्यालय जान पाएनन्
हाइटी भूकम्पको एक वर्षपछि पनि यहाँका कम्तीमा पनि दुई लाख ५० हजार जना बालबालिका विद्यालय जान पाएका छैनन् ।संयुक्त राष्ट्रसङ्घका अनुसार यहाँका विद्यालय भवन एक वर्षअघिको भूकम्पले भत्काइदिएको थियो ।
न्युजिल्यान्डमा सुटकेसभित्र दुई बालबालिकाको शव फेला
साउथ अकल्याण्डको एक भण्डारण एकाइमा परित्यक्त सामानको लिलामीका आएका सुटकेसभित्र दुई साना बालबालिकाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । डिटेक्टिभ (गुप्तचर) इन्स्पेक्टर टोफिलाउ फामानुइया वाएलुआले उक्त रिपोर्टको पुष्टि गर्दै प्राथमिक विद्यालय जाने उमेरका दुई बालबालिकाको अवशेष मान्युरेवाको पूरानो सामानहरूको भण्डारमा फेला परेको बताउनुभयो ।
चीनलगायतका देश रूसकाे भाेस्टाेक सैन्य अभ्यासमा सामेल हुँदै
छिमेकी देश रुससँग चीनले संयुक्त सैन्य अभ्यास गर्न आफ्ना सेना रुस पठाउँदै छ । भोस्टोक ड्रिल नाम गरिएको सो अभ्यास अगष्ट महिनाको अन्तिम दिनदेखि सञ्चालन हुने चिनियाँ रक्षा मन्त्रालयले जानकारी दिएको हो ।
काबुलको मस्जिदमा बम विस्फोट, प्रमुख धर्मगुरुसहित दश जनाको मृत्यु
अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा बुधबार साँझको प्रार्थनाको क्रममा बम विस्फोट हुँदा एकजना प्रमुख धर्मगुरूसहित कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् ।
आगलागीका कारण आठ सय परिवार विस्थापित
उत्तरी जावजान प्रान्तको फैजाबाद जिल्लाको बाला मार्दियान गाउँमा केही दिनअघिबाट शुरु भएको प्राकृतिक आगलागीबाट आठ सयभन्दा बढी परिवार विस्थापित भएका स्थानीय प्रहरी अधिकारीहरुले बुधबार पुष्टि गरेका छन् ।