वासुदेव शर्मा जाजरकोट, वैशाख ९ गते । आज शुक्रबारदेखि शुरु भएको एसईई परीक्षामा यहाँस्थित ७४ माध्यमिक विद्यालयका चार हजार ३०८ जना विद्यार्थीले अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् । विगत दुई वर्ष कोरोना भाइरसको महामारीले सञ्चालन हुन नसकेको एसईई परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा भएको छ । यस परीक्षा वैशाख २० गते सम्म सञ्चालन हुनेछ । दुई हजार २४८ छात्र र दुई हजार ६० छात्रा गरी कुल तीन हजार ४०८ जनाले अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् । त्रिभुवन माध्यामिक विद्यालय खलङ्गा परीक्षा केन्द्रबाट एक सय ४९ जना मध्ये छात्रा ७६, छात्र ६० जना ग्रेटवृद्धि दुई, प्राविधिकतर्फ २३, शिक्षा तर्फ १११ जनाले अङ्ग्रेजी विषयको परीक्षा दिएका हुन् ।परीक्षामा छात्र छ र छात्रा सात जना अनुपस्थित भएका छन् । यस वर्ष सम्बन्धित विद्यालयको प्रधानाध्यापक केन्द्र अध्यक्ष रहने व्यवस्था गरेकाले परीक्षालाई मर्यादिन व्यवस्थित गरी परिक्षा प्रणालीलाई सुधार गर्न सरोकारवालसँगको छलफलबाट आवश्यक जनशक्ति व्यवस्थापन गरेको कार्यालय प्रमुख मल्लले बताउनुभयो । बीस वटा परीक्षा केन्द्रमा अठ्ठाईस सहायक केन्द्राध्यक्ष, दुई सय नौ जना निरीक्षक र ४२ जना परीक्षा सहायकको व्यवस्था गरेका छाैं, समन्वय एकाइ प्रमुख मल्लले भन्नुभयो ।बीस जना विद्यार्थी बराबर एक जना निरीक्षक रहने गरी दुई सय नौ जना निरीक्षक तोकिएको छ । परीक्षालाई मर्यादित, व्यवस्थित, शान्तिपूर्ण, भयरहित वातावरणमा सम्पन्न गर्न परीक्षा अवधिभर बीस जना विद्यार्थी बराबर एक जना निरीक्षक रहने गरी प्रत्येक परीक्षा केन्द्रमा १५ जनाको दरले निरीक्षक रहनेछन् । परीक्षा हलभित्र निरीक्षकले विद्यार्थीलाई चिट चोराउन मद्दत गरेको, चिट ओसारपसार गरेको सूचना प्राप्त भए निरीक्षकलाई निष्कासन गर्ने उहाँको भनाइ छ । होम सेन्टर नहुँदा टाढाको परीक्षा केन्द्रमा जानुपर्ने भएका कारण विद्यार्थीलाई खाना बस्नाको समस्या हुने गरेको छ ।
हरिप्रसाद कोइराला उर्लाबारी,बैशाख ९ गते । संविधान अनुसार राज्य पुनसंरचना भई तीन वटै तहको निर्वाचन भएको ५ वर्ष पुग्नै लाग्दा पनि कतिपय सरकारी, गैर सरकारी, नीजि तथा सामूदायिक संस्थाहरूले अझै आफ्नो संस्थाको बोर्डमा नयाँ ठेगाना राखेका छैनन् । सरकारी कोषबाट सञ्चालन खर्च प्राप्त नहुने संस्था मात्र होइन, वार्षिक करोडौं रुपियाँको आर्थिक कारोवार र लाखौं रुपियाँ सञ्चालन खर्च गर्ने सरकारी र सामूदायिक संस्थाले समेत पुनसंरचनाको खिल्ली उडाएका छन् । मोरङको मिक्लाजुङ गाउँपालिकाको मुख्य प्रवेशद्वारमा नै हालसम्म मधुमल्ला गाविस लेखिएको छ । राज्य पुनर्संरचना पछि तत्कालिन मधुमल्ला गाविसको कार्यालयमा मिक्लाजुङ गाउँपालिका कार्यालय बसिरहेको छ । करोडौंको भवन र