नयाँ वर्षमा मिलन र प्रकाशले ल्याए ‘यूके लण्डनमा’
काठमाडौं, वैशाख १ गते । गायिका मिलन नेवार र गायक प्रकाश सिङको स्वर रहेको यूके लण्डनमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ। मकाउमा रहेका गायक सिङले नयाँ वर्षको अवसर पारेर ल्याएको गीतका शब्द राजु आर डीका हुन्। गायक स्वयमकै संगीत रहेको गीतको भिडियोमा मोडल गीता ढुंगाना र अभिषेक श्रेष्ठको अभिनय रहेको छ। पहिलो भेटमा नजर जुधाएर ख्याल ठट्टामा नै प्रेममा परेको कुरालाई निर्देशक विक्रम चौहानले कलात्मक शैलीमा भिडियोमा देखाएका छन्।लक्ष्मण चौहानको सम्पादन रहेको भिडियोमा प्रकाश खड्काको छायांकन रहेको छ। गायक सिङले यसअघि नै आधा दर्जन भिडियो ल्याइसक्नु भएको छ। अमेरिकामा रहेका महेश जोशी, मकाउमा रहेका अ्मर लिङ्देन, अडियो नेपालका बुद्ध सयमी र काठमडौँका सन्तोष बिश्वोकर्माको हयोगमा भिडियो निर्माण भएको गायक सिङले बताए।
कलाकारको नयाँ वर्ष
काठमाडौं, वैशाख १ गते । शुभकामना भरी हरेक स्वासमा तिम्रो दीर्घायुको कामना गर्न सकुँ म। शुभकामना भरी हरेक पलमा तिम्रो जीवनमा सुवास छर्न सकुँ म। स्वरका धनी तारा देवीको मधुर आवाजमा रहेको यो शुभकामना गीत आजको सन्दर्भ अर्थात् नयाँ वर्षसँग ठ्याक्कै मेल खाएको छ । नयाँ वर्षलाई नयाँ जोश, उमंग र नयाँ काम थालनीको लागि राम्रो दिनको रुपमा लिने गरिन्छ । वर्ष दिनको योजना पनि नयाँ वर्षकै दिनदेखि नै सुरु गर्ने मानिसहरुको सोच हुन्छ । यो दिनमा शुभकामना आदानप्रदान मात्र नभएर नयाँ काम सुरु गर्ने सोच पनि धेरैको राखेको हुन्छ । त्यसमा पनि सेलिब्रेटीको जीवनमा के हुँदैछ भन्ने सबैको चासो रहन्छ । यसै अवसरमा हामीले कलाकारहरुलाई जिज्ञासा राखेका थियौं नयाँ वर्ष कसरी मनाउँदै हुनुहुन्छ भन्ने विषयमा उहाँहरुको जवाफ । करिश्मा मानन्धर : नयाँ वर्षको लागि मैलै खासै केही प्लान बनाएको छैन । टुँडिखेलमा योगाको कार्यक्रम रहेको छ । त्यही व्यस्त हुन्छु । सकेसम्म एक्सरसाइजहरु गर्ने, स्वस्थ्य र खुशी रहने प्रयास गर्ने योजना छ । मेरो नयाँ वर्षको तीन वटा रिजोलुसन छ । पहिलो समाज रुपान्तरणको लागि केही गर्ने सोच छ । कोभिडले सबैलाई अत्याएको थियो । यो नयाँ वर्षको मेरो रिजोलुसन भनेको स्वस्थ रहौं, चिन्ता मुक्त बनौं र आत्मबल बढाएर सकारात्मक सोच राखौं । अर्को रिजोलुसन भनेको राजनीतिमा पनि सक्रिय भएको नाताले सबै जनताको विश्वास जित्न सफल हुने प्रयास गर्नेछु । जनताको मनमा राम्रो प्रभाव पार्न सकुँ । समाजको लागि केही गरौं, महिलाको अगुवाई गरौं भन्ने सोचले राजनीतिमा लागेको हुँ । अर्को म आफ्नो पढाईलाई निरन्तरता दिन्छु । सकेसम्म क्लास छोड्न नपरोस । दीपाश्री निरौला : म बिहानै ‘प्रबल जनसेवा श्री’ पुरस्कार थाप्न राष्ट्रपति भवन जाँदैछु । यो पुरस्कार मेरो नयाँ वर्षको उपहार भयो । यसपछि घरमा पूजा राखेको छु । यसमै व्यस्त हुन्छु । अनि दिपक जीको जन्मदिनको शुभकामना दिँदै नयाँ वर्षलाई स्वागत गर्दै साथीभाईसँग रमाइलो गर्ने सोच छ । हरिहर शर्मा: म धर्मकर्ममा विश्वास गर्ने मान्छे । त्यसैले नयाँ वर्षको उपलक्ष्यमा मैलै घरमा पूजा आयोजना गरेको छु । धर्म र होम मै दिन बित्छ । नयाँ वर्ष शुरु भएको दिनमा राम्रो काम गरे वर्षभरि राम्रो हुने र मिठो खाए वर्षैभरि मिठो खान पाइन्छ भन्ने मान्यता छ । त्यही भएर भोलि घरमा मिठो परिकार खाएर नयाँ वर्षलाई स्वागत गर्नेछु । मन प्रसन्न राख्नुपर्छ । जे भयो सबै बिर्सेर अगाडि बढ्नुपर्छ । नयाँ वर्षको सुरुको दिनमा खुशी भइयो भने वर्षभरि नै खुशी रहन्छौं भन्ने मान्यतालाई प्राथमिकता दिन्छु । प्रियांका कार्की: म नयाँ वर्षको दिन कहिले पनि बाहिर जाँदिन । धेरै भिडभाड हुन्छ । म नयाँ वर्ष कुरेर रिजोलुसन बनाउने मान्छे होइन । आफूलाई गर्न मन लागेको र गर्नुपरेको काम तुरुन्तै गर्छु । मैले आजसम्म नयाँ वर्षको रिजोलुसन बनाएको छैन । यो वर्षको पहिलो दिन मेरो घरमै परिवारसँग रमाईलो गर्ने सोच छ । दयाहाङ राई: मेरो खासै नयाँ वर्षको प्लान केही पनि छैन । धेरै ठूलो प्लानकहिले पनि बनाउँदिन । मेरो जीवनमा जे जस्तो आउँछ त्यस्तै टर्छ । नयाँ वर्षको पहिलो दिन दिनहुँ जस्तो घर र अफिस गरेर नै बिताउने सोच छ । गौरी मल्ल: म सुटिङ मै व्यस्त छु । वर्षको अन्त्य पनि काम नै हुन्छ र वर्षको शुरुवात पनि काम बाट नै हुन्छ । मेरो अरुको जस्तो नयाँ वर्षको रिजोलुसन बनाउन पर्छ जस्तो लाग्दैन । पहिलेदेखि नै अनुशाशित जीवन जिउँदै आएको छु । ममा त्यस्तो नराम्रो बानी त्याग्नुपर्ने केही पनि छैन त्यसैले नयाँ वर्षको पार्टी र रिजोलुसन भन्ने केही हुँदैन । नयाँ वर्षको पहिलो दिन ‘प्रबल जनसेवा श्री’ पुरस्कार बाट सम्मानित हुँदैछु । यसका लागि भोलि बिहानै राष्ट्रपति कार्यलय जान्छु । यसमै मन खुशी छ । सुरक्षा पन्त: भोलिदेखि मेरो औपचारिक रुपमा नयाँ फिल्मको सुटिङ शुरु हुँदैछ । त्यसैले म सुटिङमै व्यस्त हुन्छु । सुट छिटो सकियो भने घरमै बसेर नयाँ वर्षलाई स्वागत गर्ने प्लान छ । मेरो नयाँ वर्षको रिजोलुसन भनेको ‘वर्क हार्ड’, अनि व्यस्त रहने । मुकुन भुषाल: नयाँ वर्षको लागि ‘इभ’ मा साथीहरुसँग बाहिर घुम्न जाने अनि उतै रमाइलो गरेर नयाँ वर्षको दिन फर्किने प्लान छ । मेरो नयाँ वर्षको रिजोलुसन खासै केही छैन । सँधै यो गर्छु, त्यो गर्छु, नराम्रो बानी छोड्छु भनेर हुने पनि हैन । जे गर्छ समयले गर्छ, हाम्रो बसमा केही छैन भन्ने हो छोड्ने हो ।
कलाकारको नयाँ वर्ष योजना
यलु जोशीकाठमाडौँ, वैशाख १ गते । पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्ष २०७९ को स्वागतमा यतिबेला सबै केन्द्रित भएका छन् । काठमाडौँका साथै देशका विभिन्न सहरमा नयाँ वर्षको पूर्वसन्ध्यामा कन्सर्ट, डान्स पार्टीलगायत कार्यक्रम भइरहेका छन् ।सामान्यतः भेटघाट र घुमघाम गर्ने उपयुक्त बहाना हुने नयाँ वर्ष सेलिब्रिटीका लागि अझ विशेष हुन्छ । उनीहरूले विगत वर्षको सफलता÷असफलताको लेखाजोखा गर्दै नयाँ योजना तय गर्ने उपयुक्त समय नयाँ वर्षलाई नै बनाउने गर्छन् । कालीप्रसाद बाँस्कोटा : मेरा लागि नयाँ वर्ष खास हुनेछ किनभने कोरोना महामारीमा कुनै स्टेज कार्यक्रममा सहभागी हुन पाइनँ । सबै क्षेत्रको अवस्था दयनीय नै पुगेको थियो । नयाँ वर्षलाई लिएर म उत्साहित छु भने अब देशमा राम्रो हुने सङ्केत पनि छ । विगत दुई वर्षपछि नयाँ वर्षको पूर्वसध्यामा साङ्गीतिक कार्यक्रम दिनेछु । मेरो लािग नयाँ वर्ष नयाँ उमङ्ग उत्साह र पोजिटिभ भाइब्सले भरिपूर्ण हुने विश्वास लिएको छु । कोरोना कालमा गर्न नसकेका सबै काम यो वर्ष गर्ने योजना छ । पूर्वसध्यामा कन्सर्ट लिएर राम्रो कामको सुरुवात गरेको छु । ज्योति मगर : अझै मेहनत गर्ने, राम्राराम्रा गीत दिने र सकभर रक्सी छोड्ने यो वर्षको योजना छ । यसबाहेक वजन घटाउने अर्को योजना हो । पहिलाको वर्ष त्यस्तो खासै योजना थिएन । नयाँ वर्षलगत्तै गीत पनि रिलिज गर्नुपर्नेछ । ऋचा शर्मा : म कहिल्यै कुनै पनि कुराको योजना बनाउँदिनँ । गर्नुपर्ने काम कसैलाई नभनी आफैँ गर्छु । नयाँ वर्षमा चलचित्र पनि काम गर्छु । घरमै पारिवारिक जमघट हुन सक्छ । मेरो छोरासँग रमाइलो गर्ने, बालबालिकासम्बन्धी विभिन्न सामग्रीको सूचना दिनेछु । यो वर्षदेखि स्वास्थ्यमा विशेष ध्यान दिने योजना छ । करिश्मा मानन्धर ः सकेसम्म एक्सरसाइज गर्ने, स्वस्थ र खुसी रहने योजना छ । अरू कुरामा खासै केही रिजोलुसन छैन । राजनीतिमा पनि सक्रिय भएको नाताले आफ्नो पार्टीलाई चुनावमा साथ दिनुप¥यो । नयाँ वर्षको दिन बाहिर गएर सेलिब्रेट गर्ने योजनामा छैन । घरकै स्टाफसँग भान्सामा बसेर नयाँ वर्ष मनाउँछु किनभने मेरो दिनको सुरुवात नै उहाँहरूबाट हुन्छ र मेरा लागि उहाँहरू निकै महत्वपूर्ण हुनुहुन्छ ।
