अर्थतन्त्रलाई संकटमा जानबाट जोगाउनु पर्छः अर्थविद्
कुशासन र सनकको भरमा निर्णय गर्ने प्रवृतिले नेपाली अर्थतन्त्र पनि संकटतर्फ जाने सम्भावना बढेको भन्दै अर्थविदहरुले चासो व्यक्त गरेका छन् । ठूला घटनाका कारणले भन्दा पनि कुशासन, नीतिगत कच्चापन, वित्तीय अपारदर्शीतालगायतका कारण श्रींलका अहिलेको अवस्थामा पुगेकाले त्यसतर्फ नेपाल सचेत बन्नु पर्नेमा उहाँहरुले जोड दिनुभएको हो ।
खाद्य प्रयोगशाला स्थापनाको तयारी
कर्णाली प्रदेशमा खाद्य प्रयोगशाला स्थापनाको तयारी थालिएको छ । खाद्यको गुणस्तर मापनका लागि नमुना परीक्षण कर्णालीमै गर्न सुर्खेतमा प्रयोगशाला स्थापनाको कामलाई अन्तिम चरणमा रहेको जनाइएको छ । हालसम्म यहाँ प्रयोगशाला नहुँदा बाहिर पठाउनुपर्ने बाध्यता छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आगामी जेठ ३० गतेदेखि प्रयोगशाला सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाएको छ ।
गुणस्तरीय दूध आपूर्तिमा जोड
रुपन्देहीका दुग्ध व्यवसायीले जिल्लामा दूधको गुणस्तर कायम गर्न गुणस्तरीय प्रयोगशाला स्थापना गर्न माग गरेका छन् । दूधको गुणस्तरको विषयमा पटकपटक कुरा उठ्ने गरेको भन्दै व्यवसायीले दूधको गुणस्तर कायम राख्न गुणस्तरीय प्रयोगशालाको आवश्यक रहेको बताएका हुन् ।
निर्यात वृद्धि गर्न नीतिगत कमजोरी
नेपालको निर्यात क्षमता विस्तार र यसको सदुपयोग गर्न सरकारको भूमिका नै कमजोर रहेको निर्यात व्यवसायीले औँल्याएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले बुधबार राजधानीमा आयोजना गरेको ‘विदेशी मुद्रा आर्जनमा निर्यात उद्योगको भूमिका’ विषयक संवाद कार्यक्रमका वक्ताहरूले स्वदेशी उत्पादन प्रवद्र्धन र निर्यातका लागि उचित नीति र समसामयिक सक्रियताको अभाव रहेकोे बताउनुभयो ।
नेप्से परिसूचकको गिरावट जारी
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३१.७६ अङ्कले ओरालो लागेर दुई हजार २७५.६८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.९० अङ्कले ओरालो लागेर ४३६.८८ मा ओर्लेको छ ।
इसेवाको अध्यक्षमा परशुराम कुँवर क्षेत्री नियुक्त
नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रा.लि.को अध्यक्ष पदमा परशुराम कुँवर क्षेत्री नियुक्त हुनुभएको छ । कुवँरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
‘लक्ष्यमा दुई अङ्कको वृद्धि’
अर्थमन्त्री जनार्दन शर्माले सरकार र निजी क्षेत्र दुवैको सोच आत्मनिर्भर अर्थतन्त्र निर्माण रहेको बताउनुभएको छ । “हाम्रो सोचमा एकरूपता छ, हामीले सङ्कट र विगतका अनुभवबाट पाठ सिक्दै नेपाललाई आत्मनिर्भर अर्थतन्त्र बनाउनेतर्फको सोच राखेर काम गर्छौं,” नेपाल उद्योग परिसङ्घले आगामी बजेटका लागि दिएको सुझाव ग्रहण गर्दै उहाँले भन्नुभयो ।
इन्टरनेट बन्द नहुने
आगामी हप्तादेखि इन्टरनेट बन्द गर्ने चेतावनी दिएका इन्टरनेट सेवाप्रदायकले इन्टरनेट नरोक्ने भएका छन् । इन्टरनेट ब्यान्डविथ आयातका लागि विदेशी मुद्रा सिफारिस गर्न सरकार सकारात्मक भएपछि इन्टरनेट नरोक्ने निर्णयमा सेवाप्रदायक पुगेका हुन् ।
चुनावले बढायो पेट्रोेलियम पदार्थको माग
स्थानीय निर्वाचनको चहलपहल बढ्न थालेसँगै पेट्रोेलियम पदार्थको माग बढेको छ । पछिल्लो १५ दिनमा करिब १० प्रतिशत माग बढेको नेपाल आयल निगमले जनाएको छ । स्थानीय तहमा चुनावी चहलपहल र राजनीतिक दलका प्रसारप्रसार तीव्र हुँदा डिजेल पेट्रोलको माग बढेको हो । नेपाल आयल निगमका अनुसार हाल पेट्रोल दैनिक दुई हजार किलोलिटर बिक्री वितरण भइरहेको छ भने डिजेल दैनिक पाँच हजार किलोलिटर माग छ । एलपी ग्यास दैनिक एक लाख १० हजार सिलिन्डरको माग छ । यसअघि एलपी ग्यास दैनिक एक लाख सिलिन्डरको माग थियो ।