पुनर्निर्माण गर्ने रकम पुग्दा बोर्ड फेर्न भने गाउँपालिकाले वास्ता गरेको छैन् । मोरङ कै गोविन्दपुर गाविस कार्यालयमा हाल रतुवामाई नगरपालिकाको वडा नम्बर– ५ को कार्यालय रहेको छ । वडाले वार्षिक ७५ लाखको बिकास बजेट बनाउँछ । तर, प्रमुख गेटमा रतुवामाई नगरपालिका वडा नम्बर– ५ को कार्यालय गोविन्दपुर लेख्ने खर्च वडा कार्यालयलाई पुगेको छैन । गाउँपालिका र वडा कार्यालय मात्र होइन । मोरङको कानेपोखरी–५ ,भौंसावारी स्थित रमाइलो बहुमुखी क्याम्पसको मुल गेटमा नै ठेगाना परिवर्तन गरिएको छैन् । क्याम्पस प्रमुख टीकाराम खरेलले भन्नुभयो– सडक पश्चिम सर्ने भएपछि गेट ढल्ने भयो । त्यसैले किन खर्च गर्ने भनेर नयाँ बोर्ड नराखेको हो । तर, छ वर्ष बितिसक्दा पनि न सडक सर्यो न गेट ढल्यो । मोरङ कै कानेपोखरी –४ हात्तीडुब्बाको सूर्योदय आधारभूत बिद्यालयले पनि बोर्ड फेर्न सकेको छैन । विद्यालयका प्रधानाध्यापक गङ्गाराम अधिकारीले भन्नुभयो– ‘साना तर महत्वपूर्ण काममा ध्यान नपुगेकै हो । अब एक साता भित्र बोर्ड फेरिने छ ।’साविक बाहुनी– ९ को गौथली चौकमा रहेको सिंहदेवी सामूदायिक वन उपभोक्ता समूहले पनि बोर्ड फेर्न सकेको छैन । बाहुनी– ९ हाल बेलबारी नगरपालिका वडा नम्बर– १० मा पर्छ । उता मिक्लाजुङ–३ को कालिदह खानेपानी तथा सरसफाइ आयोजनाले आफ्नो बोर्डबाट टाँडी – ८ हटाएको छैन । मिक्लाजुङ –३ टाँडी लेख्दा फरक पर्दैनथ्यो । तर, कसैको ध्यान पुगेको छैन्। स्थानीय एक उपभोक्ताले भन्नुभयो । मोरङका अधिकांश गाउँ तथा नगरपालिकाका सहकारी, सामूदायिक बन, विद्यालय र नीजि संस्थाले बोर्ड परिवर्तन नगर्दा आगन्तुकहरू भने अल्मलिने गरेका छन् । गुगलमा समेत नयाँ ठाउँका नाम आउन थालेका छन् । तर, स्थानीय संघ,संस्थाहरूले बोर्ड फेर्न भ्याएका छैनन् । जसले गर्दा मोरङ बाहिरबाट आउने जो कोही अल्मलिने गरेका छन् ।
रुकुम पश्चिम, वैशाख ९ गते । रुकुम पश्चिमका राजनितीक दलहरुले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सम्बन्धिका आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । दलहरू चुनावमा निर्वाचन आयोगले बनाएका आचारसंहिता पूर्ण रूपमा पालना गर्न प्रतिबद्ध भएका हुन् । मुसिकोट स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्लास्थित सबै क्रियासिल राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पालना गर्न एकमत भएको बताइएको छ । रुकुम जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले आचारसंहिता पालना गर्ने र गराउन सबै दलहरु प्रतिबद्ध भएको बताउनुभयो । छलफल कार्यक्रममा उहाँले सबै सरोकारावालाले आचारसंहितामा पालना गर्यौँ भने उल्लङ्घन हुने सम्भावना नै रहन्न भन्नुहुँदै राजनीतिक दल र सन्चारमाध्यमले आचारसंहिता पालना गर्नु कर्तव्य भएको बताउनुभयो । कार्यक्रममा