नयाँ वर्षका सङ्कल्प
सुकृत नेपालकाठमाडौँ, वैशाख १ गते । भित्तामा फेरिने नयाँ वर्षको क्यालेन्डरसँगै धेरैले नयाँ सपना बुन्न थाल्छन् । राम्रो काम गर्ने सङ्कल्प राख्न नयाँ वर्ष नै पर्खने एउटा बहानाजस्तै बनेको छ । सबैमा नयाँ वर्षको सङ्कल्प भरिदिन आउने २०७९ को सालबाट नेपाली सिने कलाकार किन अछुतो रहन्थे र ! कोभिडले आक्रान्त बनेका कलाकार अहिले जुर्मुराएका छन् । उनीहरूलाई पनि यसपालिको नयाँ वर्षले छोइसकेको छ । सङ्कल्पअनुसारको क्रियाकलाप हुन्छ वा हुँदैन भन्ने विषय महत्वपूर्ण हुन्छ, त्यसको लेखाजोखा भने अन्य पेसाका व्यक्तिहरूले मात्र होइन कालाकारले पनि कमै गर्ने गर्छन । आफ्ना चलचित्रले राम्रो व्यापार नगरेको अवस्थामा कलाकारहरू नयाँ वर्षमा मठमन्दिर गएर सङ्कल्प गर्छन् । चलचित्र राम्रो बनोस् अनि चलोस् भनेर प्रार्थना गर्छन् । कलाकार पुष्प खड्का आफ्नो नयाँ वर्षको सङ्कल्प यसरी सुनाउनुहुन्छ, अझ चलचित्रहरूमा राम्रो काम गर्दै जान्छु । अब म यो नयाँ वर्षमा एक्सन चलचित्रहरूमा नै केन्द्रित रहन्छु । उहाँ भन्नुहुन्छ, “म यो नयाँ वर्ष चलचित्र ‘एक्स–९’ मा नै बिताउँछु ।” नायिका स्वस्तिमा खड्का सङ्कल्प भनेको नयाँ वर्षको दिनमा मात्र राख्नुपर्छ भन्नेमा आफू सहमत नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सङ्कल्प भनेको सधैँ नै राखिन्छ । हामी सधैँ काम गर्छौं, आफूले अझ राम्रो गर्नुपर्छ भनेर सङ्कल्प गरेर नै हिँडिरहेका हुन्छौँ । त्यसैले नयाँ वर्षकै दिन यो गर्दिनँ, त्यो गर्दिनँ भनेर सङ्कल्प गर्नुपर्छ भन्ने पक्षमा म छैन ।” नयाँ वर्षलाई महत्व दिएर ठूलाठूला योजना बनाउने मात्र हुन्छन् भन्ने होइन । नयाँ वर्षलाई सामान्य रूपमा लिने कलाकार पनि छन् । हास्य कलाकार जितु नेपाल नयाँ वर्षमा मुन्द्रेको कमेडी क्लब फेरि सञ्चालनमा ल्याउन लागेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हिजोआज म अलि अल्छी भएकाले नयाँ वर्षदेखि ध्यान र योगमा अलि समय बिताउँछु । मेरो नयाँ वर्षको सङ्कल्प भनेकै राम्रो र नयाँ काम गर्ने प्रयास हो ।” कलाकार लक्ष्मी बर्देवा नयाँ वर्षमा आफ्नो दुईवटा गीत ‘दिल खोलेर कुरा गरन’ र आफ्नै निर्देशनमा ‘जे देख्छु, त्यो म होइन’ रिलिज हुने र आफू त्यसैमा व्यस्त रहने बताउनुहुन्छ । उहाँले अघिल्लो वर्ष मैले जे गरेँ, राम्रा, नराम्रा काम गरेँ, ती सबैलाई बिर्सेर यो वर्ष अघिल्लो वर्षभन्दा झन् राम्रा काम गर्ने सोचमा छु भन्नुभयो ।धेरैजसो कलाकार नयाँ वर्षमा विभिन्न कार्यक्रममा व्यस्त हुन्छन् भने कोही परिवारसँग घुम्न जाने गर्छन् त कोही घरमै बसेर आफ्नो परिवारसँग रमाइलो गर्छन् । रङ्गकर्मी विजय बराल नयाँ वर्षमा नयाँ मण्डला थिएटरमा अझ नयाँ नयाँ काम गर्ने सोच बनाएको बताउनुहुन्छ । यस्तै कलाकार रवीन्द्र झा नयाँ वर्षमा आफ्नो खासै त्यस्तो सङ्कल्प नरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “राम्रो काम गर्दै जाने हो । यो, त्यो गर्दिनँ भनेर नयाँ वर्षकै दिन सङ्कल्प गर्नुपर्छ भन्ने छैन । आफूलाई हानि हुने आफ्नो नराम्रो बानीलाई जहिले छाड्दा पनि हुन्छ ।”
‘तिमीलाई मैले देखेको’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं, चैत ३० गते । युवा गायक मनोज श्रेष्ठ ९जेन० को स्वर, शब्द र सङ्गीतमा रहेको ‘तिमीलाई मैले देखेको’ म्युजिक भिडियो सार्वजनिक भएको छ । युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा राहुल विश्वकर्माले सङ्गीत संयोजन गर्नुभएको हो । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ स्थित राष्ट्रिय शहीद स्मारक निर्माण स्थल क्षेत्रको जगडोल उद्यानमा छायाङ्कन गरिएको यस म्युजिक भिडियोमा सुवास शाह र एलिशिबा फुयाँलको अभिनय रहेको छ । ‘तिमीलाई मैले देखेको त्यो पारि गावैँमा, तिमीलाई मैले भेटेको त्यो पारि डाँडैमा’, ‘माया तिमी साह्रै नै निष्ठुरी, जति माया लाए नि नहुने’ लगायतका गीत म्युजिक भिडियोमा समावेश गरिएका छन् । मिराज अर्यालले छायाङ्कन गरेको भिडियोलाई सुवास शाहले नै सम्पादन गर्नुभएको हो । फोर बी पिक्चर्सको प्रस्तुति रहेको म्युजिक भिडियो प्रोमोशन नेपालसँगको सहकार्यमा तयार पारिएको हो । म्युजिक भिडियोको निर्देशन वजय मगरले गर्नुभएको हो । गायक श्रेष्ठको आधिकारिक च्यानल ‘जेन श्रेष्ठ’ मार्फत भिडियो सार्वजनिक गरिएको हो । गायक श्रेष्ठले यसअघि ‘अँध्यारो’ म्युजिक भिडियो सार्वजनिक गरिसक्नुभएको छ ।
युवापुस्तामा नयाँ वर्षको उमङ्ग
काठमाडौँ, चैत ३० गते । नयाँ वर्ष सुरु हुनासाथ घर तथा कार्यालयमा नयाँ पात्रोमात्र फेर्ने नभई आफ्नो मन, सोच, आनीबानीलगायतका धेरै कुरालाई परिवर्तन गर्नका लागि सङ्कल्प गर्न सकिन्छ । दस वर्ष युरोप फिनल्यान्ड बसाइपछि एक साताअघि मात्रै नेपालमा आउनुभएको वसन्तपुरको दीपेश शाक्य नयाँ वर्ष नेपालमा मनाउन पाउने सोचले दङ्ग हुनुहुन्छ ।उहाँ भन्नुहुन्छ, नेपाल त आइयो तर नयाँ वर्ष मनाउने अवसरमा भने यसै पटक मात्र प्राप्त भयो । ‘दस वर्षसम्म अर्काको भूमिमा बसेर मनाइयो, यसपालि जन्मभूमिमा बसेर आफ्नै नयाँ वर्ष मनाउन छुट्टै रमाइलो होला भन्ने लागेको छ । ’ गत दुई वर्ष कोरोना महामारीका कारण कुनै पनि पर्व रमाइलोका साथ मनाउन पाइएन तर यो पटक नयाँ वर्षमा रमाइलो गर्नुपर्ने बताउनुभयो ।विदेशमा हुँदा न्यु इयर, क्रिसमस, इस्टरलगायतका दिन धूमधामसँग मनाइयो अब आफ्नो देशमा आउँदा आफ्नै पर्व मनाउन उत्साहित हुनुहुन्छ । शाक्यका अनुसार अरू बेला युरोपको वातावरणमा रुमल्लिँदा दिन बितेको थाहै नहुने भए पनि हरेक वैशाख १ गतेसँगै नेपाल र घरपरिवारको झल्को आउने गर्दछ ।पश्चिमी संस्कृति ‘फलो’ गर्ने क्रममा नेपालको नयाँ वर्ष पनि पश्चिमी संस्कृतिझैँ मनाइरहेका छन् युवापुस्ता । डान्स पार्टी आयोजना गरी ग्यादर गर्ने, धुम्न जाने नयाँ वर्ष मनाउने गरेको पाइन्छ । डी.जे. रुपेस श्रेष्ठ भन्नुहुन्छ, यतिबेला सिङ्गो नेपाल नै नयाँ वर्षमय भएको छ । यही नयाँ वर्षको अवसरमा राजधानीलगायत देशका विभिन्न स्थानमा मनोरञ्जनात्मक कार्यक्रमका साथै नयाँ वर्षको माहोल झल्काउने क्रियाकलाप उत्सर्गमा छ ।त्यस्तै केएमसी कलेजमा अध्ययनरत ब्रिजेस श्रेष्ठले नयाँ वर्ष भनेकै साथीहरू ग्याडर भएर रमाइलो गर्ने पर्व भएको बताउनुभयो । नयाँ वर्षको उपलक्ष्मा विभिन्न कलाकारको साङ्गीतिक प्रस्तुति रहेको छ यसपालि कालीप्रसाद बास्कोटाको कार्यक्रममा जाने बताउनुभयो । उहाँले झम्सिखेलमा बास्कोटाको प्रस्तुति रहेको र उतै रमाइलो गर्ने बताउनुभयो । वैशाख १ गते भने साथीहरूसँग साहसी खेलका रूपमा चिनिने बन्जी गर्न जाने योजना गरिरहको छु विज्ञान विषयमा स्नातकोत्तर गरिरहनुभएको अदिती कोजुले भन्नुभयो । नयाँ वर्ष नयाँ चिज गर्नुपर्छ यो वर्ष बन्जी जम्प गर्ने सोचाइमा छु ।नयाँ वर्ष सुरुनयाँ वर्ष (वि.सं.) कसरी सुरु भयो भन्ने धेरै कथनहरू रहेका छन् । नेपालको सरकारी कामकाजको संवत् विक्रम संवत्अनुसार वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउने गरिँदै आएको छ । यस संवत्को प्रचलनका बारेमा विद्धान्हरूबीच मतभेद पाइने गरेको छ । केही विद्धान्को भनाइअनुसार यो संवत् भारतका एक प्रतापी राजा विक्रमादित्यले इश्वी संवत् सुरु हुनुभन्दा ५७ वर्षअघि स्थापना गरेको भनिन्छ । अर्को भनाइअनुसार अंशुवर्माको शासनकालमा विक्रमजित नामका एक राजाले नेपालको साँखुमा आई राज्य सञ्चालन गरेका र बज्रयोगिनीको उपासना गरी राज्यका जनतालाई अनिकालबाट जोगाएको कथन छ । त्यही बेलादेखि उनले विक्रमादित्य संवत् पनि चलाएको बताइन्छ ।अर्को भनाइअनुसार इशापूर्व ५७ वर्ष अगाडि भारतमा कुनै पनि विक्रमादित्य नामको राजा नभएकाले विक्रम संवत् नेपालीको आफ्नै मौलिक संवत् भएको पुष्टि गर्दछ । कुनै भनाइअनुसार भने विक्रम सवत कुनै राजा वा व्यक्तिले चलाएको नभई सूर्यको नामबाटै चलेको हो भन्ने गरिन्छ ।