पौने दुई अर्बको विद्युत् निर्यात
नेपाल विद्युत् प्राधिकरणले २८ दिनमा एक अर्ब ७२ करोड रुपियाँको विद्युत् निर्यात गरेको छ । प्राधिकरणले विद्युत् खरिद बिक्री गर्ने भारतको खुला बजार इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स)मा नेपालमा बचत भएको बिजुली बेचेर उक्त आय गरेको हो । यो अवधिमा प्रतियुनिट औसत नौ रुपियाँ ६७ पैसामा बिक्री गरेर प्राधिकरणले खुद आम्दानी गरेको हो । यो आम्दानीमा कमिसन, कर तथा ह्विलिङ चार्ज कटाइएको प्राधिकरणले जनाएको छ ।
तथ्याङ्क सङ्कलन सम्पन्न
कृषि गणनाका लागि तथ्याङ्क सङ्कलन गर्ने कार्य सकिएको छ । सङ्कलन गरिएको तथ्याङ्कका फाराम केन्द्रीय तथ्याङ्क विभागमा आइसकेको राष्ट्रिय कृषि गणना २०७८ का अधिकारी बद्रीकुमार कार्कीले बताउनुभयो । वैशाख ६ गतेदेखि देशैभरि कृषि गणना सुरु गरिएको थियो । कार्कीले भन्नुभयो, “गणनापश्चात्को मुख्य गणना कार्यबाट प्राप्त फारामको कोडिङ, इडिटिङ, इन्ट्री, प्रशोधन तथा विश्लेषण गरी मङ्सिर महिनासम्ममा प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिनेछ ।”
नेपाली श्रमिक लैजान इजरायल सहमत
दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका नेपाली अब इजरायल जान पाउने भएका छन् । इजरायलको परराष्ट्र मन्त्रालयमा कार्यरत ट्रेड युनियनले आन्दोलनका कार्यक्रम कायम राखे पनि नेपालीलाई इजरायल प्रवेश सहजीकरण गर्ने भनेसँगै छनोट भएका जानलाई बाटो खुलेको हो ।
घट्यो सुनचाँदीको मूल्य
सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार दुई सय तोकिएको छ ।
अपर अरुण जलविद्युत् आयोजना : लाभको पर्खाइमा सङ्खुवासभावासी
अरुण नदीमा निर्माण हुन लागेको अपर अरुण जलविद्युत् आयोजनाबाट सङ्खुवासभाका बासिन्दाले बढीभन्दा बढी लाभ लिन पाउनुपर्ने माग गरेका छन् ।
क्यासब्याक अफर
आईएमई पे एपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता भुक्तानीमा क्यासब्याक अफर सार्वजनिक भएको छ । आईएमई ग्रुपद्वारा सञ्चालित ‘आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित’ आईएमई पेले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आईएमई पे एपबाट तिर्ने सेवाग्राहीलाई अफर ल्याएको हो ।
नबिलको किसान र उद्यमशील कर्जा
नबिल बैङ्कले ‘नबिल दिगो बैङ्किङ’अन्तर्गत वित्तीय पहुँच न्यून भएका आमजनतालाई लक्षित गर्दै ‘नबिल किसान कर्जा’ र ‘नबिल उद्यमशील कर्जा’ ल्याएको छ । १७ दुर्गम शाखाबाट सुरु गरेको यस कर्जाअन्तर्गत २०७९ जेठ मसान्तसम्म कुल ५७१ किसान तथा साना उद्यमीलाई करिब ४१ करोड रुपियाँ कर्जा प्रवाह भएको र तीमध्ये करिब छ हजार महिला रहेको बैङ्कले जानकारी दिएको छ ।
‘सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्छ’
प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान चुनौतीको सामना गर्न र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभएको छ । बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार छलफल गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।
स्थानीय तहमा छैन योजना बैङ्क
स्थानीय तहको अधिकांश बजेट भौतिक पूर्वाधारमा खर्च हुने गरेको भए पनि हालसम्म कुनै पनि स्थानीय तहले योजना बैङ्क निर्माण गर्न सकेको छैनन् । स्थानीय तहको वार्षिक बजेटको ६० देखि ६५ प्रतिशत पूर्वाधार विकासमै खर्च हुँदै आएको छ । योजना बैङ्कको अभावमा विनियोजन भएको रकम प्रभावकारी रूपमा विकासमा लगानी हुन नसकेको टिप्पणी हुन थालेको छ । योजना बैङ्कको अभावमा स्थानीय तहमा आवश्यकता र औचित्यको आधारमा भन्दा पनि स्वार्थ प्रेरित भएर योजना छनोट हुँदा लक्ष्य एकातिर काम अर्कोतिर हुने गरेको पाइएको छ । स्थानीय शासन विज्ञहरूले भने स्थानीय तहमा व्यवस्थित योजना निर्माणका लागि योजना बैङ्क बनाउन सुझाव दिएका छन् ।