आचारसंहितको कानुनी आधार, उद्देश्य, लागू हुने निकाय, राजनीतिक दलदेखि सञ्चारमाध्यम सबैले पालना गर्नुपर्ने आचरसंहिता, निर्वाचन खर्च, मौन अवधि, मतदान तथा मतगणनाका बेला पालना गर्नुपर्ने आचरण, आचारसंहिता अनुगमन तथा त्यसका अन्य व्यवस्था, राजनीतिक दल र उम्मेदवारको भूमिका, निर्वाचनसम्बन्धी कार्यक्रम, मनोनयन दाखिला, उम्मेदवारको धरौटीलगायतका विषयमा छलफल भएको थियो । निर्वाचनको लागि रुकुम पश्चिममा सात दल दर्ता भएका छन् ।
नारद कोहारतौलिहवा, वैशाख ९ गते । कपिलवस्तुमा स्ट्रारिपर (भुसा काटने मेशिन) को प्रयोग बढ्दै गएको छ । विगत वर्षहरुमा कम्बाईन मेसिनले गहुँ र धान चुटेपछि बाँकी रहेका ठुटाहरुलाई खेतमै छाडिने गरिथ्यो । त्यही ठुटाहरुलाई सफा गर्ने नाममा खेतमा आगो लगाउने गरिएको थियो । तर एक वर्ष यता भने स्ट्रारिपर मेसिनले खेतमा बाँकी रहेको गहुँ र धानको ठुटालाई भुस बनाई सङ्कलन गर्ने गरिएको छ । कम्बाईको प्रयोग विगत १० वर्ष यता बढ्दै आएको छ । स्ट्रारिफरको प्रयोग गत वर्षदेखि कपिलवस्तुमा बढेको कृषि ज्ञान केन्द्रका प्रमुख डा. रविन्द्रनाथ चौबेले बताउनुभयो । ‘कम्बाईको प्रयोग कपिलवस्तुमा एक दशक यता बढ्दै आएको छ एक वर्ष यता भने स्ट्रारिपरको प्रयोग कपिलवस्तुमा बढेको छ’ उहाँले भन्नुभयो । उहाँले जिल्लामा दुई सयको हारहारीमा स्ट्रारिपर मेसिन भित्रिएको बताउनुभयो । विगत वर्षहरुमा कम्बाईनले गहुँ र धान काटेपछि बाँकी रहेको आधा ठुटालाई कृषकहरुले खेत सफा गर्ने नाममा आगो लगाउने चलन थियो । तर स्ट्रारिपरको प्रयोग भएपछि जिल्लामा त्यस्तो प्रचलन घटेको छ ।‘खेतमा आगो लगाउँदा मित्र जीवहरु नाश हुने गरेको थियो, माटोको उर्वराशक्ति समेत घटेको थियो’ प्रमुख चौबेले भन्नुभयो ‘स्ट्रारिपरको प्रयोग भएपछि कृषकहरुलाई धेरै फाइदा पुगेको छ ।’ गत चैतदेखि वैशाखको यता खेत खेतमामा स्ट्रारिपरले गहुँको ठुटाहरुलाई काटेर भुस सङ्कलन गर्दै आएका छन् । कपिलवस्तु नगरपालिका – ६ थुम्हवाका कृषक जयप्रकाश कुर्मी आफूले ५ लाख मूल्यमा स्ट्रारिपर मेसिन किनेर चैतको सुरुवातदेखि नै भुस सङ्कलन गर्दै आएको बताउनुभयो । उहाँले अहिले स्ट्रारिपर मेशीनलाई खेतमा भुस सङ्कलन गर्न भ्याई नभ्याई रहेको बताउनुभयो । भुस काटेवापत आफूहरुले खेत धनीहरुलाई एक ट्रालीको डेढ सयदेखि दुई सय रुपियाँ दिने गरेको उहाँले बताउनुभयो । एक ट्राली भुसको तीन हजार देखि तीन हजार पाँच सयमा विक्री गर्ने गरेको कृषक चौधरीले बताउनुभयो । एक ट्राली भुस सङ्कलन गर्दा कम्बाईने काट्न छाडेका ३० देखि ३५ किलोसम्म गहुँका दानासमेत सङ्कलन हुने गरेको उहाँको भनाइ छ । जिल्लामा स्ट्रारिपर भित्रिएपछि कृषकहरुलाई निकै सजिलो भएको कृषक सङ्घका जिल्ला अध्यक्ष चर्तुभुजमणि त्रिपाठीले बताउनुभयो । ‘स्ट्रारिपर मेसिन कृषकहरुका लागि बरदान नै भएको छ ’ उहाँले भन्नुभयो ‘स्ट्रारिपर नहुँदासम्म जिल्लाका अधिकांश कृषकहरुले खेतमा आगाले लगाउने गर्थे तर एक वर्ष यता भने त्यही खेतमा रहेको ठुटा बापतको डेढदेखि दुई सय रुपियाँ रकम पाउने गरेका छन् ।’ उहाँले स्ट्रारिपर मेसिन पर्यावरणमैत्री बनेको बताउनुभयो । स्ट्रारिपर मेसिनले गर्दा पशुपालक कृषकहरुलाई निकै फाइदा पुग्ने भएकाले पशुपालन फस्टाउने उहाँले बताउनुभयो । खेतमा आगो लगाउन छाडिएकाले खेतको उर्वराशक्तिमा यसले टेवा दिने गरेको छ ।
शेरबहादुर राईओखलढुङ्गा, वैशाख ९ गते । बैशाख ३० मा हुने स्थानीयतहको निर्वाचनमा उम्मेदवारी दर्ता गर्नका लागि ओखलढुङ्गाका २० जना शिक्षकले जागिरबाट राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै २० जना शिक्षकले जागिरबाट राजीनामा दिनुभएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नेत्रप्रसाद गजुरेलले बताउनुभयो ।देवी आधारभूत विद्यालय मानेभञ्ज्याङका शिक्षक रामचन्द्र महतो, सरस्वती आधारभूत विद्यालय रावादोलुका रामबहादुर बस्नेत, कालिका आधारभूत विद्यालय आहालेका शिक्षक चन्द्र कटुवाल, जेसे माध्यमिक विद्यालय पात्लेका गुन्जबहादुर सुनुवार, बालज्योति माध्यमिक विद्यालय चित्रेका शिक्षक मधुकरप्रसाद चौधरी, जन्तरखानी माध्यमिक विद्यालय जन्तरखानीका प्रधानाध्यापक मेखबहादुर मगरको राजीनामा स्वीकृत भएको एकाइ प्रमुख गजुरलले जानकारी दिनुभयो । यस्तै हिमगंगा माध्यमिक विद्यालय रावादोलुका शिक्षक डिल्लीराम बस्नेत, तिलक विश्वकर्मा र टोपबहादुर बस्नेत लगायत हर्कपुर माध्यमिक विद्यालय मानेभञ्ज्याङका गोविन्दप्रसाद अधिकारी, कालिका आधारभूत विद्यालय चुहानछापका शिक्षक जयकुमार कार्की, कालिका आधारभूत विद्यालयका भालुथुम्काका शिक्षक युवराज घिमिरेको पनि राजिनामा स्वीकृत भएको छ । सोडान्तर आधारभूत विद्यालय मानेभञ्ज्याङका होमप्रसाद दाहाल, भुमेथान आधारभूत विद्यालयका शिक्षक तोयानाथ काफले, चन्चला आधारभूत विद्यालय खोदम्पाका शिक्षक बालकुमार खड्का र जन्तरखानी मावि जन्तरखानीका शिक्षक शङ्खवीर राईले राजीनामा दिनुभएको शिक्षा विकास तथा समन्वय एकाइ ओखलढुङ्गाले जनाएको छ ।
स्याङ्जाका ७३ मतदान केन्द्र सुरक्षाका दृष्टिले अतिसंवेदनशील केन्द्रको सूचीमा परेका छन् । स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा जिल्लास्थित सुरक्षा समिति स्याङ्जाले जिल्लाका मतदान केन्द्रको वर्गीकरण गरेको हो । अतिसंवेदनशील, संवेदनशील र सामान्य संवेदनशील मतदान केन्द्रका रूपमा जिल्लाका मतदान केन्द्रलाई वर्गीकरण गरिएको छ । जिल्लाका १९९ मतदान केन्द्रमध्ये ७३ मतदान केन्द्र अतिसंवेदनशील सूचीमा परेका छन् । त्यस्तै, ७३ मतदान केन्द्र संवेदनशील र ५३ मतदान केन्द्र सामान्य रहेका छन् ।