सबैका आ–आफ्नै नयाँ वर्षहिजोआज पश्चिमा संस्कृति र बढ्दो अन्तर्राष्ट्रियकरण प्रभावका कारण ग्रेगोरियन पात्रोअनुसारको पहिलो दिन जनवरी १ ले पनि समाजमा प्रभाव जमाइसकेको छ । जुन जिसस क्राइष्टको सम्झनामा चलाइएको यो संवत् भनेजस्तै हाल संसारका अधिकांश देशमा प्रचलित छ । यीबाहेक पनि नेपालमा अरू केही प्रचलित संवत्हरू छन् । यले दोङ नेपालमा प्रचलित संवत्हरूमध्येको सबैभन्दा पुरानो संवत् हो ।यो विशेष गरी किराती जातिहरूलगायत हायु, थामी, सुरेल आदिमा प्रचलनमा छ । यस्तै बुद्धसँग जोडिएर आउने अर्को संवत् हो बुद्ध संवत् । कपिलवस्तुका राजा शुद्धोधनका छोरा सिद्धार्थलाई बुद्धत्व प्राप्त भएपछिको समयलाई लिएर हरेक वैशाख पूर्णिमालाई मानिन्छ । त्यसैगरी अंशुवर्मा महासामन्त भएपछि राजा शिवदेवको पालामा चलाइएको संवत् अंशुवर्मा संवत् हो । यस्तै मैथलीमा मिथिला संवत्, तामाङ, शेर्पा, गुरुङ जातिले ल्होछारमार्फत आफ्नो पात्रो परिवर्तन गर्ने गर्दछन् ।
कला संस्कृतिको प्रवर्धनमा सक्रिय सुनीता
काठमाडौँ, चैत २९ गते । शिक्षामा सबैको पहुँच हुनुपर्छ भन्ने धारणा बोक्नुभएको सुनिता डङ्गोल सौन्दर्य प्रतियोगिता मिस नेवाः को विजेता मात्र भएर सीमित रहनुभएन । नेपाल भाषाको लिपिलाई देश–विदेशमा रहेका युवा पुस्तालाई जागरुक गराउने अभियान नै चलाउनुभयो । नेपाल भाषाको लिपिलाई युवा पुस्ताले सिक्नुपर्छ र जोगाउनुपर्ने भन्ने धारणाका साथ अघि बढिरहनुभयो । फलस्वरूप अहिले नेपाल भाषाको लिपि सिक्ने दस गुणाले बढेको बताउनुहुन्छ । लोप हुन लागेको लिपिलाई पुनः जागरुक गराउनुभएको डङ्गोलले नेवार मात्र नभएर गैरनेवारहरूको पनि सम्पत्ति हो भन्ने जनचेतना जगाउनुभयो ।कला संस्कृतिको संरक्षण र प्रवर्धनमा सदैव अघि बढिरहनुभएको डङ्गोल विभिन्न कार्यक्रमको सञ्चालन, मोडरेट गर्दै नेपाल टेलिभिजनमा शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्दै आउनुभएको छ । सांस्कृतिक अभियन्ताका रूपमा नेपाल चिनाउन जुट्नुभएको उहाँले सहरी योजना आयोगमा सहायक विज्ञका रूपमा काम गरिसक्नुभयो । अन्तर्राष्ट्रिय टाइपोग्राफी सङ्घको सञ्चालक समितिमा समेत रहनुभएको डङ्गोल आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँको काम र योजनाबारे गोरखापत्रले गरेको कुराकानी : मिस नेवा भइसकेपछिको मुख्य काम के गर्नुभयो ?सन् २०११ मा मैले मिस नेवाको ताज जितेको हो । यो प्रतियोगिता जितेपछि समाजप्रतिको दायित्व बोध गरायो । त्यस अवधिमा मैले समाज सेवा गर्ने रोजेँ । बालबालिका र शिक्षाको विकास गर्ने मेरो योजना भयो । ‘हाम्रो शिक्षा आँखा माथि’ भन्ने नाराका साथ राजधानीमा मात्र नभएर गाउँ–गाउँमा बालबालिकालाई शिक्षित गर्न हामीले शैक्षिक सामग्रीको सहयोग ग¥यौँ र दशैँमा लुगा पनि विद्यालयको ड्रेस प्रदान ग¥यौँ, जसले गर्दा बालबालिका विद्यालय जान उत्साहित आओस्, अहिले पनि यो अभियान चलिरहेको छ । यतिले मात्र भएन, हाम्रो संस्कृतिलाई पनि बचाउनुपर्छ भन्ने आत्मबोधले हाम्रो कला संस्कृतिलाई विज्ञानसँग जोडेर हेर्न थालेँ । नेपाल भाषाको लिपि विकासका लागि पनि लागिपर्नुभएको छ ?कला, संस्कृति परम्परा बुझ्ने क्रममा मैले लिपि सिक्न गएँ । भाषाको कुरा गर्ने हो भने लिपि सिक्नुपर्छ तर भाषा सिक्दा लिपि सिक्नुपर्छ भन्ने जमात न्यून रहेको देखेँ । लिपि हुन्छ भन्ने थाहा नपाएको जमात धेरै थियो । यो नेवारको मात्र सम्पत्ति होइन गैरनेवारको पनि हो । देशकै सम्पत्ति हो भन्ने लागेपछि युवाहरूलाई कसरी सिक्न लगाउने भन्ने योजना बनायो । त्यसपछि सार्वजनिक स्थलमा कार्यक्रम गर्न थाल्यो । रञ्जना लिपिबाट नाम लेखेर दियौँ र सिकाउन थाल्यौँ । नेपाल र रञ्जना लिपिको विकासका लागि सक्दो प्रयास ग¥यौँ । जसले गर्दा सिक्न आउनेमा १० गुणाले बढ्यो । अनलाइनमार्फत सिक्नेहरू झन् बढ्न थाल्यो । कोरोना महामारीलाई पनि अवसरका रूपमा लियौँ, भाषा लिपि सिक्न चाहनेलाई अनलाइन कक्षा दियौँ, भिडियो बनायौँ । हामीले विद्यायलको पाठ्यक्रममा पनि नेपाल भाषालाई समावेश गरायौँ । लिपि सिक्न आउनेको सङ्ख्या कस्तो छ ?