कोरोना भाईरस (कोभिड–१९) महामारीले गर्दा भौतिक रुपमा रोकिएको एसईई परीक्षा दुई वर्ष पछि विद्यार्थीहरुको भौतिक उपस्थितिमा सञ्चालन भएको छ । शुक्रबारदेखि देशैभर परीक्षा सुरु भएको छ । शुक्रबार पहिलो दिन सञ्चालन भएको परीक्षाको झलक ।शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयकै मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा विद्यार्थीलाई निश्चित परीक्षा केन्द्रबाट पुरानै तरिकाबाट परीक्षा लिइएको छ । परीक्षामा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ७ सय ६० विद्यार्थी सहभागी हुनेछन् । नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ र ग्रेडवृद्धितर्फ ११ हजार ४ सय ५४ ले परीक्षा दिँदैछन् । तस्विरहरु : सुजन गुरुङ / केशब गुरुङ /मनाेजरत्न शाही
केन्द्रीय तथ्याङ्क विभागले कृषि गणनाका लागि ८६ करोड रुपियाँभन्दा बढी खर्च गर्ने भएको छ । सातवटा प्रदेश तथा ७० वटा जिल्लामा कार्यालय स्थापना गरी राष्ट्रिय कृषि गणना २०७८ सुरु गरेको विभागले त्यसका लागि सात हजार दुई सय कर्मचारी खटाएको छ । विभागले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका निर्देशक डा. महेश सुवेदीले कृषि गणनाकै लागि आव २०७७÷७८ मा पाँच करोड रुपियाँ खर्च भइसकेको, चालू आर्थिक वर्ष ७२ करोड र आगामी आर्थिक वर्ष नौ करोड रुपियाँ खर्च हुने जानकारी दिनुभयो ।
मोरङको तराईका नगरपालिकाका विद्यार्थी एक किलोमिटर धाएर आधारभूत विद्यालयको शिक्षा लिइरहेका छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । देशकै प्रमुख औद्योगिक नगर छ मोरङमा । प्रदेश १ को राजधानी पनि मोरङमै पर्छ । रतुवामाई नगरपालिका–३, को दक्षिण–पूर्वी कुनामा रहेको मिर्चाडाँगी गाउँका बालबालिका कक्षा ३ देखि माथिको अध्ययन गर्न रतुवा नदी पार गरेर एक किलोमिटर पश्चिमको पिढालीसम्म पुग्ने गर्छन् ।
कोरोना महामारीको असर कम भएसँगै अहिले काठमाडौँको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको छ तर आन्तरिक उडान तोकिएको समयमा हुँदैनन् । पाँच घण्टासम्म ढिलो उडान हुने र रद्द हुने क्रम बढेपछि यात्रुले सास्ती बेहोर्नुपरेको छ । पछिल्लो एक सातामा मात्रै ९० वटा उडान रद्द भएका छन् ।
काठमाडौँ, वैशाख ९ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले जिम्बाब्वे ए विरुद्ध खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा जिम्बाब्वेरुद्ध खेल्ने एकदिवसीय र टी-२० क्रिकेट सिरिजका लागि २३ सदस्यीय राष्ट्रिय खेलाडी टोलीको घोषणा गरेको हो । क्यानले यही २३ खेलाडीबाट खेलकै दिन सुरुवाती ११ खेलाडी छनोट गर्ने पनि जनाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजमा नेपालले जिम्बावे ए सँग वैशाख १७, १९ र २१ गते एकदिवसीय तथा वैशाख २३, २४ र २६ गते टी-२० सिरिज खेल्नेछ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा हुने अमेरिका र ओमानसँगको त्रिदेशीय सिरिजको तयारीका लागि जिम्बाब्वे ए सँग सिरिज खेल्न लागेको हो ।