हाम्रो यो अभियान पछि देश विदेशबाट सिक्न आउनेको सङ्ख्या उल्लेख्य रहेको छ । जसमा नेवार र गैरनेवार पनि धेरै हुनुहुन्छ । धेरै फिल्डका मानिस आइरहेका छन् । भाषामा मात्र नभएर सडक मानवको पनि उद्धार गर्नुभयो ?मैले काठमाडौँ महानगरपालिकामा सहरी योजना आयोगमा सहायक विज्ञका रूपमा काम गर्ने मौका पाएँ । यसरी काम गरिरहँदा महानगरलाई बुझ्ने अवसर प्राप्त भयो । त्यहाँ काम गर्दै जाँदा सडक मानव धेरै रहेको देखियो । उहाँहरूको समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने काम ग¥यौँ, दिन–रात भनिन् । पुस माघको जाडोमा रातको ११–१२ बजेसम्म सडक मानव उद्धार गर्ने कार्य गरियो । जाडोका कारण कोही पनि कठ्याङ्ग्रिएर नमरोस् भन्ने उद्देश्य थियो । मेयरमा उठ्ने पनि हल्ला छ ?राजनीतिबाट देशको अझ विकास गर्न सक्ने भएकोले मेयरमा उठ्न लागेको हो । सरकारसमक्ष पुग्न राजनीतिमा नै लाग्नुपर्ने रहेछ, त्यसैले यस क्षेत्रमा पाइला टेकेकी हुँ । मेरो ज्ञान, सीप र क्षमताको उच्चतम उपयोग गर्दै यो सहरलाई सुन्दर र समृद्ध बनाउने सपनालाई मूर्तरूप दिन मैले काठमाडौँको मेयर बन्ने सोच राखेकी हुँ । वैशाखको पहिलो हप्तापछि मैले आफ्नो उम्मेदवारी स्वतन्त्र या दलबाट भन्ने जनतालाई स्पष्ट गर्ने छु । सम्पदा संरक्षण, पुरातात्त्विक वस्तुहरूको प्रवर्धनका लागि योजना के के छन् ?काठमाडौँभित्र रहेका बहाल बहिलहरूको संरक्षण तथा प्रवर्धनमा गर्न बहा बही संरक्षण तथा प्रवद्र्धन विकास समिति स्थापना गरिनेछ । कामपा क्षेत्रका सार्वजनिक जग्गा, सत्तल पाटी, पौवा, मठ–मन्दिर र अन्य सम्पदाको संरक्षण गर्छौं । काठमाडौँको कला संस्कृति संरक्षण र प्रवद्र्धन गर्न महानगरीय सङ्ग्रहालयको स्थापना गर्छौं । स्थानीय कला, साहित्य, लिपि तथा भाषाको संरक्षण तथा संवर्धनका लागि आवश्यक व्यवस्था गर्ने योजना छ ।
नायक शाहको थुनछेक बहस सुरु
तनहुँ, चैत २९ गते । नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पूर्पक्षका लागि तनहुँ कारागारमा रहनु भएका कलाकार पल शाहसँग मङ्गलबारबाट नवलपुर जिल्ला अदालत कावासोतीले थुनछेक बहस सुरु गरेको छ । कलाकार पल शाहलाई बहसका लागि मङ्गलबार नवलपुर लगिएको थियो । कावासोतीस्थित नवलपुर जिल्ला अदालतले थुनछेक बहसका लागि पत्र आएकाले मङ्गलबार नवलपरासी पठाइएको तनहुँ कागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।कलाकारका शाहलाई तनहुँका अतिरिक्त पूर्वी नवलपरासीमा पनि बालिकामाथि यौन शोषण गरेको आरोपमा उजुरी परेको थियो । सरकारी वकिल कार्यालय नवलपरासीले नवलपुर जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दर्ता गरेकाले थुनछेक बहसका लागि तनहुँबाट नवलपुर पठाइएको छ । तनहुँमाजस्तै शाहविरुद्ध १२ देखि १४ वर्ष सजायको माग दावी र मुनासिब क्षतिपूर्तिको माग गर्दै नवलपुरमा मुद्दा दर्ता गरिएको थियो ।जिल्ला प्रहरी कार्यालय नवलपुरले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सोमबार सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । नाबालिका भनिएका गायिकाको उमेर १५ वर्ष ९ महिना ११ दिन रहेको जाहेरीमा उल्लेख गरिएको छ । अभिनेता शाहको बयान सकिएपछि वादी र प्रतिवादीको तर्फबाट अदालतमा बहस हुनेछ । दुवै पक्षका वकिलले बहस गरेपछि थुनछेक आदेश हुने प्रावधान छ ।थुनछेकमार्फत् शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने आदेश सुनाइन्छ । तनहुँमा पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । शाहका वकिलहरुले तनहुँ जिल्ला अदालतको पूर्पक्षका लागि तनहुँ कारागारमा आदेशविरुद्ध चैत १५ मा निवेदन दिनुभएको थियो । निवेदनमा पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश बदर गरी तारेखमा रिहा गर्न माग गरिएको छ ।