नेपालसँगको खेलका लागि जिम्बाब्वेले पनि टोलीको घोषणा गरेको छ । लिग–२ अन्तर्गत सिरिजमा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ । ओमान , यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् । नेपाली टोली : सन्दीप लामिछाने (कप्तान) ,दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, रोहित पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भीम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, विक्रम सोब र सुनिल धमला । जिम्बाब्वे टोली : क्याम्पबेल जोनाथन, इभान्स ब्राडली, ग्वान्डु ट्रेभर, ल्यूक जोङग्वे, काइया इनोसेन्ट, काइया रोय, मडान्डे क्लाइभ, मारुमणी तादिवानाशे, मसारा जोन, मौन्जे कुडजाई, माभुता ब्रेन्डन, मुन्योङगा टोनी, मुतोम्बोड्जी टिनोटेन्डा, न्याउची भिक्टर र त्सिग्वागा तफाडजवा ।
नेपालमा हाल हरेक चोक गल्लीदेखि खुला सडकमा टिकटक बनाउनेको भीड लाग्ने गरेको छ । बालबालिकादेखि युवापुस्ता, वृद्धवृद्धामा टिकटकको मोह बढ्दै गएको छ । हनुमानढोका दरबार संरक्षण क्षेत्रमा त दिनहँु टिकटक बनाउनेको भीड नै लागिरहेको पाइन्छ ।
कास्की समाचारदाता कास्की, वैशाख ९ गते । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीमा जुटेको गण्डकी प्रदेश सरकारले प्रदेशमा क्रियाशील मुख्य राजनीतिक दलका प्रमुख र प्रतिनिधिसँग छलफल गरेको छ । सीमित स्रोतसाधनका बीच पनि नागरिकका अपेक्षा पूरा गर्नुपर्ने अवस्थामा दलहरूको रायअनुसार नै अगाडि बढ्ने उद्देश्यले छलफल थालिएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताउनुभयो ।प्रदेश अर्थ मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री पोखरेलले आगामी बजेटलाई, व्यावहारिक, सन्देशमूलक र लोकप्रिय बनाउने प्रयास भइरहेको बताउनुभयो । सीमित बजेटका बीच नागरिकका आवश्यकतालाई पूरा गर्नेगरी प्रदेश सरकार जान चाहेको भन्दै उहाँले रोजगारी र आम्दानी वृद्धि हुनेगरी बजेट बनाउन थप सुझावको अपेक्षा गरिएको बताउनुभयो । अर्थमन्त्री रामजीप्रसाद बरालले अनिवार्य दायित्व बढ्दो अवस्थामा रहेको चर्चा गर्दै भन्नुभयो, ‘‘बजेटको सीमा त्यही हो, केही नयाँ योजना पनि दिनुपर्ने र चुनावको मुखको बजेट भएकाले बडो समस्याबाट गुज्रिएको छ सरकार ।’’ साधारण खर्च दिनप्रतिदिन बढ्दै गएको भन्दै उहाँले केन्द्रमा रहेका नेताहरुको एकात्मक सोचका कारण स्रोत र अधिकारका लागि सङ्घसँग जुध्नुपर्ने अवस्था आएको बताउनुभयो । ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले विगतमा दिनमा पर्यटनमा गरेको लगानीले कति प्रतिफल दियो भनेर समीक्षा गर्नुपर्ने बताउनुभयो । प्रदेशको समृद्धि कृषि उत्पादनमै निर्भर रहेकाले सबैभन्दा पहिला सिँचाइको प्रबन्ध गरिनुपर्ने सुझाव उहाँले दिनुभयो । उहाँले भन्नुभयो, ‘‘गण्डकीमा तीन लाख ७० हजार हेक्टर जमिनमा खेती हुन्छ । त्यसमा सिँचाइ जम्मा ३६ प्रतिशतमा मात्र पुगेको छ । त्योमध्ये पनि ६१ हजार ८३३ हेक्टरमा मात्रै बाह्रै महिना सिँचाइ उपलब्ध छ, यो दुःखद पक्ष हो ।”नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले विगतका बजेटको समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटनलाई प्राथमिकता तोकिएको छ, अब यसमा पर्याप्त बजेट छुट्याउनुप¥यो । प्रदेश गौरवका योजना ल्याएर मात्र भएन, ती योजनालाई अगाडि बढाउन हामीले गम्भीर भएर लाग्नुपर्नेछ ।” नेपाली काँग्रेस गण्डकीका महामन्त्री विष्णुप्रसाद लामिछानेले किसानले आत्मसम्मान पाउने गरी योजना बनाउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “निजी क्षेत्रलाई आकर्षित गर्ने खालको नीति निर्माण गर्नुपर्छ, विद्युत्को उपभोग बढाउने गरी कार्यक्रम अगाडि सार्नुपर्छ ।” नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले कृषिको अनुदान साना किसानले पाउनै कठिन रहेको बताउनुभयो । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले क्षेत्रगत रूपमा निरन्तर छलफल चलाइरहेको जानकारी गराउनुभयो । सङ्घबाट प्राप्त हुने अनुदान बिस्तारै बढोत्तरी हुँदै जाने, प्रदेशको आम्दानी बढाउने, राजस्व सङ्कलनमा जोड दिएको भएर आगामी आर्थिक वर्षमा प्रदेशको आर्थिक अवस्था सुधार हुँदै जाने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
काठमाडौँ, वैशाख ९ गते । पिएरे इमरिक औवामियाङले निर्णायक गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाले रियल सोसिडाडमाथि कठिन जित निकालेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई उसैको मैदानमा १–० गोलले हरायो । औवामियाङले ११औँ मिनेटमा गरेको गोल बार्सिलोनाको जितमा पर्याप्त बन्यो । बल पोसेसनमा अब्बल देखिएपनि रियल सोसिडाडले गोल फर्काउन सकेन । जितसँगै दोस्रो स्थानमा रहेको बार्सिलोनाले ३२ खेलबाट ६३ अङ्क बनाएको छ । बार्सिलोना शीर्षस्थानमा रहेको रियल म्याड्रिडभन्दा १५ अङ्कले पछाडि छ । एक खेल कम खेलेको रियलको ७८ अङ्क छ । समान ६३ अङ्क बनाएको सेभिया गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ । बार्सिलोनासँग पराजित सोसिडाड ५५ अङ्कसहित छैटौँ स्थानमा छ । बिहीबार राति नै भएको अन्य खेलमा सेभियाले घरेलु टोली लिभान्लातेई ३–२, एथलेटिक बिल्बाओले काडिजलाई ३–२ र रायो भालेकानोले स्पान्योललाई १–० गोलले हरायो । एजेन्सी
मधेस प्रदेशका जिल्लामा स्थानीय तह निर्वाचनका लागि स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यस क्रममा बिहीबार सर्लाहीका २० वटै स्थानीय तहमा एकैसाथ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।