पुष्पल र केकी उत्कृष्ट अभिनेता-अभिनेत्री घोषणा
काठमाडौं, चैत २९ गते । डी.सीने अवार्डको १२ औँ संस्करण काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । छायाँछवि क्रियसनको आयोजनामा हुँदै आएको डिसीने अवार्ड यसअघि कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो । २०७६ सालभर प्रदर्शनमा आएका फिल्म मध्येबाट दर्ता भएका फिल्महरूको आधारमा निर्णायक मण्डलले उत्कृष्ट छनौट गरेको हो । शनिबार धुलिखेलमा सम्पन्न अवार्डमा ‘छ माया छपक्कै’ले सर्वाधिक ८ विधामा अवार्ड जित्न सफल भएको छ । यस्तै, मारुनी र साङ्लो फिल्मले ६ विधामा अवार्ड जितेका छन् । प्रतिष्पर्धामा रहेका २७ विधासहित जुरीले थप ६ विधामा अवार्ड प्रदान गरिएको थियो । वर्षको उत्कृष्ट फिल्ममा मारुनीसँगै निर्देशक नवल नेपाल र अभिनेता पुष्प खड्काले पनि अवार्ड जित्न सफल भए ।यस्तै, अभिनेत्रीतर्फ छ माया छपक्कैबाट केकी अधिकारीले अवार्ड जित्न सफल भइन् । यस्तै, जुरी अवार्डतर्फ यहि फिल्मले पपुलर फिल्मको अवार्डसँगै निर्देशकमा दीपेन्द्र लामाले पनि अवार्ड जित्न सफल भए । यसै फिल्मतर्फ निर्देशनमा दीपेन्द्र लामा र पपुलर फिल्ममा छ माया छपक्कैले जुरी अवार्ड जित्यो । लेखक, निर्देशक तथा कलाकार मोहन निरौलाको संयोजकत्वमा निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ एवं अभिनेत्री तथा मोडल शोभीता सिम्खडा निर्णायक रहेको टोलीले अवार्डमा दर्ता भएका फिल्म मध्येबाट उत्कृष्ट चयन गरेका हुन् ।१२ औँ संस्करणको अवार्डमा छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड नेपालकै पहिलो फिल्म ‘आमा’बाट नेपाली रजतपटमा प्रवेश गरी प्रथम नायिकाको उपमा पाएकी भुवन चन्दलाई प्रदान गरियो । उनलाई नगद पच्चीस हजार एक रुपैयाँसहित सम्मान गरिएको हो ।चलचित्रका प्राविधिकहरु तर्फ उत्कृष्ट छायाँकनमा मारुनी बाट संजय लामा, साउण्ड एडिटरमा किशोर आचार्य सानो मनबाट, उत्कृष्ट पाश्र्व संगीतमा एलिस कार्की साङ्लोबाट, उत्कृष्ट ध्वनी मिश्रणमा अमित श्रेष्ठ जात्रै जात्राबाट र उत्कृष्ट सम्पादकमा बिपिन मल्लले छ माया छपक्कैबाट अवार्ड प्राप्त गर्न सफल भएका थिए ।त्यस्तै, छायाँछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष तर्फ) अभिनेता विजय लामा र छायाँछवि चलचित्रकर्मी रजत सम्मान (महिला तर्फ) झरना थापालाई प्रदान गरियो । छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार विष्णुप्रसाद सुवेदीलाई प्रदान गरिएको थियो ।कार्यक्रममा जीतु नेपालले आफ्नो हाँस्य प्रस्तुति दिँदै बढ्दो सामाजिक सञ्जालको विकृतिमाथि व्यंग्य गरेका थिए साथै कृष्ण काफ्लेको गायन प्रस्तुती लगाएतका आकर्षण रहेको थियो ।
'ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८' सम्पन्न
काठमाडौं, चैत्र २९ गते । 'ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८' काठमाडौंमा सम्पन्न भएको छ । समारोहमा वरिष्ठ गीतकार डा. कृष्णहरि बराल, फिल्म निर्माता तथा निर्देशक दयाराम दाहाल र गायिका देविका बन्दनालाई रजत जयन्ती सम्मान प्रदान गरिएको हो । पर्यटन तथा संस्कृती मन्त्री प्रेम आले प्रमुख अतिथी रहनुभएको अवार्ड समारोहमा सिमित फिल्मीकर्मीको मात्र उपस्थिती थियो । अवार्ड समारोहमा विभिन्न चलचित्र, चलचित्रकर्मीलाई सम्मानित र अवार्ड प्रदान गरियो ।यसैगरी, कोरोना महामारीको समयमा पनि निर्माण भई प्रदर्शन भएका डेढ दर्जन फिल्मलाई पनि सम्मानपत्र प्रदान गरिएको छ । फिल्म 'चुरीफुरी' र 'कठपुतली'लाई प्रोत्साहन सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ । फिल्म वितरक कम्पनी एफडी कम्पनीका सुशील पोखरेल, हल व्यवसायी नरेन्द्र महर्जन, बस्नेत फिल्म स्टुडियोलाई पनि सम्मानपत्र प्रदान गरियो । यस्तै, यो वर्षको उत्कृष्ट फिल्ममा ‘म यस्तो गीत गाउँछु २’, उत्कृष्ट निर्देशकमा सुदर्शन थापा, उत्कृष्ट नायिकामा पूजा शर्मा, उत्कृष्ट नायकमा पल शाह सम्मानित हुनुभएको हो ।
महँगियो तरकारी
गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत २४ गते । दुई सातायता हरियो तरकारी महँगिएको छ । तरकारी भाउ बढेसँगै आमउपभोक्ता मर्कामा परेका छन् । उपत्यकावासीको मागअनुसार तरकारी आपूर्ति हुन नसक्दा भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सामान्य अवस्थामा दैनिक एक हजारदेखि एक हजार एक सय टन तरकारी भित्रिने गरेकोमा अहिले घटेर ६०० टनमा सीमित हुँदा मूल्यबढेको हो । उपभोक्ताको मागअनुसारको गुुणस्तर र मूल्यको तरकारी नआउँदा व्यापारी पनि समस्या छन् । कालीमाटी थोक व्यापार संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले केही दिनदेखि बजारमा महँगो मूल्यको कम तरकारी आपूर्ति भएकाले आफूहरूलाई बिक्री गर्नसमेत समस्या भएको बताउनुभयो ।उहाँका अनुसार पछिल्ला केही दिनदेखि गोलभेँडा, हरियो साग, (रायो, पालुङ्गो, चमसुर, तोरी, मेथी) घिउ सिमी, काँक्रो, लौका, मटरकोसा, आलु, मूला, पाकेको फर्सीलगायतका तरकारी महँगिएका छन् । दुई साताको अवधिमा गोलभेँडा र हरियो साग दोब्बरभन्दा बढीले महँगिएको थोक व्यापारी संस्थाका अध्यक्ष आचार्यले बताउनुभयो । उहाँले केही दिनअघिसम्म धार्नी र ढक तरकारी किन्न आउने ग्राहकले अहिले केजीमा मात्रै भाउ सोध्न र किन्न आउने गरेको अनुभव सुनाउनुभयो । “हाल आन्तरिक उत्पादन कम भएको र भारतबाट आउने बोडी, गोलभेँडा, भिन्डी, भेडेखुर्सानी, परवरलगायतका तरकारी आए पनि ढुवानीका कारण मूल्य छोइसाध्यै छैन,” अध्यक्ष आचार्यले थप्नुभयो ।अनुगमन भएनपसलपिच्छे फरक मूल्य भएकाले पनि उपभोक्ता अन्योलमा छन् । बजार अनुगमन, नियमन र हस्तक्षेप गर्ने अधिकार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको हो तर विभागले प्रभावकारी रूपमा अनुगमन गरेको देखिँदैन । बजारभाउ बढ्नुमा सरकारी निकाय मौन बसेको आरोप उपभोक्ताकर्मी बताउँछन् ।उपभोक्ता अधिकारकर्मी माधव तिमल्सेनाले तरकारी र फलफूलको भाउमा मनपरी हुँदा पनि यसको अनुगमन गर्ने जिम्मेवार निकायबाट प्रभावकारी अनुगमन हुन नसक्दा व्यापारीले मनलाग्दी गर्न थालेको बताउनुभयो ।बजारको नियमन गर्ने जिम्मेवार निकायले उजुरी आएपछि मात्रै बजार अनुगमन गर्ने संस्कृतिले बजारमा कालोबजारी र व्यापारीको मनपरी फस्टाउँदै गएको उहाँको भनाइ छ ।बजार अनुगमन गर्ने जिम्मा पाएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका बजार निरीक्षक अधिकृत धनेश्वर पौडेलले तरकारी र फलफूल महँगिएको कुनै उजुरी नभएकाले तत्काल विभागले तरकारी लक्षित भएर अनुगमन गर्ने योजना नभएको स्वीकार गर्नुभयो ।कालीमाटी तरकारी बजार समितिको तथ्याङ्कअनुसार अघिल्लो महिनाको तुलनामा यो महिना गोलभेँडाको मूल्य दोब्बर भएको छ । थोक मूल्यमै भाउ बढेपछि खुद्रा व्यापारीले पनि मनोमानी रूपमा मूल्य बढाउँदै आएका छन् ।एक महिनाअघिसम्म प्रतिकेजी २८ देखि ३० रुपियाँ किनबेच भएको गोलभँडा अहिले थोकमै ७० रुपियाँ छ भने खुद्रामा यसको मूल्य १२५ रुपियाँ माथि छ । उपत्यकावासीको मागको झन्डै ५५ प्रतिशत मात्रै तरकारी आयात हुनुले भाउ आकाशिएको समितिले जनाएको छ ।समितिका अनुसार यो बेलामा कालीमाटी बजारमा धादिङ, मकवानपुर, काभ्रे, नुवाकोट, भक्तपुर, ललितपुर र काठमाडौँका विभिन्न ठाउँबाट तरकारी आउँछन् । यो समयमा काठमाडौँमा खपत हुने तरकारीको आधा हिस्सा छिमेकी जिल्लाबाटै आउने भएकाले तरकारीको अभाव नहुने श्रेष्ठको दाबी छ ।